तपस्वीविरुद्ध पक्राउ पुर्जी

वीरगन्ज, १६ असार । तपस्वी रामबहादुर बमजनविरुद्ध जिल्ला वन कार्यालय बाराले पक्राउ पुर्जी जारी गरेको छ । अवैध रूपमा वन अतिक्रमण गरेको आरोपमा कार्यालयले बमजन र उनका चार अनुयायीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

बमजनसहित बोधी श्रवण धर्म संघका कार्यवाहक अध्यक्ष जसबहादुर वाइबा, सचिव रामकुमार थिङ, सदस्य बालहरि राई र दर्शन लिम्बूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रमुख वन अधिकृत रामनन्दन साहले बताए । वन अतिक्रमण गरेकाले उनीहरूविरुद्ध वन ऐनबमोजिम कारबाही गर्न पक्राउ पुर्जी जारी गरिएको उनको भनाइ छ ।
‘पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकिएको छ,’ साहले भने, ‘पक्राउ परेपछि वन ऐनअनुसार कारबाही हुन्छ ।’ प्रहरीले संघको नाममा रहेको बैंक खाता रोक्का गर्न सम्बन्धित बैंकलाई पत्राचारसमेत गरेको छ । इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर केपी शर्माले सिमरास्थित एभरेष्ट बैंकमा संघको नाममा रहेको खाता रोक्का गर्न पत्र पठाइएको जानकारी गराए । संघका पदाधिकारीले अकुत रूपमा कमाएको सम्पत्तिसमेत जफत गरिने उनले बताए । शर्माका अनुसार हिमालयन, बंगलादेश बैंक र बैंक अफ काठमाडौंमा रहेका उनीहरू सबैको खाता रोक्का गर्न पत्राचार गरिएको छ ।
बमजन र उनका अनुयायीविरुद्ध कारबाहीको माग गर्दै प्रहरी र स्थानीय प्रशासनमा यसअघि चारवटा उजुरी परेका छन् । इलाका प्रहरी कार्यालय सिमरामा तीन र जिल्ला प्रशासन कार्यालयमा एउटा उजुरी परेको हो । आफन्तलाई कुटपिट गरेको भन्दै बमजनकी आमा माया तामाङले नै बमजन, दर्शन लिम्बू र बालहरि राईविरुद्ध १० जेठमा इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिएकी थिइन् । त्यसैगरी, डुमरवाना–४ का सुमन गुरुङले पनि उनीहरूविरुद्ध १५ जेठमा इलाका प्रहरी कार्यालय सिमरामै उजुरी दिएका थिए ।
पत्रकारलाई कुटेको आरोपमा नेपाल पत्रकार महासंघ बारा शाखाले पनि बमजन र उनका अनुयायीविरुद्ध इप्रका सिमरामै ९ चैतमा उजुरी दिएको थियो । यस्तै, किर्ते जन्मदर्ता बनाएको भन्दै बमजनकै आफन्तले जिल्ला प्रशासन कार्यालय बारामा ४ जेठमा बमजन र संघका पदाधिकारीविरुद्ध उजुरी दिएका छन् ।
यता, बमजन तपस्यामा बसेको रतनपुरी–९ मा पर्ने हलखोरिया वन क्षेत्रमा जंगल फँडानी गरेर बनाइएका भौतिक संरचना बिहीबार वन कार्यालयले भत्काएको छ । प्रहरीको सहयोगमा जिल्ला वन कार्यालय बाराको टोलीले जंगलभित्रको तपस्यास्थलमा बनाइएका पक्की र काठका घर डोजर र एक्साभेटर लगाएर भत्काएको हो । इलाका प्रहरी कार्यालय सिमरा, इलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरी गण पिलुवाका सुरक्षाकर्मीसहित वन टोली पक्की घर भत्काउन पुगेको थियो ।
जिल्ला वन कार्यालय बाराका अनुसार बमजन बस्दै आएको तीनतले पक्की घर र अन्य जस्ताको छाना भएका पाँचवटा एकतले घर बिहीबार डोजर लगाएर भत्काइएको छ । काठले बनाइएका तीनवटा घर तथा ६ वटा साना कटेरा पनि भत्काइएको प्रमुख वन अधिकृत रामनन्दन साहले बताए ।
‘बमजन बस्दै आएको तीनतले पक्की घर आज पूर्णरूपमा भत्काउन सकिएन,’ साहले सौर्यसँग भने, ‘साह्रै बलियो रहेछ, डोजरले पनि सकेन । अब अर्को दिन गएर भत्काउँछाँै ।’ साहका अनुसार बमजन बस्दै आएको तीनतले पक्की घर १२ सय वर्गमिटरमा फैलिएको छ । बमजन र उनको संरक्षणमा खोलिएको बोधी धर्म श्रवण संघले नौ सय हेक्टर जंगल अतिक्रमण गरेर पक्की घर बनाएको थियो । तपस्यास्थलमा केही पक्की गुम्बा रहे पनि ती नभत्काइएको प्रमुख वन अधिकृत साहले बताए । ‘गुम्बा भनेको विशुद्ध धर्मसँग जोडिएको विषय भएकाले विवाद हुन सक्ने सम्भावना देखेर भत्काइएन,’ साहले भने ।
तपस्यास्थलमा रहेका घर पूरै खाली रहेको र कुनै पनि सरसामान नभेटिएको साहले बताए । बमजन र उनका अनुयायी ३२ जेठमा अचानक तपस्यास्थल छाडेर भागेपछि हलखोरिया क्षेत्र सुनसान रहँदै आएको छ । घरका फर्निचरलगायत सरसामान स्थानीय गाउँलेले लिएर जान थालेपछि वनको टोलीले बिहीबार घर भत्काएको हो । तपस्वी बमजन र उनका अनुयायी ३२ जेठमा रातारात आºना बन्दोबस्तीको सामान लिएर भागेका थिए । स्थानीय प्रशासनले कारबाही गर्ने सुइँको पाएपछि बमजन ३२ जेठको राति बन्दोबस्तीको सामान ट्रकमा हालेर टाटासुमोमा टाप कसेका थिए ।
बोधी श्रवण धर्म संघले बमजन धार्मिक कार्यक्रममा सहभागी हुन एक साताका लागि सिन्धुली गएको बताए पनि उनी अझैसम्म फर्किएका छैनन् । १ असारमा सिन्धुलीको माझीटारस्थित बौद्ध गुम्बामा दुई दिन बसेका बमजन र उनका अनुयायी अहिले रानीचुरी गाविसमा पर्ने जंगलमा बसेका छन् । माझीटारमा बसेका बेला सिन्धुली प्रहरीले विशेष सुरक्षा दिएको थियो । सदरमुकाम सिन्धुलीमाडीबाट पाँच किलोमिटरको दूरीमा रहेको रानीचुरी जंगलमा बमजन र उनका अनुयायी पाल टाँगेर बसेका छन् । त्यहाँ पनि उनका अनुयायीले बमजनसित अरू कसैलाई भेट्न दिएका छैनन् ।
संघका कार्यकर्ताका अनुसार बमजन त्यहाँ पनि केही दिन ध्यानमा बसेका छन् । अहिले ध्यानमा बसेको स्थान, मानवबस्ती भन्दा दुई किलोमिटर टाढा छ । बमजनसँगै दुईजना विदेशी नागरिक र संघका आठजना कार्यकर्ता रहेका छन् । बाराबाट सिन्धुलीको माझीटार पुगेका बेला बमजनका अनुयायीले हलखोरियामा बस्ने वातावरण नभएका कारण त्यहाँबाट हिँडेको बताएका थिए । बाराका पत्रकार र स्थानीय केही विरोधीले बमजनलाई विवादमा मुछ्ने काम गरेका कारण हलखोरिया छाडेर हिँडेको उनीहरूको आरोप छ ।

प्रतिक्रिया