मलाई कुर्सी मोह छैनः प्रधानमन्त्री

काठमाडौं, १५ असार । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई कुर्सी मोह नरहेका बताएका छन् ।
उनले मुलुकको राजनीतिक गरोध अन्त्यका लागि सहमति र सहकार्य गर्न आफू तयार रहेको बताए । यद्यपी उनले सहमति र सहकार्य कसरी गर्ने भन्ने बारेमा स्पष्ट केही बताएनन् । ‘म लाई कुर्सीको मोह छैन,’ भट्टराइले भने, ‘मेरा लागि देशलाई निकास दिने कुरा प्रधान हो ।’
प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा आज चलचित्र कलाकार र निर्मातासँग भएको छलफलमा उनले दलहरुका वीचमा चाँडै सहमति जुट्ने दाबी गरेको उनको निजी सचिवालयले जनाएको छ ।
उनले लोकतान्त्रिक र शान्तिपूर्ण बाटोबाट अगाडि बढ्न दलहरुलाई सुझाव दिएका छन् । विपक्षी दलहरुले पद त्याग गरेर सहमतिका लागि मार्ग प्रसस्त गर्नुपर्ने जनाई रहेका बेला भट्टराईले आफूलाई कुर्सी मोह नरहेको बताएका हुन् ।
छलफलमा उनले चलचित्र क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले भने, ‘पाईरेसी, सिआरविटीलगायतका समस्याहरुलाई समाधान गर्न म सहयोग गर्छु ।’
प्रधानमन्त्रीसँगको भेटका लागि कलाकार नीर शाह, निर्देशक यादव खरेल, निर्माता अशोक शर्मा, कलाकार वसुन्धरा भुषाल, भुवन चन्द, गायक शम्भु राई, जेवी टुहुरे, उदय सुब्वा, प्रदीप उदय, उज्ज्वल घिमिरे, विनिता वराल, किरण केसी, जितु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला लगायतका कलाकार पुगेका थिए ।

प्रतिक्रिया