काठमाडौं, १५ असार । सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयको ५३औँ वार्षिकोत्सव तनाब र विवादबीच मनाइएको छ । विद्यार्थीले विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कालो झन्डा देखाए भने भिआइपीका लागि छुट्याइएको खानेकुरासमेत पोखिदिएका छन् ।
कडा सुरक्षाबीच त्रिविको वार्षिकोत्सवमा हिँडेका प्रधानमन्त्री डा. भट्टराईलाई नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीले बाटोमै कालोझन्डा देखाएका हुन् । बिहीबार बिहान त्रिवि परिषद्मा कडा सुरक्षा व्यवस्था हुँदाहुँदै मूलगेट छेउमै विद्यार्थीले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएका थिए । भट्टराईले असंवैधानिक सरकारको नेतृत्व छाडेर सहमतिका लागि बाटो खुला गर्नुपर्ने माग गरेर नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
विद्यार्थीलाई भित्र पस्न नदिएर वार्षिकोत्सव मनाएको भन्दै नेविसंघले आपत्ति जनाएको छ । ‘त्रिवि हाताभित्र पसेरै कालोझन्डा देखाउने तयारी थियो, जानै नदिएपछि प्रहरीलाई छलेर गेटमै देखायौँ, नेविसंघका केन्द्रीय सदस्य युपी लामिछानेले भने, ‘विद्यार्थीलाई प्रवेश गर्न नदिएर वार्षिकोत्सव मनाउन खोज्नु लज्जास्पद कुरा हो ।’ लामिछानेले सरकारले कायरताको पराकाष्ठा देखाएको बताए ।
त्रिविसभा तथा कार्यक्रममा सहभागी भएर फर्केपछि पनि विद्यार्थीले विरोध गर्न छाडेनन् । दिउँसो साढे एक बजेतिर प्रधानमन्त्री त्रिविबाट फर्किएपछि विद्यार्थीले अर्को लफडा गरेका थिए । कार्यक्रमपछि सहभागीका लागि तीन ठाउँमा खाजा राखिएको थियो । विद्यार्थीले भिआइपीको खाजा पोखिदिए । सो कार्यमा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रधानमन्त्री त्रिविमा रहुन्जेल विद्यार्थीका तर्फबाट सभासदस्य रहेकाबाहेकलाई प्रवेशमा कडाइ गरिएको थियो । त्रिविका एक कर्मचारीले भने, ‘हामी कर्मचारीलाई समेत कार्यक्रममा आउन धेरै गाह्रो भयो ।’
वार्षिकोत्सवका दिन दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीको ग्रेस लिस्टसमेत पास गर्ने प्रचलन छ । तनाबबीच बसेको त्रिवि सभाले विभिन्न तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षान्तमा सहभागी गराउन ग्रेसलिस्टसमेत पास गरेको छ । बिहीबार ग्रेसलिस्ट पास भएका विद्यार्थीका लागि आगामी पुसमा दीक्षान्त समारोह गर्नेसमेत घोषणा भएको छ । यसअघि ग्रेसलिस्ट पास भएका विद्यार्थीका लागि २४ असारमा दीक्षान्त समारोह गरी दीक्षित गर्ने कार्यक्रम तय भएको छ ।
बिहीबार बसेको सभामा प्रधानमन्त्री भट्टराईले अहिलेको राजनीतिक जटिलता सम्बोधन गर्न प्राज्ञहरू अग्रगामी सोचाइ र विश्लेषणका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले शैक्षिक जनशक्तिको विकासविना नयाँ र समृद्ध नेपालको सम्भावना नभएको बताए । ‘समृद्ध नेपाल निर्माणमा सबैभन्दा जेठो त्रिविले नेतृत्वदायी भूमिका खेल्नुपर्छ,’ उनले भने ।
नेविसंघले आन्दोलन गर्ने
नेविसंघले प्रहरीदमन र त्रिवि पदाधिकारीविरुद्ध आन्दोलन गर्ने भएको छ । केन्द्रीय सदस्य लामिछानेले शुक्रबार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यको बैठक बसी आन्दोलनको घोषणा गर्ने बताए । बिहीबार डिएसपी आभूषण तिमिल्सिनाको नेतृत्वमा प्रहरीले विद्यार्थीमाथि दमन र अत्याचार गरेको भन्दै कारबाहीको माग राखेर आन्दोलन गर्ने र पदाधिकारीका कार्यकक्षमा ताला लगाउने उनको भनाइ छ ।
प्रतिक्रिया