केपी ओलीलाई अगाडि बढाउँछौं

काठमाडौं, १२ असार । एमालेका पोलिटब्यूरो सदस्य रघुजी पन्तले कांग्रेसले तत्काल सहमतिमा प्रधानमन्त्रीको उमेदवार अगाडि नसारे स्थायी समिति सदस्य केपी ओलीलाई बैकल्पिक प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पन्तले कांग्रेसले उमेदवारी घोषणा गर्न नसके एमालेले ओलीको नाम औपचारिक रुपमै अगाडि सारर्ने चेतावनी दिए ।
उनले भने, ‘प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रपतिले धेरै समय दिईसकेका छन्, अब दुई तीन दिनमै नयाँ सरकार गठनका लागि आब्हान गर्नु पर्छ ।’
प्रधानमन्त्रीले आफूले राजीनामा नदिने र आफूलाई हटाए माघ–१९ दोहोरिन्छ भनि दिएको धम्किपूर्ण अभिब्यक्ति सत्ता कब्जा रहेको एमाले नेता पन्तको आरोप थियो ।
कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिह केसीले १० दिनभित्र केन्द्रीय कार्यसमितिको बैठक बसेर सहमतिमा प्रधानमन्त्रीको साझा उमेदवारी घोषणा गर्ने बताए ।
उनले कांग्रेसमा अघिल्लो प्रधानमन्त्रीको उमेदवार बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल मध्ये कुनै एक नेता हुने बताए । उनले दुई नेतामा सहमति बन्न नसके तेस्रो ब्यक्ति पनि प्रधानमन्त्रीको उमेदवारी बन्ने बताए ।
उनले तेस्रो ब्यक्ति सभापति सुशील कोइराला हुने वा नहुने बारेमा केही स्पष्ट पारेनन् ।
एमाओवादीका नेता अग्नी सापकोटाले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन पहिला नै दलहरुवीच सहमति भईसकेको बताए । उनले दलहरुवीच सहमति भए कांग्रेसको नेतृत्व आफूहरुलाई स्वीकार्य भएको बताए ।
एमाओवादीको बटमलाईन नै सहमतिको सरकार भएको स्पष्ट पार्दै सापकोटाले सहमति नभई शून्यतामा प्रधानमन्त्रीले कुनै पनि हालतमा राजीनामा नदिने उल्लेख गरे ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका नेता नन्दन दत्तले प्रधानमन्त्री बाबुराम भट्टराई पदमुक्त भएर मुलुकलाई निकास दिनु पर्ने बताए ।

प्रतिक्रिया