बेकहयाम ओलम्पिक टोलीमा अटाएनन्

लन्डन : इंगल्यान्ड राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान डेभिड बेकहयाम आसन्न लन्डन ओलम्पिकका लागि छनोट हुन असफल भएका छन् । बिहीबार घोषित १८ सदस्यीय राष्ट्रिय टोलीमा बेकहयामले स्थान बनाउन असफल रहे । प्रशिक्षक स्टुवार्ट पर्सले अन्तिम ३५ खेलाडीमा बेकहयामलाई समावेश गरी ओलम्पिक खेल्ने उनको आशा कायमै थियो । ओलम्पिक टोलीमा २३ वर्षभन्दा बढी उमेरका तीन खेलाडी मात्र रहने व्यवस्था छ ।
टोलीमा स्थान नबनाएको झाेंकमा बेकहयामले आक्रोश व्यक्त गरे । ‘कति समय मैले देशका लागि खेलें भन्ने कुराले ठूलो अर्थ लाग्थ्यो,’ बेकहयामले भने, ‘म ओलम्पिक टोलीमा समावेश भएको भए मेरो योगदानको सम्मान हुने थियो ।’ ३७ वर्षीय बेकहयामले आफू दु:खित भएको प्रतिक्रिया दिए ।
सन् २००५ मा लन्डनलाई ओलम्पिक आयोजना गर्ने अवसर प्राप्त हुनुमा बेकहयामको ठूलो भूमिका थियो । उनी लन्डनका तर्फबाट दाबी टोलीमा थिए । ‘लन्डनकै बासिन्दा भएकाले यहाँ ओलम्पिक आयोजना हुनु र त्यसमा आफ्नो भूमिका हुनुमा मलाई गर्व छ । त्यसैले ओलम्पिक आफ्नै ठाउँमा हेर्न अत्यन्त लालयित छु ।’ लन्डन ओलम्पिकका लागि घोषित बेलायती टोलीमा २३ वर्षभन्दा माथिका तीन खेलाडीमा क्रैग वेलामी, रायन गिग्स र मिकाह रिचार्डस छन् । (एजेन्सी)

प्रतिक्रिया