मिलेर जान चीनको सुझाव

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक गतिरोध अन्त्यका लागि आफू अत्यन्तै जिम्मेवार ढंगले अग्रसरता लिइरहेको बताएका छन् ।
‘सहमति, सहकार्य र एकताको मान्यताका आधारमा मुलुकलाई अगाडि बढाउनुको विकल्प छैन,’ उनले भने, ‘निकासका लागि कांग्रेसले संवाद प्रक्रिया थालिसकेको छ ।’
आफ्नै निवास माहाराजगञ्ज भेटगर्न आज पुगेको चिनियाँ उप–मन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य आइ पिङ सहितको प्रतिनिधिमण्डलसंग कुरा गर्दै कोइरालाले देशको संबैधानिक र राजनीतिक संकट समाधानका लागि आफ्नो प्रतिबद्धता कायमै रहेको जनाए ।
एमाओवादी नेतृत्वको सरकारले एकलौटी रुपमा संविधानसभा भंग गरी निर्वाचनको घोषणा गराउदाँ आफूहरु आश्चर्यचकित भएको कोइरालाले उल्लेख गरेका छन् ।
मुलुकमा उत्पन्न जटिल परिस्थितिलाई अनुकल बनाउदै लैजानुको बिकल्प नरहेको भन्दै उनले कांग्रेसले एमाओवादीलगायतका दलहरुसंग संवाद थालेको उल्लेख गरेको कोइरालाका प्रेस सल्लाहाकार विपुल पोखरेलले जानकारी दिए ।
भेटका अबसरमा चिनियाँ प्रतिनिधिमण्डलले नेपालको वर्तमान राजनीतिक संकट, शान्ति प्रक्रिया, संविधान निर्माणमा पार्टीहरुबीच विद्यमान प्रमुख असहमति र आगामी निकासका बारेमा चासो राखेको थियो ।
चिनियाँ उप–मन्त्री पङिले चीनले नेपालमा शान्ति स्थायित्व र विकास चाहेको जानकारी दिदै सबै दलहरुको सहमतिमा समस्याको समाधान गर्नुपर्ने चिनियाँ धारणा रहेको बताए ।
उनले नेपालका दलहरु राष्ट्रिय सहमति निर्माण गर्न सफल हुने बिश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया