जर्मन सपना तोड्दै इटाली फाइनलमा

वार्सा, १६ असार । म्यानचेस्टर सिटीका विवादास्पद स्ट्राइकर मारियो ब्यालोटेलीले दुई उत्कृष्ट गोल गरेपछि इटाली युरोकप ०१२ को फाइनलमा प्रवेश गरेको छ । जर्मन प्रशिक्षक जोचिम लोउलाई ठूलो धक्का हुने गरी ती दुवै गोल ब्यालोटेलीले पहिलो हाफमै गरेका थिए । उपाधिको लक्ष्यसहित प्रतियोगितामा सहभागी युरोकप ०१२ कै सबैभन्दा कम उमेरका खेलाडीको टोली जर्मनीविरुद्ध ब्यालोटेलीले २०औँ र ३६औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको अन्तिम समयतिर मेसुट ओजिलले पेनाल्टी गोल गरेपछि त्यो गोल जर्मनीका लागि सान्त्वना मात्र साबित भयो । हारसँगै जर्मनीको १६ वर्ष लामो उपाधिविहीन यात्रा अझ लम्बिएको छ । जर्मनीले अन्तिमपटक १९९६ को युरोकप उपाधि जितेको थियो ।
उपाधिका लागि इटालीले आइतबार युक्रेनको राजधानी किभमा स्पेनको सामना गर्ने छ । चारपटकको विश्वकप विजेता इटालीले सन् १९६८ यता युरोकप भने जित्न सकेको छैन । सन् २००० मा फाइनल पुगेको इटाली अग्रतालाई २० सेकेन्ड टिकाउन नसक्दा फ्रान्ससँग २–१ ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । इंग्ल्यान्डसँगको क्वार्टरफाइनलमा सनसनी फैलाएका आन्द्रेइ पिर्लोले जर्मनीसँग पनि उत्तिकै राम्रो खेले । ३३ वर्षीय युभेन्ट््सका मिडफिल्डर पिर्लो नै खेलका म्यान अफ द म्याचसमेत भए । ‘हामीले चाहेजस्तै खेल्यौँ,’ इटालीका प्रशिक्षक सिजर पाल्ड्रिनीले भने । उनले फाइनलको प्रतिद्वन्द्वी स्पेन राम्रो टोली भए पनि आफ्नो टोली पनि बलियो हँुदै आएको बताए । वार्सामा भएको खेलमा जित हात पार्दै इटाली विश्वकप र युरोकपमा जर्मनीसँग भएको आठौं पटकको भेटमै अपराजित रहन सफल भएको छ ।
पराजयले निराश जर्मनीका कप्तान फिलिप ल्हामले आफ्नो टोलीले अनावश्यक गल्ती गरेको बताए । ‘इटालीजस्तो टोलीसँग पछि परे फर्कन गाह्रै हुन्छ,’ ल्हामले भने । ग्रीससँगको खेलमा चार महत्त्वपूर्ण फरवार्डमध्ये तीनलाई आराम दिएका जोचिम लोउले इटालीसँगको खेलमा पनि केही फरक नीति अपनएका थिए । इटालीसँगको खेलमा भने लोउको यो नीति काम लागेन । आर्सनलमा अनुबन्ध भएका लुकास पोडोल्स्की दोस्रो हाफमा मैदानबाट बाहिरिए भने मारियो गोमेज पनि भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोसलाई प्रतिस्थापन गर्दै दोस्रो हाफमा मात्र मैदानमा प्रवेश गरे । टोनी क्रोउसले दायाँ विंगबाट खेल्दै इटालीयन रक्षकलाई केही समय दु:ख दिए । सुरुमा जर्मनीले केही राम्रो मौका पायो भने रिकार्डो मोन्टालिभोले पहिलोपटक जर्मन गोलरक्षक म्यानुएल नोयेरको परीक्षण गरे । २०औँ मिनेटमा इटालीले पहिलो अग्रता लियो । एन्टेनियो कासानोले दुई जर्मन रक्षकलाई कटाउँदै गरेको क्रसमा ब्यालोटेलीले आफूलाई मार्क गरिरहेका ब्याड स्डबरलाई पार गर्दै सानदार हेड गरे । युरो २००८ पछि जर्मनी क्षेत्रीय खेलमा पछि परेको यो नै पहिलोपटक थियो । यसबीचमा जर्मनीले छनोट चरणमा १० जित हात पारेको थियो जसमध्ये यसै प्रतियोगितामा लगातार चार खेल जितेको थियो ।
इटालीले दोस्रो गोल गर्नुअघि मेसुट ओजील र गोमेजले मौका पाए पनि इटालीका गोलरक्षक गियानलुइगी बुफोनले त्यसलाई बचाए । ३६आँै मिनेटमा मोन्टेलिभोले दुई जर्मन रक्षकलाई कटाउँदै ब्यालोटेलीलाई राम्रो पास दिए । उनले कुनै गल्ती नगरी गोल गरे । ३० मिनेट बाँकी रहँदा पोडोल्स्कीको स्थानमा आएका रुयसले राम्रो फ्रिकिक प्रहार गरे पनि यसलाई बुफोनले बचाए । ९२आँै मिनेटमा फडरिको बालटाराजीको ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा ओजिलले गोल गरे तर यो धेरै ढिला भइसकेको थियो ।
अनुशासनहीन र चञ्चले व्यवहारका कारण चर्चामा आइरहने ब्यालोटेली जर्मनीसँगको खेलमा पनि त्यसै रूपमा देखिए तर उनको दुई गोलका कारण त्यो हर्कत छायाँमा पर्‍यो । उनले दोस्रो गोल गरेलगत्तै जर्सी खोलेर छाती र पाखुरा देखाएका थिए । यस कारण उनले पहेँलो कार्ड पनि पाए । ‘यो मेरो खेल जीवनकै महत्त्वपूर्ण रात हो तथापि मलाई विश्वास छ अबको दुई दिनपछि आउने रात मेरा लागि अझ विशेष हुने छ,’ ब्यालोटेलीले भने ।
ब्यालोटेली प्रतियोगितामा तीन गोल गर्ने खेलाडीको सूचीमा सूचीकृत भएका छन् । रुसका एलन जागायेभ, जर्मनीका मारियो गोमेज, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका मारियो मान्डुजबीकले तीन/तीन गोल गरेका छन् । यसअघिका खेलमा भने उनी प्रभावकारी देखिएका थिएनन् । यसअघि इन्टर मिलानमा जोसे माउरिन्होले समेत चिन्न नसकेका ब्यालोटेलीलाई सिजर पाल्ड्रिनीले लागातर विश्वास गरेका थिए । यसअघिका थुप्रै खेलमा पाएका अवसर गुमाए पनि पाल्ड्रिनीले उनमा एकदमै धेरै प्रतिभा भएका कारण उनलाई मौका दिनुपर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया