पहिलोपटक स्नातक तहमा पत्रकारिता सबैका लागि खुला

काठमाडौं, १३ असार । अघिल्लो तहमा जुनसुकै विषय लिएका विद्यार्थीले पनि विश्वविद्यालयमा स्नातक तहमा पत्रकारिता अध्ययन गर्न पाउने भएका छन् । त्रिविको प्रवीणता प्रमाणपत्र तह खारेजपछि दस जोड दुईमा अरू विषय पढेर आउनेलाई पनि स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्न खुला गरिएको हो ।
त्रिविको मानविकी संकायका निमित्त डीन प्रा. डा. ताराकान्त पाण्डेले त्रिविमा प्रमाणपत्र तह नभएको र विद्यार्थीहरू दस जोड दुईबाट आउनुपर्ने भएकोले सबै क्षेत्रका लागि स्नातकमा पत्रकारिता खुला गरिएको जानकारी गराए । ‘केन्द्रीय विभाग वा क्याम्पसले कसरी मिलाउने, त्यो व्यवस्था गर्न सक्छन्, हामीले सबै क्षेत्रबाट आउनेका लागि पत्रकारिता अध्ययन खुला गरेका छौँ,’ निमित्त डीन पाण्डेले भने ।
त्रिवि एकेडेमिक काउन्सिलको केही दिनअघि बसेको बैठकले मानविकी संकायमा विद्यार्थी आकर्षण गर्न यस्तो निर्णय गरेको हो । ०३३ सालमा पत्रकारिता विषयको अध्यापन सुरु भएपछि स्नातक तहमा सबैका लागि पहिलोपटक खुला गरिएको हो ।
व्यवस्थापन र मानविकी संकायका धेरै विषय अरू क्षेत्रबाट आउनेका लागि खुला भइसकेको छ । पत्रकारितातर्फ अहिलेसम्म अघिल्लो तहमा पत्रकारिता अध्ययन गरेका विद्यार्थीले मात्र त्रिविमा भर्ना पाउने गरेका थिए । अब भने त्रिविले जुनसुकै संकायबाट दस जोड दुई उत्तीर्ण गरे पनि मानविकी संकायअन्तर्गत स्नातक तहमा पत्रकारिता विषयमा विद्यार्थी भर्ना लिनुपर्ने भएको छ । विज्ञान, व्यवस्थापनलगायत अन्य विषयमा दस जोड दुई उत्तीर्ण गरेका विद्यार्थीले आगामी शैक्षिक सत्रदेखि पत्रकारिता, अंग्रेजी, कला, नेपालीलगायत मानविकी संकायका सबै विषयमा स्नातक तहमा भर्ना पाउने भएका छन् ।
मानविकी संकायमा विद्यार्थी घट्दै गएकाले विद्यार्थी संख्या बढाउन स्नातक तहमा सबै विषय खुला गरिएको पाण्डेले बताए । यस्तै त्रिविले फरक संकायबाट दस जोड दुई उत्तीर्ण गरेका विद्यार्थीले मानविकी संकायअन्तर्गत स्नातक तहमा भर्ना भए आगामी शैक्षिक सत्रदेखि सोही विषयको दस जोड दुईको परीक्षा दिनुपर्ने प्रावधानसमेत हटाएको छ ।
त्रिविका पत्रकारिताका गुरु सहप्राध्यापक लालदेउसा राईले समाजको आकांक्षालाई ध्यानमा राखेर स्नातक तहमा पत्रकारिता विषय सबैका लागि खुला गर्नु सकारात्मक भएको बताए । ‘अहिले आमसञ्चारप्रति युवाको आकांक्षा र आकर्षण बढ्दो छ,’ उनले भने, ‘समयको मागअनुसार परिवर्तन हुँदै जानुपर्छ, आकांक्षा पूरा गर्न पाठयक्रम पनि परिमार्जन
गर्दै लैजानुपर्छ ।’
त्रिविमा रत्नराज्यलक्ष्मी क्याम्पसबाट ०३३ सालमा पत्रकारिता विषय अध्यापन सुरु भएको थियो । ०५८ सालदेखि स्नातकोत्तर तहमा समेत पत्रकारिता विषय पढाइ भइरहेको छ ।

प्रतिक्रिया