न्यूनतम पारिश्रमिक नपाएको गुनासो

इलाम, १४ असार । इलामका पत्रकारहरूले श्रमजीवी पत्रकार ऐन अनुसार न्युनतम पारिश्रमिक समेत नपाएको गुनासो गरेका छन् ।
श्रमजीवी पत्रकारसम्बन्धी ऐन–नियम कार्यान्वयनका सन्दर्भमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको पहल र अपेक्षा विषयमा सदसमुकाममा आज आयोजना गरिएको अन्तरक्रियामा इलामका पत्रकारहरुले त्यस्तो गुनासो गरेका हुन् ।
उनीहरुले रहरै–रहरमा आफूहरु सञ्चार गृहमा आवद्ध भएको र सञ्चार गृहले समेत नियुक्ति पत्र नदिईकन काम लगाइरहेका कारण पत्रकारहरू शोषित पीडित हुनुपरेको गुनासो गरे ।
स्थानीय दैनिक तथा साप्ताहिक पत्रपत्रिका, एफएम रेडियो र ठूला राष्ट्रिय दैनिक पत्रिकाले समेत पत्रकारलाई न्यूनतम पारिश्रमिक समेत नदिई काम गर्न लगाईरहेको उनीहरुले आरोप छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले ०५१ मा बनेको न्यूनतम पत्रकार सम्वन्धी ऐनलाई ०६४ मा संशोधन गरेर पारिश्रमिक निर्धारण गरिएको जनाए । उनले केही सञ्चार गृहले मात्र समितिले तोकेबमोजिम पारिश्रमिकको व्यवस्था गरेको बताए ।
‘समितिले गरेको अनुगमनका क्रममा ५० प्रतिशत ठूला मिडियाले मात्र पत्रकारलाई समितिले निर्धारण गरे बमोजिम तलब दिएको पाईएको छ’ उनले भने, ‘सूचना विभाग, प्रेस काउन्सिल, सूचना तथा सञ्चार मन्त्रालय र न्यूनतम पारिश्रमिक निर्धारण समितिको संयुक्त अनुगमनले ऐन कार्यन्वयन नगर्ने त्यस्ता सञ्चार माध्यमलाई कारबाही गर्नेछ ।’
समितिका सदस्य चेतन अधिकारीले पैसासँग मात्र जोडेर हेर्न नहुने भन्दै सञ्चार माध्यमले काम गर्ने पत्रकारको सञ्चयकोष, भैपरी आउने विदा समेत अन्य सेवा सुविधा कार्यन्वयन गर्नुपर्नेमा जोड दिए ।
देशभर ३७ प्रतिशत पत्रकारले मात्र समितिले तोकेबमोजिम पारिश्रमिक पाइरहेको उनले बताए ।

प्रतिक्रिया