पूजापाठका लागि पूर्वराजा भैरहवामा

बुटवल, १८ असार । सुदूरपश्चिम तथा मध्यपश्चिममा केही समयअघि भ्रमण गरेर आराम गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह पूजापाठका बहानामा फेरि पश्चिम नेपालको चारदिने भ्रमणमा निस्किएका छन् । लुम्बिनीका केही जिल्लाको भ्रमणमा निस्किएका शाह आइतबार रूपन्देही पुगेका छन् ।

बुद्ध एयरको विमानबाट दिउँसो २:३५ बजे भैरहवा विमानस्थलमा उत्रिएका शाहलाई विमानस्थलदेखि उनी बस्ने निर्वाणा होटलसम्म शिव सेनाका कार्यकर्ता, सर्वसाधारण र राजावादी दलका कार्यकर्ताले सुरक्षा र स्वागत गरेका थिए ।
स्वागतमा उत्रिएकाले ‘राजा आऊ, देश बचाऊ’ र ‘०४७ सालको संविधान लागु गर’ भन्ने नारा लगाएका थिए । उनीहरूले दलहरू असफल भएको, संविधानसभा विघटन भएको र राजनीतिक अस्थिरता बढेकाले पूर्वराजाको भूमिका सक्रिय हुनुपर्ने बताएका थिए । एक हजारभन्दा बढी मोटरसाइकलमा आएका युवाहरूको र्‍यालीले पूर्वराजाको जयजयकार गरेका थिए । विमानस्थलदेखि बर्मेली टोलसम्म गाडीमा गएका पूर्वराजाले बर्मेली टोलमा सर्वसाधारणसित कुराकानी गर्नका लागि पैदल यात्रा पनि गरेका थिए । पूर्वराजाको स्वागतका लागि राष्ट्रिय जनशक्ति प्रजातन्त्र पार्टीलगायत दलले झन्डै एक महिनादेखि तयारी
गरेका थिए ।
विभिन्न धार्मिकस्थलको दर्शन गर्ने नाममा आएका शाह रूपन्देही, नवलपरासी र कपिलवस्तुका विभिन्न धार्मिक स्थलमा पुग्ने कार्यक्रम रहेको छ । शाह आफ्ना सहयोगीसहित भैरहवास्थित निर्वाणा होटलमा बसेका छन् । भैरहवा क्षेत्रको सुविधासम्पन्न होटलमा रहेका शाहको भ्रमणको तालिका निजी सचिव सागर तिमिल्सिनाले मिलाएका हुन् ।
यस्तै, स्थानीय स्वागत समितिले विभिन्न स्थानमा स्वागतद्वार बनाएका थिए । भैरहवामा सातवटा स्वागतद्वार र सात सयवटा राष्ट्रिय झन्डा फहराइएका छन् । सोमबार शाह लुम्बिनी हुँदै कपिलवस्तुको कृष्णनगरस्थित कृष्ण मन्दिरमा पूजा गर्न जाने बताइएको छ । मगंलबार बुटवलस्थित गणेश मन्दिर र सोही दिन साँझ मर्चवारस्थित मर्चवारी माईको पूजामा सरिक हुने कार्यक्रम रहेको पूर्वराजाको भ्रमण कार्यक्रमका सहसंयोजक वसन्तविक्रम शाहीले जानकारी दिए । त्यसैगरी, पूर्वराजाले बुधबार नवलपरासीस्थित पाल्ली भगवती देवी र सोही दिनसाँझ भैरहवास्थित अन्नपूर्णटोलस्थित दुर्गा मन्दिरमा पूजामा सरिक हुने बताइएको छ ।
उनी चारै दिन भैरहवास्थित होटलमा बस्ने छन् । यस क्रममा आफूनिकटका नेता, अगुवा कार्यकर्ता र सहयोगीसँग भेटघाट र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने तयारीमा रहेका छन् । यद्यपि, उनका सहयोगीले भने पूर्वराजा विशुद्ध पूजाआजाका लागि भ्रमणमा आएको दाबी गरेका छन् ।
थप सुरक्षा
जिल्ला सुरक्षा समितिले आइतबार अपराह्न पूर्वराजाको सुरक्षार्थ थप सुरक्षाकर्मी परिचालन गरेको छ । समितिको आकस्मिक बैठकले पूर्वराजाको सुरक्षार्थ थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो । शान्तिसुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता अपनाइएको सिडिओ हरिकृष्ण पौडेलले बताए । पूर्वराजा ज्ञानेन्द्र रूपन्देहीलगायत यस क्षेत्रका तीन जिल्लाको भ्रमणमा आउने भएपछि काठमाडौंबाटै सशस्त्र प्रहरीका इन्स्पेक्टरको कमान्डमा १६ जनाको एसटिएफ टोली परिचालन गरिएको थियो ।
अत्याधुनिक हतियारसहित आएका उनीहरूले पूर्वराजाको स्वागतार्थ जम्मा भएका सर्वसाधारणलाई नियन्त्रण गर्न सकेका थिएनन् । काठमाडौंबाट आएको सशस्त्र प्रहरीको टोलीले मात्रै भिड नियन्त्रण गर्नसक्ने अवस्था नआएपछि रूपन्देहीका थप प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया