ठूलो परिमाणमा सुपारी बरामद


कैलाली, १७  असार । कैलालीको खैलाड–४, कुडीबाट सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा गस्तीमा गएको सशस्त्र प्रहरी टोलीले शनिबार बन्द अवस्थामा रहेको तेलको मिलमा लाखौ रकम बराबरको लुकाईछिपाई राखेको उक्त सुपारी बरामद गरेको हो ।
सशस्त्रद्वन्द्वका बेला माओवादीद्वारा बन्द गराईएको तेल मिल र गोदाममा राखिएको दस ट्रक बढी सुपारी बरामद गरेको सीमा सुरक्षा बल कैलालीका सशस्त्र प्रहरी प्रमुख उपरीक्षक मधुकृष्ण गड्तौलाले बताए ।
उनले ठूलो परिणाममा सुपारी बरामद गर्न सकेपनि त्यसमा संलग्न व्यक्ति भने कोही पनि पक्राउ नपरेको जानकारी दिए । सुदूरपश्चिममा अबैध रुपमा यसरी सुपारी पक्राउ परेको पहिलो पटक हो ।
यसअघि पूर्वाञ्चलको नाका हुँदै भारततिर अबैध रुपमा चोरी निकासी हुने सुपारी चेकजाँचमा कडा गरी धमाधम पक्राउ पर्न थालेपछि तस्करहरुले कैलालीको नाका हुँदै चोरी पैठारी गर्न खोजेको सुदूरपश्चिम सशस्त्र प्रहरी प्रमुख डिआईजी कमल बस्नेतले बताए ।
उनले बरामद गरिएको सुपारीका मालिक र अन्य विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाए । बरामद गरिएको सुपारीका एक हजार बढी बोरा रहेका छन् ।
सशस्त्र प्रहरीले बरामद गरेको उक्त सुपारी आवश्यक कारवाहीका लागि धनगढीस्थित त्रिनगर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया