इटाली र स्पेनबीच आज फाइनल

युक्रेन, १७ असार । समूहचरणको आ–आफ्नो पहिलो खेलमा आपसमा १–१ गोलको बराबरीमा रमाएको तीन सातापछि इटाली र स्पेन आइतबार राति युरोकप–२०१२ को उपाधिका लागि भिड्दै छन् । समूह ‘सी’ मै रहेर आफ्नो पहिलो खेल आपसमा खेलेर उपाधि जित्ने अभियान थालेका यी दुई टोलीले अन्तिम खेलमा भने एकअर्कालाई उछिनेर उपाधि जित्न प्रयास गर्नेछन् ।
यस प्रतियोगिताको पूर्वसन्ध्यामा यी दुई टोलीबारे फरक अनुमान थियो– एउटा उपाधि जित्ने र अर्को समूहचरण पार गर्न पनि धौ–धौ हुने । अनुमानबमोजिम स्पेन फाइलनमा पुग्यो । यता घरेलु फुटबल म्याच फिक्सिङ प्रकरणमा फसिरहेका बेला सहभागी भएको इटालीले भने आश्चर्यजनक नतिजा निकाल्यो र इंगल्यान्ड र जर्मनीजस्ता ठूला टोलीलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गर्‍यो । यस पृष्ठभूमिमा अर्को अनुमानलाई सत्यता दिंदै स्पेन युुरोपियन फुटबलमा नयाँ इतिहास कोर्ने प्रयासमा छ । हालसम्म कुनै पनि टोलीले यस प्रतियोगिताको उपाधि रक्षा गर्न सकेका छैनन् । यति मात्र होइन, लगातार गरेर महादेशीय र विश्वकप गरी तीन प्रतियोगिता जित्ने टोली पनि अहिलेसम्म देखिएका छैनन् । सन् २००८ मा युरोकपको पछिल्लो संस्करण जितेको स्पेन त्यसको दुई वर्षपछि विश्वविजेता भएर इतिहास कोर्ने बाटोमा देखिएको हो ।
पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका प्रशिक्षक भिसेन्ट डेल बोस्क्युले नै स्पेनलाई पछिल्ला यी दुई उपाधि दिलाएका थिए । ती प्रतियोगितामा रहेका कप्तान कार्लेस पुयोल र फरवार्ड डेभिड भिल्ला चोटका कारण यस प्रतियोगितामा नरहे पनि स्पेनको यो सफलतामा प्राय: एउटै टोली छ र यो टोली अर्को एउटा उपलब्धि हासिल गरेर विश्व फुटबलमै एउटा ‘आदर्श टोली’ बन्ने धुनमा छ ।
खासगरी ‘एटयाकिङ र पेस’ मानिने आधुनिक फुटबलमा स्पेनले भने आकर्षक ‘सट पास’ खेल्दै नयाँ धार समातेर फाइनल यात्रा तय गरेको छ । यसक्रममा स्पेनले अधिकांश खेलमा विपक्षीभन्दा धेरै समय बल नियन्त्रणमा राख्यो । यद्यपि, दर्शकलाई उत्तेजित बनाउने ‘एटयाकिङ’ खेल नखेलेर स्पेनले जित्नका लागि दर्शकलाई बेवास्ता गरेको भनी आरोप खेपिरहेको छ ।
हुन पनि स्पेनले फर्नान्डो टोरेसलगायतका स्ट्राइकरलाई प्राय: खेलमा बेन्चमा राखेर पाँच मिडफिल्डरमार्फत टोलीको आक्रमण देखाउने गरेको छ । जेरार्ड पिक र सर्जियो रामोसले बलियो गरी सम्हालेको रक्षापंक्तिले अनुभवी गोलकिपर इकेर कासिलासलाई खासै कसरत गर्नुपर्ने ठाउँ नदिए पनि प्राय: खेलमा विपक्षी गोलकिपरलाई पनि स्पेनले धेरै संघर्ष गर्नुपर्ने स्थितिमा पुर्‍याएको छैन । मिडफिल्डरहरू आन्द्रेस इनियस्टा, जाबी हर्नान्डेजदेखि सर्जियो बास्क्वेट पासिङ स्किलमा जमे पनि टोलीको आक्रमणलाई बलियोसँग सम्हाल्न भने सकेका छैनन् ।
यता इटालीले भने स्पेनको भन्दा विपरीत आकर्षक लङपास, काउन्टर एटयाक र पेसपूर्ण आक्रमणमा खेल्ने गरेको छ । खासगरी मिहिनेती र ‘युनाइटेड’ को छवि बनाएको इटालीको गोलकिपरदेखि डिफेन्डर हुँदै मिडफिल्डरसम्म बलियो मानिएको छ । जर्मनीविरुद्ध विपक्षी आक्रमणलाई पटक–पटक विफल बनाएका इटालीका डिफेन्डर र गोलकिपर गियानलुइगी बुफोन मात्र होइन, मध्यपंक्ति एक्लैले जसरी सम्हालेका आन्द्रे पिर्लो र पछिल्लो समय निकै राम्रो लयमा देखिएका र ‘क्लिन फिनिसर’ का रूपमा स्थापित फरवार्ड मारियो ब्यालोटेली आदि सबै स्पेनका लागि बलियो चुनौती हुने पक्का छ । जर्मनीविरुद्ध सेमिफाइनलमा दुई गोल गरी ब्यालोटेलीले आफूलाई ‘प्लेयर अफ बिग गेम एन्ड टुर्नामेन्ट’ को रूपमा प्रस्तुत गरिसकेका छन् । आयरल्यान्डविरुद्ध पनि एक गोल गरेका उनी प्रतियोगितामा कायम रहेका खेलाडीमध्ये सर्वाधिक गोलकर्ता हुन् ।
वास्तवमा इटाली र स्पेनबीच आइतबार हुने भिडन्त निकै सस्पेन्सले भरिएको छ । इतिहासलाई हेर्ने हो भने इटाली स्पेनमाथि सधंै हाबी हुने गरेको छ । हालसम्म यी दुईबीच ३० पटक भएका भिडन्तमा स्पेनले आठपटक जित हात पारेको छ भने १० पटक हार व्यहोरेको छ । तर आठमध्ये सात जित भने मैत्रीपूर्ण खेलमा सम्भव भएका थिए । बाँकी एक जित भने स्पेनले सन् १९२० को ओलम्पिकमा हात पारेको थियो । फुटबलमा टाइब्रेकरमा समाप्त भएका खेललाई बराबरीमै गणना गर्ने गरिन्छ । त्यसैले सन् २००८ को युरोकपमा क्वार्टरफाइनलमा इटालीविरुद्ध टाइब्रेकरमा प्राप्त जित पनि बराबरीमै गणना हुन्छ– यो तथ्यांकमा । विभिन्न प्रतियोगितामा गरी इटाली र स्पेनबीच हालसम्म ११ पटक भिडन्त भएको छ । यसमा स्पेन एकपटक मात्र विजयी भएको छ, पाँचपटक बराबरीको नतिजा आएको छ भने पाँचपटक उसले हार व्यहोरेको छ । युरोकप तथा विश्वकपमा भने यी दुई टोलीबीच सातपटक भिडन्त भएको छ जसमा चारपटक बराबरी र बाँकी तीनमा इटाली विजयी भएको थियो ।
पहिलोपटक युरोकपमा स्पेन र इटालीबीच सन् १९८० मा भेट भएको थियो जसमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । सोही प्रतियोगिताबाट सन्न्यास लिएका अहिलेका स्पेनका प्रशिक्षक बोस्क्युले १८ पटक अन्तर्राष्ट्रिय फुटबल म्याचमा सहभागी हुने क्रममा इटालीविरुद्ध भने खेलेनन् । प्रतियोगिताका रूपमा अन्तिमपटक इटालीले स्पेनलाई सन् १९९४ को विश्वकपमा पराजित गरेको थियो । उक्त प्रतियोगितामा क्वार्टरफाइनलमा भिडेका यी दुई टोलीबीच इटालीले ८८औं मिनेटमा रोबर्टो बाजियोले गरेको गोलमा २–१ ले बाजी मारेको थियो ।
तर पनि अहिलेको स्थितिमा स्पेन र इटालीबीचको यो ऐतिहासिक तथ्यांकको प्रभाव कमै होला किनभने इटाली र स्पेन दुवै टोली ‘अनप्रेडिक्टेबल’ भइसकेका छन् । त्यसैले १२ वर्षपछि फाइनल पुग्ने क्रममा ६८ वर्षपछि च्याम्पियन बन्ने प्रयासमा रहेको इटाली र पछिल्लो समय फरक शैलीमा फुटबलमा राज गरिरहेको स्पेनबीचको खेलको नतिजा पनि अनप्रेडिक्टेबल नै मानिन्छ– गणितीय इतिहासले जे भने पनि । आफूलाई कहिले नहराएको र यस प्रतियोगितामा उपाधि जित्ने टोलीका रूपमा हेरिएको जर्मनीविरुद्ध इटालीले प्राप्त जित र सन् २००६ मा घरेलु फुटबल म्याच फिक्सिङमा फसिरहेका बेला इटाली विश्व च्याम्पियन बनेको सन्दर्भ यतिबेला पनि उत्तिकै सान्दर्भिक देखिएको छ ।

“ब्याड ब्वाय”  छवि फेर्ने अवसर

इटालीका स्ट्राइकर मारियो ब्यालोटेलीसँग तीनपटक सेरी ‘ए’ (इन्टर मिलान), एकपटक युरोपियन च्याम्पियन्स लिग (इन्टर मिलान) र एकपटक इंगलिस प्रिमियर लिग (म्यानचेस्टर सिटी) जितेको अनुभव छ । यद्यपि उनी जारी युरोकप अघिसम्म प्राय: ‘ब्याड ब्वाय’ का रूपमा चर्चित थिए ।
आक्रामक स्वभाव र रिसाहा प्रवृत्तिका कारण उनी प्रतिभावान खेलाडी हुनुका बाबजुद कम मन पराइने खेलाडीमा रहेका थिए । ब्यालोटेली यतिबेला धेरै फुटबलप्रेमीको मनमनैमा पुगिसकेका छन् तर खराब व्यवहारका कारण होइन, आफ्नो प्रदर्शनका कारण । इटालीलाई युरोकप–२०१२ को फाइनलमा पुर्‍याउन उनी टोलीको अभिन्न अंग बने । यतिबेला उनले आफ्नो स्वभावलाई नियन्त्रण गर्दै प्रदर्शनमा जोड दिएका छन् । यसैक्रममा सेमिफाइनलमा जर्मनीविरुद्ध प्राप्त २–१ को जितमा दुवै गोल उनै ब्यालोटेलीले नै गरेका थिए । २१ वर्षीय यी खेलाडीको यो उपलब्धि खेल करियरकै टर्निङ प्वाइन्टका रूपमा हेरिएको छ जसलाई फुटबलकै नम्बर–१ ‘वाइल्ड चाइल्ड’ बाट उनी युरोपकै सर्वोत्कृष्ट खेलाडीका रूपमा हेर्न थालिएको छ ।
म्यानचेस्टर सिटीमा गत सिजन इन्टर मिलानबाट आएयता ब्यालोटेलीबारे सञ्चारमाध्यममा छाएका अधिकांश समाचार उनीबारे नकारात्मक नै थिए । गत सिजन उनले आठ खेल गुमाए भने दुईपटक रातो कार्ड पाए । सहकर्मी खेलाडीविरुद्ध मैदानभित्र र बाहिर उनले गरेको दुव्र्यवहारका कारण उनी ब्याड ब्वायकै रूपमा चर्चित थिए । म्यान सिटी प्रशिक्षक रोबर्टो म्यानसिनी उनलाई क्लबबाटै निकालिदिने अवस्थामा पुगेका थिए तर क्विन्सपार्क रेन्जर्सविरुद्धको अन्तिम लिग खेलमा आकर्षक प्रदर्शन गरेपछि ब्यालोटेलीको भाग्य चम्कियो । उनलाई टिमबाहिर राख्ने मनस्थितिमा देखिएका इटालीका प्रशिक्षक सिजर प्रान्डेलीले उनलाई बन्द प्रशिक्षणमा बोलाए र अन्तत: युरोटोलीमा पर्दै उनी इटालीको भाग्य पनि बने । रंगभेदको पृष्ठभूमिमा ब्यालोटेलीले गरिरहेको प्रदर्शन उत्तिकै ‘इमोसनल’ देखिएको छ । त्यसैले प्रशिक्षक प्रान्डेली ब्यालोटेलीलाई थप अर्को अवसर दिंदै आइतबार हुने स्पेनविरुद्धको युरोकप फाइनलमा पनि उतार्ने योजनामा छन् । प्रान्डेली भन्न थालेका छन्, ‘मसँग ब्यालोटेलीबारे अहिले कुनै समस्या छैन । वास्तवमै उसले आफूलाई लगभग परिवर्तन गरिसकेको छ ।’

प्रतिक्रिया