सिडिओ र जिशिअले सतर्कता केन्द्रलाई टेरेनन्

नेपालगन्ज, १३ असार । सरकारी निकायबाट हुने काम अनुगमन गर्न आएको राष्ट्रिय सतर्कता केन्द्रको टोलीले जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा फेला पारेका अनियमितताको विवरण ती कार्यालयले दिन अटेर गरेका छन् ।

सतर्कता केन्द्रका अधिकारीले प्रशासन कार्यालयका कर्मचारीको हाजिरी निरीक्षण गर्दा सिडिओ ढुण्डीराज पोखरेल १५ दिनदेखि अनुपस्थित फेला पारेका थिए । ‘हाजिरी रजिस्टरमा प्रजिअ गयल देखिए, रजिस्टरमा हाजिर नगर्नुको कारण पनि उल्लेख थिएन,’ केन्द्रका उपसचिव शेरबहादुर ढुंगानाले भने, ‘तर, हाजिर नगरी अनुपस्थित हुनुको कारणसहित मागेको सूचना प्रशासनले दिन अटेर गर्‍यो ।’
जिल्ला प्रशासन कार्यालयले सिडिओ पोखरेल २४ जेठदेखि तालिममा रहेको तर हाजिरी किताबमा उक्त विवरण मात्र उल्लेख नभएको जनाएको छ । सहायक सिडिओ चक्रपाणि पाण्डेले सिडिओबारे टोलीले कुनै कुरा नसोधेको र निरीक्षणका बेला हाजिर नभएका भनिएका कर्मचारीको विवरण लिखित रूपमा उपलब्ध गराएको बताए ।
जिल्ला शिक्षा कार्यालयले पनि लामो समयदेखि अनुपस्थित देखिएका विद्यालय निरीक्षक केशवराज गौतम, राजेन्द्र शर्मा र विष्णु अधिकारी काजमा रहेको गलत सूचना दिएको अनुगमन तथा निरीक्षण टोलीका अधिकारीले बताए । ‘निरीक्षण गर्दा उनीहरू ३१ जेठदेखि ७ असारसम्म नौ दिन गयल रहेको फेला पारेका थियाँै,’ उपसचिव ढुंगानाले भने, ‘तर शिक्षा कार्यालयले गल्ती ढाकछोप गर्दै ती कर्मचारी काजमा रहेको पत्र दियो ।’

प्रतिक्रिया