फ्ल्यासब्याकमा मन परेका किताबहरू

पठन यात्रामा निस्किएपछि एउटा मात्र किताब पढिँदैन, धेरै पढिन्छ । कुन किताब कसरी हात पर्छ र कुन उत्प्रेरणामा पढिन्छ भन्ने कुरा पनि संयोगजस्तै रहेछ । तर, केही पुस्तकको हकमा पूर्वनिर्धारितजस्तो पनि लाग्छ । कवि समीक्षक हरि अधिकारीका विपरीत मेरो पठन उत्कृष्ट साहित्यहरूबाट आरम्भ भएन । पोखराको स्कुलमा बरु सस्तो नेपाली जासुसी र सामाजिक उपन्यासबाट सुरु भयो । सानीआमाको हत्यारा, विषालु इच्छापत्र, अन्तर्राष्ट्रिय चितुवा, ब्ल्याक सेप्टेम्बरजस्ता नेपाली जासुसी उपन्यासमा पाइने हत्याहिंसा, प्रतिशोध, यौन र सस्पेन्सका कथानकले मलाई साहित्यको दुनियाँमा प्रवेश गरायो । हिन्दी सत्य कथा पनि धेरै पढेँ । स्कुल लाइब्रेरीमा त्यसबेला बग्रेल्ती भेटिने युधीर थापा र प्रकाश कोविदका सामाजिक उपन्यासहरूले मेरो मनमा स्थान बनाउँदै गयो । ती उपन्यासले कहिले द्रवित बनाउँथ्यो, कहिले कल्पनाशीलतालाई पखेटा लगाइदिई बादलपारिको देशमा उड्न प्रेरित गथ्र्यो । युधीर थापाको संगमरमरको ढुंगा र हुरीको लहर पढेर म त्यसै–त्यसै भावुक भएको सम्झन्छु । उपल्लो कक्षामा चढ्दै गएपछि भने प्रकाश कोविदको उपन्यासतिर लहसिएँ । दार्जिलिङको परिवेशमा लेखिएका उपन्यास देउता, अर्को जन्म, पागल ? र तिब्बती शरणार्थीहरूको विस्थापनका बारेमा लेखिएको नोयो ? पढेर विचलित भएँ । तर, सानो उमेरमा अवचेतनलाई बेस्सरी झकझकाएको उपन्यास भने नेपाली अनुवादको क्लियोपेट्रा, वीरचरित्र र वीरसिक्का नै थियो । गोकुलसिंह छेत्रीले जस्तो लाग्छ अनुवाद गरेको क्लियोपेट्रा उपन्यासभर आउने जालझेल, षड्यन्त्र, सत्ताखेल र कुटिल सुन्दरताले मलाई निकै तानेको रहेछ । माछापुच्छ्रे होस्टेलनजिकको इन्सिनिरेटरमाथि बसेर मैले केही दिनमा क्लियोपेट्रा सक्काएँ, ६ वा सात कक्षा पढ्दा ।
त्यस्तै, तिलस्मी कथाहरूले भरिपूर्ण, ऐयारहरूको निमेषमै विभिन्न रूप धारण गर्ने, बिलाएर इच्छित स्थानमा उत्पन्न हुने र शत्रुलाई वशमा पारेर आफ्नो चाहना पूरा गर्ने रोमाञ्चक कथानक भएको वीरचरित्र र वीरसिक्का निकै रमेर पढँे । गिरिशवल्लभ जोशीकृत वीरचरित्रको, पुस्तकमा उल्लिखित पश्चिम नेपालको बाग्लुङ, पाल्पा, रिडी आदि स्थान र ध्वाँकोटे, तन्हौँकोटे, भिर्कोटे र अग्निदत्त आदि पात्र अझ सम्झन्छु । त्यस्तै स्कुलमा पागल शीर्षकको अर्को उपन्यास हामीमाझ निकै चर्चित थियो । प्रेम, विरह र वियोगको भावभूमिमा लेखिएको त्यो वियोगान्त उपन्यासले हाम्रो मन निकै दुखायो । लेखकको नाम बिर्सें, दार्जिलिङ, सिक्किमतिरकैजस्तो लाग्छ तर उपन्यासको नायिका पारोलाई बिर्सेको छैन ।
अलिक गम्भीर प्रकृतिका किताब भने क्याम्पसकालमा पढँ । विदेशी लेखकका किताबहरूमा सिद्धार्थ, झेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स, लीला, क्याचर इन द राई, आउटसाइडर, आरके नारायणका प्रायश: सबै उपन्यास र निबन्धहरू, फादर एन्ड सन, द मिथ अफ सिसिफस, अन द रोड र ओशोका केही किताबहरू मेरो रुचिका घेराभित्र पर्न गए । मेरो आफ्नो मनोविज्ञान, सोच्ने तरिका र दिशा पनि प्रत्यक्ष वा परोक्ष यी किताबबाट प्रभावित भएको हुनुपर्छ । जे होस्, यसै लस्करमा स्वदेशी लेखकहरूका धेरै किताबमध्ये अनुराधा, मोदी आइन्, अलिखित, पागल बस्ती, शिरीषको फूल, मनुब्राजाकीको कथाहरू, शंकर लामिछानेका निबन्धहरू, शोकमग्न यात्री, प्रेतकल्प, आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्, सम्झनाका कुइनेटाहरू, आगोनिर उभिएको मान्छे, बिसे नगर्चीको बयान, मोक्षान्त: काठमाडौं फिभरहरूले पनि मेरो पठन यात्रालाई समृद्ध पार्न सघाउ पुर्‍यायो । मधुपर्क, गरिमा, समकालीन साहित्यलगायत निजी साहित्यिक प्रकाशनहरूले घचेट्दै लगेको मेरो साहित्यिक यात्रामा धेरै अन्य किताब पनि भेटेँ । केही नाम अझ छुटेको हुन सक्छ । यौटा कुरा, म आफ्नो मन परेका लेखक छनोट गर्दा साहित्यिक इतिहासमा लगभग प्रस्ट डोब बसिसकेको लेखकलाई मात्र छान्न रुचाउँदो रहेछु । फुटकर कविता, निबन्ध र कथा पढेर छनोट गर्न असहज लाग्छ । हुन त, एउटा कविता र कथाले नै अमर भएका स्रष्टाहरू पनि छन् तर साहित्यको विराट समय–क्यानभासमा यौटा पुस्तक पनि नदिनेलाई किन छान्ने भन्ने मेरो तर्क आफैँलाई अनुपयुक्त लाग्दैन ।
कवि रमेश केसीबाट हरमन हेसको सिद्धार्थ लिई पढँे र किताब त्यत्ति शक्तिशाली पनि हुँदो रहेछ भन्ने थाहा पाएँ । रोबर्ट एम पिरसिगको झेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स र त्यसैको सिक्वेल लीला पढेर विस्मित बनेँ । लेखकहरू आधारभूत प्रश्नहरूमा कतिसम्म घोत्लिँदारहेछन् र चेतनाको पीडाबाट प्रताडित हुँदारहेछन् महसुस गरेँ । एकान्तवासी लेखक जेडी स्लालिन्जरको क्याचर इन द राई पढेर लेखक आडम्बरी समाजलाई कुन हदमा घृणा गर्दो रहेछ, थाहा पाई रन्थिनिएँ । इमानदारपूर्वक सिर्जना गरे सिद्धान्तत: अमर हुन गाह्रो रहेनछ भन्ने थाहा पाएँ र त्यस्तै सिर्जनात्मक इमानदारी ज्याक केरुकको अन द रोडमा पनि भेटे । तुर्गनेभको फादर एन्ड सनमा वजारोभको निषेधको वैयक्तिक निष्ठा देखेर डराएँ । म डराउनु किताबको शक्ति थियो । यस्तै गम्भीर किताबहरूका बीचमा भारतको विश्वप्रसिद्ध लेखक आरके नारायणले भने हरफ हरफमा मलाई हँसाइरह्यो । आफ्नो निश्चलता र विनोदप्रियताले । आफ्नो निश्चलतालाई सबै लेखकले रिङफेन्स लगाएर भए पनि जोगाउनुपर्छ भन्ने ब्रुस डिकिन्सनको भनाइ मलाई उपयुक्त लाग्छ । ओशोको द बुक आई ह्याभ लभ्ड मा दुई सयवटा पुस्तकहरूको सारसंक्षेप पढे र त्यसैको आधारमा केही किताबहरू किनेँ ।

घोरेपानीको आत्मनिर्वासनजस्ता दिनहरूमा विजय मल्लको अनुराधा पढेर मनोविज्ञानको अर्कै संसारमा पुगेँ । अनुराधाका मुख्य पात्र कोमलमानले कुकुर लिएर घना जंगलमा विचरण गर्न मन पराउने कथ्य पढ्दा मलाई जंगलको अँध्यारो मन पर्नुमा पनि त्यतैतिरको कारण पो हो कि ? अनुमानलाई आधार पाएँ । अनवरत झरी, भिजेको माटो र लछप्रिएको रूख, बोट र झ्याङहरूमा आफ्नो आदिम वृत्ति र जुगुप्साहरू चल्मलाएको देखेँ । विश्वेश्वरप्रसाद कोइराला कोमोदी आइन् उपन्यासमा आरूढ मानवीयताप्रति नतमस्तक बनेँ । त्यो पातलो उपन्यास मेरो प्रिय पुस्तक बन्यो । ०४४ सालमा धुन्चे रसुवामा कर्मचारी जीवनका प्रारम्भिक दिनहरूमा धु्रवचन्द्र गौतमको अलिखित पढेँ र मधेसको सिंगै गाउँ हराउने कथ्य र आञ्चलिकशैलीको प्रयोगबाट विस्मित भएँ । सरुभक्तको पागलबस्ती पढेपछि भित्रदेखि हल्लिएर केही दिनसम्म मेरो मस्तिष्क लाटो बन्यो । सारङकोटभन्दा धेरै अग्लो अहंको पहाड देखेर अत्तालिए पनि । शिरीषको फूल मैले दोस्रो, तेस्रो पठनमा मात्र मन पराउन सकँे । किन किन ? पहिलोपटक पढ्दा म आकर्षित हुन सकिनँ ।
मनु ब्राजाकीको तिम्री स्वास्नी र म, र भविष्य यात्रा पढेर म ब्राजाकीको ºयान बनेँ । बहालाई भेट्ने लालसा कवि रासाले पूरा गरिदियो । वसन्तपुर दमकलपछाडिको रक्सी पसलमा उहाँलाई भेट्यौँ तर म उहाँबाट प्रभावित भइनँ जति कथासंग्रह पढ्दा भएको थिएँ । दोष मेरै रहेछ । लेखकको काम लेख्ने हो । लेखकले आफ्नो वाक्शैलीले प्रभावित गर्नैपर्छ भन्ने छैन । अब पछ्याउँदिन भनेर लुरुलुरु फर्कें । निबन्धकार शंकर लामिछानेको कुरै नगरौँ । नवीन अनौपचारिक शैली र शैलीको ख्यातिमा च्यापिएको उहाँको आधुनिक सोच पढ्दा प्रभावित नभई रहन सकिनँ । त्यस्तै विद्रुप समयको प्रभावशाली स्केच खिच्ने आख्यानकार नारायण ढकालको प्रेतकल्पमा प्रयुक्त स्थान, काल र पात्रहरूको विशद् क्यानभास र सामाजिक विभेदको मार्मिक कथ्यले मेरो पछिल्लो समयलाई निकै प्रभाव पार्‍यो । त्यस्तै गहिरो प्रभाव निबन्धसंग्रह शोकमग्न यात्री पढ्दा पाएको थिएँ । माक्र्सवादी भईकन आफूलाई गैरसरकारी माक्र्सवादी भन्नुहुने उहाँको संस्थापनसँगको बागीपनाले मलाई सधैँ आकर्षित गर्‍यो । यसरी विविधखाले लेखकका थरीथरीका किताब मन पराउँदा मित्र तथा साहित्यिक लेखकहरूबाट तिमी कुन विचारधाराको ? प्रश्नको कोर्रा मतिर लगातार बर्सिरह्यो । मैले जवाफमा यस्तै केही भने– म साहित्यको बाटो हिँडेको यात्री हुँ । म सक्रिय राजनीति गर्ने व्यक्ति होइन । मैले राजनीतिलाई हेर्न वा बुझ्न खोज्दा पनि साहित्यको परिसरबाटै खोज्छु । पछिल्लो समयमा विकसित हुँदै गएको सामाजिक न्यायलाई केन्द्रमा राख्ने वैचारिक आग्रहले आफूलाई माक्र्सवादी विचारधाराको नजिक पाउँछु तर साहित्यलाई समृद्ध गरेका अन्य विचार दर्शन र चिन्तनलाई शास्त्रीय ढंगको ठाडो निषेध गर्दिनँ ।
विमल निभाको आगोनिर उभिएको मान्छेले मलाई जीवनको अवसादग्रस्त दिनहरूबाट उठ्न मद्दत गर्‍यो । त्यो कवितासंग्रहमा धेरै शक्ति छ । खगेन्द्र संग्रौलाको सम्झनाका कुइनेटाहरू पढेपछि मैले धेरै सोचेँ । त्यस संग्रहमा उहाँले आफ्ना जीवनका पूर्वाद्र्धलाई पर्गेल्दा नि:सृत भएका अन्तरदृष्टिहरू छन् । जीवनको पाठशालाबाट आउनुभएका संग्रौलाका निबन्धहरूमा म केही न केही जीवनोपयोगी कुरा पाउँछु । कवि श्रवण मुकारुङको बिसे नगर्चीको बयानको सामथ्र्य काव्यकारिताबाट म एकैसाथ उत्तेजित र कायल हुन्छु । आममान्छे र त्यसभित्र पनि सीमान्तकृत वर्ग समुदाय र जनजातिको खोसिएको स्वरलाई उनले काव्यमार्फत अगाडि ल्याएका छन् । श्रवण मेरो पनि प्रिय कवि हो । पछिल्लो समयमा पाठक वर्गमा भिन्नै ज्वरो उत्पन्न गर्ने कथाकार कुमार नगरकोटीको मेटाफिजिकल कथाहरूले कल्पनाशीलताको भिन्न द्वीपमा लगेर मलाई पछार्छ । नौलो गोरेटो हिँड्न साहस गर्ने र कल्पनाशीलतालाई कोही नपुगेको सुदूर प्रदेशसम्म लग्न सक्नु नगरकोटीको विशिष्ट सामथ्र्य हो ।
यसरी स्कुले जीवनमा सस्ता नेपाली जासुसी उपन्यासबाट थालेको पठनको यात्रा अझ टुंगिएको छैन । सायद नमरेसम्म टुंगिने छैन । बरु, पठन यात्रासँग मेरो आफ्नै लेखन यात्रा पनि सुरु भएको छ । जीवनको अभीष्ट सुखभन्दा सार्थकतालाई मानेको छु । त्यसैले उल्लिखित किताबहरू मेरो साहित्यिक यात्राका भरपर्दा सहयात्री हुन् ।

प्रतिक्रिया