मिसन : मिडिया हाउस

ङ्ग समाजसेवा गर्ने राम्रो माध्यम पत्रकारिता पनि हो भन्ने बुझेकी छु मैले  : संगीता शर्मा
ङ्ग अध्ययन पत्रकारिता भए पनि रुचि कलाकारितामा छ  : दीक्षा पाठक
ङ्ग पत्रकारिताबाट भविष्य सुन्दर बनाउन सकिन्छ भन्ने आत्मविश्वास छ : राजकुमार राना
ङ्ग पत्रकारिता पढ्ने मेरो भित्रदेखिको इच्छा हो, यही क्षेत्रबाट भविष्य राम्रो बनाउन सकिन्छ भन्नेमा म ढुक्क छु : एलिजा ढकाल
ङ्ग विनायोजना र सपना पत्रकारिता पढियो तर पत्रकारितामा रुचि बढेको छ : लोकेन्द्र थापा
ङ्ग पत्रकार भएर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास छ : सोनिया मरहठ्ठा

यतिबेला सहरका ठुल्ठूला होर्डिङ बोर्डहरू कलेजका विज्ञापनले भरिएका छन् । सबैजसो दैनिक पत्रपत्रिका पनि कलेजका रंगीन विज्ञापनले सजिएका छन् । सबै कलेजले विज्ञापनमार्फत आ–आफ्ना दाबी प्रस्तुत गरिरहेका हुन्छन्, ‘यस कारणले हाम्रो कलेज अब्बल छ ।’ विद्यार्थी तान्न कलेजहरूले गर्न भएजतिका सबै उपाय अनपनाएका छन् । कुन कलेज रोज्ने ? कुन विषय पढ्ने ? विद्यार्थीहरू अलमलमा पर्ने गर्छन् । यसअघिसम्म विज्ञान, वाणिज्यमा बढी आकर्षण हुन्थ्यो विद्यार्थीहरूको । तर, पछिल्लो समयमा पत्रकारिता विषयमा ह्वात्तै आकर्षण बढेको छ । पत्रकार बन्ने धेरै विद्यार्थीको सपना बन्न थालेको छ । पत्रकारितामा के त्यस्तो देखेका छन् त विद्यार्थीहरूले । यसपालि हामीले प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषय पढिरहेका विद्यार्थीसँग अन्तरंग वार्ता गरेका थियौँ । पत्रकारिता पढिरहेका अधिकांश विद्यार्थीको साझा सपना छ, ‘पढाइ सकेर राम्रो मिडिया हाउसमा काम गर्ने ।’
पत्रकारिता विषय नै किन त ? ‘असल पत्रकार बनेर समाजसेवा गर्नलाई’ स्नातक प्रथम वर्षकी चितवनकी संगीता शर्मा भन्छिन्, ‘समाजसेवा गर्ने राम्रो माध्यम पत्रकारिता पनि हो भन्ने बुझेकी छु मैले ।’ शर्मालाई दिदीले पत्रकारिता पढ्न सुझाएका रहेछन् । बढ्दो महिला हिसांप्रति ठूलो आक्रोश रहेछ उनको । महिलाहरूप्रति नराम्रो व्यवहर गर्नेहरूलाई लेखेर ठीक लगाउन सकिने विश्वास रहेछ । ‘देशमा महिला हिंसा बढेको छ,’ उनले भनिन्, ‘यसलाई कलमको सहायताले केही हदसम्म भए पनि रोक्ने चाहना छ । पढाइ सकेपछि राम्रो मिडिया हाउसमा काम गर्ने सोचमा छु ।’ स्नातक दोस्रो वर्ष पढिरहेकी दीक्षा पाठक ‘रानी’को भने अलि फरक सपना रहेछ । भन्छिन्, ‘अध्ययन पत्रकारिता भए पनि रुचि कलाकारितामा छ ।’ सकेसम्म दुवै क्षेत्रलाई लाने योजना छ उनको । तर, दुईतिर हाल हाल्दा सफल भइन्न कि भन्ने त्रास पनि छ उनीसँग । धादिङका राजकुमार रानालाई पनि पत्रकारिताबाट भविष्य सुन्दर बनाउन सकिन्छ भन्ने आत्मविश्वास छ । उनले अहिले अरू सबै काम छाडेर पढाइलाई प्राथमिकतामा पारेका छन् । तर, राजनीतिमा पनि रुचि रहेछ उनको । ‘मलाई राजनीतिमा पनि अभिरुचि छ,’ उनले सुनाए, ‘राजनीति र पत्रकारितालाई जोडेर लैजान सकिन्छ भन्ने लागेको छ ।’ उनी पत्रकारिताबाट केही गर्न सकिनेमा ढुक्क छन् ।
तनहुँबाट पत्रकार पढ्ने सपना बोकेर आएकी एलिजा ढकालसँग पनि पत्रकारिताबाट सुन्दर भविष्य बनाउन सकिन्छ भन्नेमा विश्वास रहेछ । भन्छिन्, ‘पत्रकारिता पढ्ने मेरो भित्रदेखिको इच्छा हो, यही क्षेत्रबाट भविष्य राम्रो बनाउन सकिन्छ भन्नेमा म ढुक्क छु ।’ उनलाई राजनीतिमा पनि रुचि रहेछ । सरकारी कलेज पढ्न आउनुमा त्यो पनि रहेछ । ‘राजनीतितिर हल्का मन लाग्छ’ फिस्स हाँसिन्, ‘प्ल टु पढ्दा सरकारी कलेज आएर बढी राजनीतिलाई नजिकबाट हेर्न पाएकी छु, मज्जा लागिरहेको छ ।’ अहिले आरआर केलजले टियु एफएम स्थापना गरेर सञ्चालन गरिरहेको छ । तर, त्यसबारे सबैलाई थाहा नभएको उनी सुनाउँछिन् । ‘क्याम्पसमा टियु एफएम स्थापना भए पनि धेरैजसो मानिस त्यसबारे अनविज्ञ छ,’ पाठकले सूचना बाँडिन् । तनहुँकै अर्का लोकेन्द्र थापालेचाहिँ अरूको भन्दा फरक कुरा रहेछ । विनाकुनै योजना र सपना पत्रकारिता विषय पढ्न सुरु गरेका रहेछन् उनले । तर, बुझ्दै जाँदा पत्रकारितामा रुचि बढेको छ । ‘विनायोजना र सपना पत्रकारिता विषय पढेको हुँ’ उनले सुनाए, ‘तर अहिले मिडियामा काम गर्न रुचि बढेको छ ।’ पत्रकारितासँगै सूचना प्रविधिको व्यापारमा पनि रुचि छ थापाको । उनले सुनाए, ‘रुचि अरूतिरै छ ।’ के हो त त्यो उनको रुचि ? ‘व्यापार’ भन्छन्, ‘म सूचना प्रविधिसम्बन्धीको अध्ययन पनि गरिरहेको छु, यसबाटै केही गर्छु ।’ गोरखाकी सोनिया मरहठ्ठा पनि पढाइ सकेर ठूलो मिडिया हाउसमा काम गर्ने सुरमा छिन् । भन्छिन्, ‘पत्रकार भएर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास छ ।’
पत्रकारिताका लागि राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस
(आरआर) पहिलो नम्बरमा आउँछ । आरआरबाटै त्रिविमा ०३३ सालमा पत्रकारिता विषय अध्यापन सुरु भएको हो । आरआरमा ०५८ सालदेखि स्नातकोत्तर तहसम्मको पढाइ भइरहेको छ । यस क्याम्पसमा पढेका धेरै विद्यार्थी देशका प्रमुख सञ्चारमाध्यममा राम्रो भूमिकामा काम गरिरहेका छन् । पछिल्लो समयमा निजी कलेजहरूमा आकर्षण बढे पनि विद्यार्थीको कमी भएको छैन । उत्तिकै संख्यामा विद्यार्थीहरू पत्रकारिता अध्ययनका लागि आइरहेको छन् । जो आरआरमा पत्रकारिता पढ्न आएका छन्, उनीहरूमा पत्रकार बनेर केही गर्न सकिन्छ भन्ने दरिलो आत्मविश्वास पाइन्छ । उनीहरू भन्छन्, ‘पत्रकार भएर केही गर्न सकिन्छ ।’

प्रतिक्रिया