राजीनामा होइन, नयाँ प्रधानमन्त्री खोजौं

काठमाडौं, १५ असार । सद्भावना पार्टीका अध्यक्ष तथा स्वास्थ्य मन्त्री राजेन्द्र महतोले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार छिट्टै बन्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लव नेपालले आज राजधानीमा आयोजना गरेको साक्षत्कारमा मन्त्री महतोले भने, ‘अबको एक÷डेढ महिनामा कांग्रेस नेतृत्वमा सहमतिको नयाँ सरकार बन्छ ।’ उनले दलहरुका वीच भएको पछिल्लो पाँच बुँदे सहमति अनुसार नै सरकार बन्ने दाबी गरे ।
महतोले सहमतिको सरकार बन्नु अघि नयाँ संविधानमा बनाउने सहमति बन्ने बताए । उनले भने, ‘संघीयता सहितको संविधानमा पनि सहमति बने पछि मात्रै नयाँ सरकार बन्छ ।’
मुलुकलाई राष्ट्रिय सहमति आवश्यक भईसकेको बताएका उनले आफूले त्यसका लागि दबाव सृजना गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभपाति सुशील कोइराला, प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गरिसकेको बताए ।
उनले सहमतिका लागि कुनैपनि दल र नेताहरु बाधक बन्न नहुने उल्लेख गरे ।
सरकार संवैधानिकनै रहेको दाबी गरेका मन्त्री महतोले भने, ‘कामचलाउ भई सकेको सरकारको राजीनामा माग्ने कार्य उचित होईन ।’ उनले राजीनामा माग्नु भन्दा सहमतिका लागि आवश्यक पर्ने काम गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले हालै त्रिभुवन विमानस्थलमा दिएको अभिब्यक्तिको मधेसी मोर्चाले समेत विरोध गरेको उनको भनाई छ । ‘सहमति बिथोल्ने गरेर प्रधानमन्त्री भट्टराईले अभिब्यक्ति दिनु हुँदैन,’ महतोले भने, ‘वर्तमान सरकारलेनै निर्वाचन गराउछ, पद छाड्दिन भन्नु सहमति विथोल्ने कार्य हो ।’
भट्टाराईको पछिल्लो अभिब्यक्तिले दलहरुका वीच तिक्तता ल्याएको दाबी गरे ।
महतोले कामचलाउ भईसकेको सरकारको राजीनामा नमाग्न दलहरुलाई सुझाव दिएका छन् । उनले भने, ‘राजीनामा माग्ने होइन बरु दलहरुले सहमतिको प्रधानमन्त्री खोज्ने हो ।’ उनले सहमतिमा प्रधानमन्त्रीको उम्मेदवार अघि सारेमा बाबुराम भट्टराईले आफैले पद त्याग गर्ने बताए ।
मन्त्री महतोले दलहरुले सहमति जनाएमा वा नजनाएपनि सरकारले पूर्णबजेट ल्याउने दाबी गरे । उनले सरकारको आफ्नो अधिकार प्रयोग गरेरै भएपनि अध्यादेश मार्फत बजेट ल्याई छाड्ने उल्लेख गरे ।
मंसिर सात गर्ने निर्वाचन हुने सक्ने अवस्था आफूले नदेखेको मन्त्री महतोले बताएका छन् । उनले संविधानका केही बुँदा संशोधन गरेर जानुपर्ने भएकाले मंसिरमा निर्वाचन हुने अवस्था नरहेको बताए । उनले भने, ‘अब निर्वाचन चैत वा बैशाखमा मात्रै हुन्छ ।’ उनले सहमति गरेर निर्वाचनका लागि आवश्यक पर्ने संविधानका धारा संशोधन गरेर जानुपर्ने उल्लेख गरे ।
यसैवीच, स्वास्थ्य मन्त्री महतोले दुर्गमका जिल्लामा चिकित्सक पठाउनका लागि आफूले योजना ल्याउन लागेको बताएका छन् । चिकित्सकहरु गरिव निमुखा जनताको सेवा गर्न दुर्गममा जान नमानेको भन्दै उनले असन्तुष्टि जनाए ।
उनले सरकारी चिकित्सकले निजी क्लिनिकमा गएर काम गरेको उजुरी पाएमा कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया