मातृका नेतृत्वको माओवादी टुक्रियो

काठमाडौं, १३ असार । मातृका यादव नेतृत्वको माओवादी पनि विभाजन भएको छ । यादव नेतृत्वको पार्टीका चार केन्द्रीय सदस्य र २८ जिल्ला सेक्रेटरीले छुट्टै मोर्चा गठन गरेका छन् । पार्टीबाट अलग भएका नेताहरूले ‘संयुक्त क्रान्तिकारी मोर्चा नेपाल’ गठन गरेका छन् । मोर्चाको संयोजकमा अशोक लामा छन् ।
मोर्चाले मंगलबार पत्रकार सम्मेलन गरी यादव एकाधिकारवादी, मनोगत र गोलचक्करवादी भएको आरोप लगाएको छ । मोर्चा संयोजक लामाले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने मूल उद्देश्यसहित पार्टी गठन गरिएको भए पनि यादवको ‘संकीर्ण तथा फुटपरस्त स्वभाव’का कारण आफूहरूले नयाँ मोर्चा गठन गर्नुपरेको बताए ।
०५२ सालमा सुरु भएको जनयुद्ध चुनवाङ बैठक हुँदै १२ बुँदे दिल्ली सम्झौतामा लगेर अवसान गराएको र बृहत् शान्ति सम्झौतासम्म आइपुग्दा पार्टीको अस्तित्व नै समाप्त पारिएपछि आफूहरूले तत्कालीन माओवादी छाडेर यादवको नेतृत्वमा पार्टी गठन गरेको उनको भनाइ थियो ।
‘अहिलेको परिस्थितिमा मालेमावादी सिद्धान्तको रक्षा गर्दै दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न बृहत् क्रान्तिकारी मोर्चा आवश्यक छ,’ उनले भने, ‘त्यसैले हामीले नेकपा (माओवादी) सँग सम्बन्धविच्छेद गरी नयाँ मोर्चा गठन गरेका हौँ ।’
तत्कालीन माओवादीबाट अलग भएर यादवले नेकपा (माओवादी) गठन गरेका थिए । केही दिनअघि मात्र मोहन वैद्यले ‘एकीकृत नेकपा (माओवादी)’ (तत्कालीन माओवादी) छाडेर नेकपा–माओवादी गठन गरिसकेका छन् ।

प्रतिक्रिया