पानी माग्दा झ्वाइँखट्टे

लाङटाङ राष्ट्रिय निकुञ्जका गेम स्काउट, स्याफ्रुबेँसीका स्थानीय बासिन्दा र तीनजना पत्रकार गरी ६ जनाको टिम । करिब चार हजार मिटर उचाइमा रहेको रसुवाको लौरीबिनापासको गेस्टहाउसबाट बिहान सवा आठ बजे रेडपान्डा पाइने जंगलतिर तेर्सियौँ । रातभर हिउँ परेकाले गोरेटो बाटोको नामोनिसान थिएन । अघिल्लो दिन गोसाइँकुण्ड पुगेर फर्केका मध्ये मिस नेपाल–२०११, मलिना जोशीसहित बाँकी आठजना ट्ेरकिङ रुटबाटै ओरालो लागे । वैशाख पहिलो साता गोसााइँकुण्ड ट्रिपको चौथो दिन थियो । आएकै बाटो फर्किने र दुई घन्टामै बास बस्ने ठाउँ ठूलो स्याफ्रु पुगिने हुँदा समय बचेकाले हामी एकाबिहानै रेडपान्डा ह्याबिटाटतिर लाग्यौँ । देख्दा वारिपारि देखिने भए पनि सेताम्य र चिप्लो हिउँ काटेर निगालोको जंगल पुग्न डेढ घन्टा लाग्यो । जंगल त पुगियो तर रातभर परेको हिउँले मुस्किलले भेटिएको बाटो पनि हरायो । हिउँले सबै सम्मै देखिँदा भुइँ त होला भनेर टेकेको ठाउँमा खाल्डो र खोँच परेर खुट्टा पूरै भासिन्थ्यो ।
एक–दुईपटक गस्ती गएको भए पनि निकुञ्जका गेम स्काउट हिउँले जताततै सेताम्य पारेको निगालोघारीमा आफैँ अल्मलिए । झन्डै ९० डिग्रीको ठाडो भिरालो सतह भएको जंगलमा एक हातले निगालो वा अरू रूख नसमाती उभिन सकिन्नथ्यो । धेरैजसो ठाउँमा हातखुट्टा टेकेर हिँड्नुपथ्र्यो । बाटो नहुँदा जसलाई जताबाट सजिलो लाग्छ त्यतैबाट जंगल छिरेकाले ६ जना एकैठाउँ जम्मा हुन अर्को १५ मिनेट लाग्यो । जसरी पुगे पनि हाम्रो एउटै उद्देश्य हाब्रे (रेडपान्डा) देख्नु रहेकाले आवाज ननिकाली निगालोघारी छिचोल्दै रूखको फेददेखि टुप्पासम्म नियाल्न थाल्यौँ । अरू पशुपक्षीसँगै रेडपान्डाबारे समाचार लेख्दै आएको भए पनि तस्बिरबाहेक प्रत्यक्ष देख्ने अवसर अहिलेसम्म मिलेको थिएन । रेडपान्डाले विनाआवाज आफूहरूबीच सूचना आदानप्रदान गर्ने र निकै शान्त एवं लजालु स्वभावका भएकाले सजिलै देख्छु भनेर नचिताए पनि हुन्थ्यो । हरेक रूख नियाल्दै जाँदा रेडपान्डाको दिसा भेटियो ।
कलिला निगालोका मुना खान रुचाउने रेडपान्डा निगालोघारीमा कसो नदेखिएला भन्दै हामी पूरै दुई घन्टा अनुसन्धानकर्ता र शोधकर्ताझैँ निगालोघारी चहार्‍र्यौं ।
जताततै दिसा भेटियो तर रेडपान्डा देखिएन । ठाडो जंगल, पहरो, बाटो आफैँ बनाउनपर्ने र हिउँ भएकाले रेडपान्डा खोज्ने धुनमा पूरै ६ जना एकैठाउँ विरलै भइन्थ्यो । त्यसैले आफू कहाँ छु भनेर अर्कोलाई जानकारी दिन चिच्याउने र सिठ्ठी फुक्ने गर्दा हल्ला भएर होला लाङटाङको मुख्य रेडपान्डा ह्याबिटाटमा पुगेर पनि मध्याह्न हुँदासम्म एउटै रेडपान्डाा देख्न सकिएन । भुइँ र रूखपातमा हिउँ भए पनि यता र उता भौँतारिएकाले शरीरका कपडा पसिनाले निथु्रक्क भइसकेका थिए । बिहान साढे सात बजे खाएको तिबेतियन रोटी र डबल अण्डाको ब्याक अप पनि सकियो । अब कतै बसेर झोलामा बोकेको चाउचाउ र बिस्कुट खाने सल्लाह भयो । २० मिनेट ठाडै ओरालो घुसेरी खेल्दै झरेर ६ जना एकै ठाउँ जम्मा भयौँ । अप्ठ्यारोमा लड्दै–पड्दै झर्दा एक स्थानीयको क्यामेरा फुटेछ, मैले ल्याएको रेडिमेट लठ्ठीको आधा भाग फुस्केर जंगलमै झरेछ । चाउचाउ बिस्कुट खाइसकेपछि ओरालो लाग्यौँ । पाँच मिनेट नहिँड्दै गोरेटो भेटियो । बाटो भेटियो भनेर खुसी भा’को त्यो त जहाँबाट बिहान आ’को हो त्यै लौरीबिनापास पुग्ने रै’छ ।
हामी पहाडको माथिल्लो जंगलमै थियौँ तर पुग्नुपर्ने ठूलो स्याफ्रु भने पूरै जंगल छिचोलेर पहाडको फेँदीसँगै थियो । जंगलै जंगल पहाडको टुप्पोदेखि फोदीसम्म कसले बाटो बनाइदिनु र । तल्लो भेगको जानकारी नभएको गेम स्काउट, पहिलोपटक जंगल छिरेका स्थानीय र हामी पत्रकार पनि त्यहाँका लागि नयाँ । सबै उस्तै । आँखा चिम्म गरेर ठाडै ओरालो लाग्नुको विकल्प थिएन । ४०२६ मिटर उचाइदेखि झरेर २३९० मिटरमा पुग्नु थियो । १२ बजेदेखि ओरालो लागेको सवा चार बजे ठूलो स्याफ्रु पुगियो । ‘मैले त चिसो पानी पो मागेको त दिदी,’ मैले भनेँ । साहुनीले भनिन्, ‘दिउँसोभर हिँडेको भोलि पाइलो सार्न नसकिएला नि । चिसो पानीले बिरामी परिन्छ, त्यसैले झ्वाइँखट्टे दिएको खानुस् ।’ ‘हो है’ भनेर मैले पनि ‘पानी माग्दा झ्वाइँखट्टे †’ भन्दै उठाएँ कप ।

प्रतिक्रिया