स्पेन कीर्तिमानभन्दा एक कदम पछाडि

डोन्सटेक, १५ असार । डिफेन्डिङ च्याम्पियन तथा विश्वविजेता स्पेन युरोकप–२०१२ को फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशको क्रममा स्पेनले मंगलबार भएको पहिलो सेमिफाइनलमा आइबेरियन छिमेकी पोर्चुगललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्‍यो । विजयी स्पेन युरोकप फुटबलको उपाधिरक्षाको कीर्तिमानबाट एक खेल मात्र टाढा रहेको छ । समीक्षकहरू यदि इटाली र जर्मनीबीचका विजेतासँग हुने फाइनलमा जित हात पार्‍यो भने स्पेन पेलेबाट प्रेरित सन् १९७० को विश्वविजयी ब्राजिलको टोलीसमान हुने बताउँछन् ।
बुधबार राति डोन्सटेकमा भएको सेमिफाइनलमा नियमित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा स्पेनका लागि आन्द्रे इनिएस्टा, गेरार्ड पिके, सर्जियो रामोस र सेस फाब्रिगासले तथा पोर्चुगलका पेपे र नानीले गोल गरे । स्पेनका जाबी अलोन्सो र पोर्चुगलका माउटिन्होको पहिलो प्रहार विपक्षी गोलरक्षकले बचाए भने पोर्चुगिज ब्रुनो अल्भासको प्रहार क्रसबारमा लागेको थियो । सन् २००८ मा इटालीसँगको क्वार्टरफाइनलमा पनि विजयी पेनाल्टी प्रहार गरेका सेस फाब्रिगासले नै पोर्चुगलसँगको खेलमा पनि विजयी प्रहार गरे । उनको प्रहार साइडबारमा लागेर गोलपोस्टभित्र छिरेको थियो ।
स्पेन जर्मनीपछि लगातार तीन ठूला प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । किभमा हुने फाइनलमा सफलता हात पारेमा स्पेन लगातार तीन ठूला प्रतियोगिताको उपाधि जित्ने टोली पनि बन्नेछ । ‘मलाई साँच्चै खुसी लागेको छ तर हामीले इतिहास रचेको कुरा पछि मात्र थाहा पाएँ,’ ‘मलाई दोस्रो प्रहार गर्न भनिएको थियो तर म आफैले पाँचांै प्रहार गर्ने निर्णय गरें,’ फाब्रिगासले भने ।
‘हामीले दोस्रो हाफमा राम्रो खेलेका थियांै । पोर्चुगल पनि सँगठित टोली हो । इटाली र जर्मनी पनि कमजोर होइनन्,’ स्पेनका प्रशिक्षक भिसेन्टे डेल बोस्क्युले भने । पोर्चुगलका प्रशिक्षक पावलो बेन्टोले भने, ‘यदि मैले कुनै हार रोजें भने यसैखालको हार रोज्छु,’ ‘स्पेन साँच्चै राम्रो टोली हो । हामी हारका बाबजुद शीर ठाडो पार्न सक्ने गरी हारेका हुनेछांै ।’
खेलमा आश्चर्यजनक रूपमा पहिलो रोजाइको टोलीमा परेका अल्भारो नेग्रेडोको योगदानमा स्पेनले पहिलो मौका पाएको थियो । नेग्रेडोको पासमा अल्भारो अर्बेलाको प्रहार क्रसमाथिबाट बाहिरिएको थियो । चेक गणतन्त्र र नेदरल्यान्ड्ससँगको खेल जिताएका पोर्चुगलका स्टार रोनाल्डो सुरुको १० मिनेट सुस्ताएका थिए । त्यसपछि लयमा फर्केका रोनाल्डोको एउटा फ्रिकिक प्रहार क्रसबारभन्दा माथिबाट बाहिरियो भने अर्को पनि गोलपोस्टको छेवैबाट बाहिरियो ।
गोलको मौका नै नपाएको स्पेन २९औं मिनेटमा भने राम्रो आक्रमण बुन्न सफल भयो । नेग्रेडोले अलोन्सोको पासमा इनियस्टालाई बल उपलब्ध गराएपछि उनको घुमाउरो प्रहार गोलपोस्टको छेवैबाट बाहिरिएको थियो ।
पहिलो हाफमा प्रभावकारी नदेखिएका अल्ब्रेडोलाई दोस्रो हाफमा फाब्रिगासले प्रतिस्थापन गरे । जाभीले पोर्चुगलका गोलरक्षक रुइ पेट्रासियो पहिलो परीक्षण गर्नुअघि डेविड सिल्भाको स्थानमा जेसस नाभास मैदानमा प्रवेश गरे । रोनाल्डोले नियमित समयको अन्त्यमा एउटा राम्रो प्रहार गरे पनि गोलपोस्टको छेवैबाट बाहिरियो । यसका साथै इनियस्टाले ६ यार्डबाट गरेको प्रहार पोर्चुगलका गोलरक्षकले सानदार ढंगले बचाएका थिए ।
अतिरिक्त समयमा आफ्नो वास्तविक लयमा देखिएको स्पेनका लागि फाब्रिगासले राम्रो बल उपलब्ध गराए पनि पेड्रोले ढिला गर्दा गोल हुन सकेन । उनले बल नियन्त्रणमा लिनुअघि नै पोर्चुगलका अन्तिम रक्षक सेन्टोरेले क्लियर गरे ।
पोर्चुगलका प्रशिक्षक बेन्टो, रोनाल्डोले आफ्नो पाँचांै प्रहार गर्ने निर्णय नै पराजयको एउटा कारण, भएको बताउँछन् । रोनाल्डोले आफू विजयी पेनाल्टी प्रहार गर्न तयार भए पनि उनको पालोअगावै स्पेनले जित हात पारेको थियो । रोनाल्डो भने यो सबै कुरा टोलीको निर्णय भएका कारण सबैले यसमा समान जिम्मेवारी लिनुपर्ने बताउँछन् ।

हारे पनि पोर्चुगलको नयाँ परिचय
वार्सा : युरोकप–२०१२ मा बुधबार स्पेनविरुद्धको सेमिफाइनल भिडन्त टाइब्रेकरमा ४–२ ले गुमाएर प्रतियोगिताबाटै बाहिरिए पनि पोर्चुगलले घर फर्कंदा नयाँ परिचय लिएर फर्किएको छ । ‘ग्रुप अफ डेथ’ मा रहेको पोर्चुगलले विगतमा सुदृढ प्रदर्शन गरेर सेमिफाइनलसम्मको यात्रा ठूलो सफलताका रूपमा स्थापित गर्‍यो ।
यस प्रतियोगिताको छनोटमा पोर्चुगलले कमजोर सुरुआत गरेको थियो । पहिलो खेलमा साइप्रसविरुद्ध बराबरी खेलेको पोर्चुगल छनोटको दोस्रो खेलमा नर्वेविरुद्ध पराजय व्यहोरेको थियो । यस्तो स्थितिबाट यस प्रतियोगितामा यस किसिमको सफलता हात पार्नु पोर्चुगलका लागि नयाँ जीवनको सुरुआत गरेभैंm रहयो । सेमिफाइनलमा स्पेनलाई निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा रोकेर पोर्चुगलले फाइनल पुगेसरह उपलब्धि प्राप्त गर्‍यो । पाउलो बेन्टोको प्रशिक्षणमा उत्रिएको पोर्चुगलले समूहचरणमा पहिलो खेल जर्मनीविरुद्ध खेल्दै पराजय व्यहोरे पनि त्यसपछि नेदरल्यान्ड्स र डेनमार्कलाई पराजित गरेको थियो । क्वार्टरफाइनलमा पोर्चुगलले चेक गणतन्त्रलाई १–० ले पराजित गरेको थियो ।
‘छनोटदेखि नै हामीले यस प्रतियोगितामा निकै राम्रो प्रदर्शन गर्‍यांै,’ स्पेनविरुद्धको पराजयपछि पोर्चुगलका प्रशिक्षक बेन्टोले भने, ‘स्पेनविरुद्धको पराजय विशेष रहयो । यदि हार्नु नै पर्छ भने स्पेनजस्तो बलियो टोलीविरुद्ध पराजित हुँदा त्यस्तो ठूलो दु:ख लाग्दैन जति कमजोर टोलीविरुद्ध हार व्यहोर्दा हुने गर्छ ।’ उनले यसै वर्षको सेप्टेम्बरदेखि ब्राजिल विश्वकप तयारी सुरु हुने बबताए । सन् २०१४ मा हुने उक्त प्रतियोगितामा पोर्चुगल हरेक टोलीविरुद्ध प्रतिस्पर्धा गर्न सक्षम हुने बेन्टोको दाबी छ । चौथो पेनाल्टी प्रहार ब्रुनो आल्भेसले खेर फाले । त्यसपछि सेस फाब्रिगासले गरेको गोलमा स्पेन लगातार दोस्रोपटक युरोकप फाइनल यात्रा तय गर्न सफल भएको थियो । यसमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टी प्रहार गर्ने अवसर नै पाएनन् । स्पेनको तर्फबाट फाब्रिगासको नाममा भएको पाँचांै प्रहार गोल भएपछि रोनाल्डोले पेनाल्टी प्रहार गर्नु व्यर्थ रहयो । (एजेन्सी)
मार्विकद्वारा राजीनामा
नेदरल्यान्ड्स : युरोकप–२०१२ मा नेदरल्यान्ड्स समूहचरणबाट बाहिरिएपछि उक्त टोलीका प्रशिक्षक बर्ट भान मार्विकले बुधबार पदबाट राजीनामा दिएका छन् । नेदरल्यान्ड्स फुटबल संघले जनाएअनुसार आफूहरूसँग छलफल गरेर मार्विकले पदबाट राजीनामा दिएका हुन् ।
‘मार्विक र नेदरल्यान्ड्स फुटबल संघबीच भएको छलफलअनुसार मार्विकले तत्कालको परिणामका आधारमा पदमा नरहने निर्णय गरेका हुन्,’ उक्त संघले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ६० वर्षीय मार्विकले सन् २००८ मा नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टोली सम्हाल्ने जिम्मेवारी लिएका थिए । उनको करार सन् २०१६ को युरोकपसम्म थियो । उनकै प्रशिक्षणमा नेदरल्यान्ड्सले दुई वर्षअघि दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा फाइनल यात्रा तय गरेको थियो । जारी युरोकपमा सुरुआतमा उपाधिको दाबेदार मानिएको नेदरल्यान्ड्सले समूहचरणका सबै तीन खेलमा पराजय सामना गरेको थियो । उक्त नतिजाको सम्पूर्ण जिम्मेवारी मार्विकले लिएका थिए । मार्विकको प्रशिक्षणमा ४५ खेल खेलेको नेदरल्यान्ड्सले तीमध्ये चारमा मात्र पराजय सामना गरेको थियो ।सन् १९६८ मा पछिल्लोपटक युरोकपविजेता भएयता नेदरल्यान्ड्स यस प्रतियोगितामा तीनपटक सेमिफाइनल र दुईपटक क्वार्टरफाइनल पुगेको छ । (एजेन्सी)

प्रतिक्रिया