विद्यार्थी आन्दोलनका दसीप्रमाण खरानी

काठमाडौं, १७ असार । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन कार्यालयमा आगजनी हुँदा त्यहाँ रहेका सबै सामग्री जलेर ध्वस्त भएका छन् । विद्यार्थी आन्दोलनको इतिहास बोकेको विश्वविद्यालय क्याम्पसको स्ववियु कार्यालयमा अज्ञात समूहले शुक्रबार राति आगजनी गर्दा इतिहासका दसीप्रमाण नै खरानी हुन पुगेका हुन् ।
स्ववियुका पदाधिकारीले शनिबार आगजनीबाट स्ववियु भवन, महत्त्वपूर्ण कागजात र कार्यालय प्रयोजनका सम्पूर्ण सामग्री नष्ट भएको जानकारी दिएका छन् । आगजनीबाट भवनको भित्ता चर्किएको छ भने जस्ताको छानासमेत पग्लिएको छ । चारवटा दमकलले आगो निभाइएपछि अन्य भवनमा भने फैलन पाएन । भवनबाट शनिबार दिउँसोसम्म पनि धुवाँ आइरहेको थियो ।
विद्यार्थी नेताहरू विद्यार्थी आन्दोलनका प्रमाण नष्ट हुँदा चिन्तित बनेका छन् । नेपाल विद्यार्थी संघका नेता तथा स्ववियुका पूर्वसभापति भीम श्रीस शनिबार बिहान आगलागी भएको ठाउँ हेर्दै टोलाइरहेका थिए । ‘०३६ सालदेखि सबैको साझा संस्थाका रूपमा रहेको स्ववियुको इतिहासका प्रमाण मेटिए, साहै्र दु:खको कुरा हो,’ पूर्वसभापति श्रीसले भने ।
स्नातकोत्तर तहको अर्थशास्त्र विषयको प्रथम वर्षको नतिजा प्रकाशनपछि उत्पन्न विवादको आडमा राति आगो लगाइएको दाबी विद्यार्थी नेताहरूले गरेका छन् । अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष तथा स्ववियु सभापति हिमाल शर्माले अर्थशास्त्र विषयको परीक्षाको विवादको आवरणमा अरूले आपराधिक क्रियाकलाप गरेको बताए ।
यसबारे प्रहरीमा आइतबार किटानी जाहेरी दिइने सभापति शर्माले जानकारी दिए । स्ववियुले आइतबार उच्चस्तरीय आयोग गठन गरेर छानबिनका लागि दबाब दिन उपकुलपतिसमक्ष माग गर्ने तथा बृहत् सभा गर्ने तयारीसमेत गरेको जनाएको छ ।
उनले बलिदानीपूर्ण इतिहास बोकेको स्ववियुले केन्द्रीय तहबाटै त्रिविका शैक्षिक, प्रशासनिक सुधारका निम्ति निरन्तर संघर्ष गर्दै आइरहेको सन्दर्भमा रातको अन्धकारमा स्ववियुमाथि प्रहार गर्नु कायरतापूर्ण र आपराधिक कार्य भएको बताए । ‘०६८ असारमा लिइएको ‘माइक्रो इकोनोमिक्स’ विषयको परीक्षाबाट उत्पन्न समस्याका कारण विद्यार्थी मारमा परेका थिए,’ उनले भने, ‘त्यसपछि त्रुटिरहित परीक्षा एवं शैक्षिक क्यालेन्डर कार्यान्वयनको निरन्तरताको पहल गर्दै आइरहँदा विद्यार्थीको आवरणमा अराजक र आपराधिक समूहबाट स्ववियुमा भएको आगजनी सम्पूर्ण विद्यार्थीको भरोसाको केन्द्रमाथिको आक्रमण हो ।’
उनले आगो लगाउने १२ जनामध्ये केहीको पहिचान खुलेको उल्लेख गर्दै दोषीहरू उम्कन नपाउने दाबीसमेत गरे । ‘ट्याक्सीमा पेट्रोल लिएर १२ जना आएको जानकारी भएको छ, ती अपराधीलाई तत्काल पहिचान गरेर कारबाही गर्छौं,’ उनले भने ।
प्रहरीले आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरेको छ । एक करोड २० लाख रुपियाँबराबर क्षति भएको अनुमान प्रहरीले गरेको जानकारी उनले गराए । उनले त्रिविलाई ध्वस्त बनाएर निजीलाई उकास्ने शैक्षिक माफियाको समेत संलग्नता हुन सक्ने आशंका गरे ।
गत वर्ष अर्थशास्त्रतर्फ ‘माइक्रो इकोनोमिक्स’ विषयको परीक्षामा दुई केन्द्रका विद्यार्थीले प्रश्न पाठ्यक्रमभन्दा बाहिरबाट आएको भन्दै उत्तरपुस्तिका च्यातेका थिए । सरस्वती बहुमुखी र बुटवल बहुमुखी क्याम्पस केन्द्रका उत्तरपुस्तिका च्यातेका विद्यार्थीले पुन: परीक्षा माग गरेका थिए । परीक्षा नियन्त्रण कार्यालयले भने पुन: परीक्षा नलिई हालै नतिजा सार्वजनिकसमेत गरेको छ । नतिजामा दुवै क्याम्पसका विद्यार्थी अनुत्तीर्ण छन् ।
प्रश्नपत्रको मोडरेसन गरेका तत्कालीन अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख रुद्र उपाध्यायलाई परीक्षा नियन्त्रण कार्यालयले कारबाही गरेको थियो । मोडरेसन गर्दा सबै ठीक भएको भन्दै हस्ताक्षर गरेका उपाध्यायले परीक्षापछि ४० नम्बरको प्रश्न बाहिरबाट आएको पत्र लेखेपछि दोहोरो चरित्र देखाएको भन्दै पनिकाले उनलाई कारबाही गरेको थियो ।
उपाध्याय कारबाहीमा परेपछि नयाँ विभागीय प्रमुख नियुक्त हुन नसक्दा अर्थशास्त्र केन्द्रीय विभाग अस्तव्यस्त बनेको थियो । यिनै कारणले पनिकाले परीक्षा दिएको ११ महिनापछि शुक्रबार मात्र नतिजा प्रकाशन गरेको थियो ।
त्रिविका रजिस्ट्रार डा. चन्द्रमणि पौडेलले परीक्षाको विषयमा त्रिवि दोषी नरहेको दाबी गरे । ‘जाँच दिएकाको रिजल्ट भयो नदिएकाको भएन, त्यसमा हाम्रो कुनै गल्ती छैन,’ रजिस्ट्रार डा. पौडेलले भने ।

प्रतिक्रिया