पतिको प्राण जोगाउन सडकमा


खेल्ने खाने उमेर † संसारै आफ्नो हो जस्तो अनुभूति † त्यसमाथि विदेश बसेर आएको ‘लाहुरे’ पति पाउने भएपछि २२ वर्षकी विमला भण्डारीको खुट्टा भुइँबाट बित्ता उचालिएझैँ भयो । उनको अनुहार अँध्यारो कोठामा मैनबत्ती सल्काएझैँ चम्किलो भएको थियो । विडम्बना, विमलाको अनुहारको त्यो उज्यालो धेरै दिन टिक्न पाएन । विवाह गरेको वर्षदिन पुग्दानपुग्दै उनको अनुहारको कान्ति पुरै हराएर गयो । रह्यो त केवल निराशा, अत्यास र छटपटी † आज त्यही छटपटीबाट छुटकारा पाउन उनी राजधानीको सडकपेटीमा पोल्टो थापेर बसेकी छन् ।
२५ वर्षीया विमलाका २८ वर्षीय पति बद्री भण्डारीका दुवै मृगौला काम नगर्ने भएपछि उनी सडकमा श्रीमान्को आयु लम्ब्याउन अलाप गरिरहेकी हुन् । धुलाबारी मोरङका बद्रीका दुवै मृगौलाले दुई वर्षयता काम गर्न छोडेका हुन् । तोतेबोली बोल्दै गरेकी छोरीको वास्ता नगरी विमला खुलामञ्चछेउको सडकपेटीमा पतिको जीवनरक्षाका लागि भीख माग्दै बसेकी हुन्छिन् । अचेल हरेक दिनजसो त्यही पेटीको अलिक पल्तिरपट्टि ‘देश बनाउने’हरूको ठूलठूलो गर्जन सुनिन्छ, उनको झिनो र रोदनमिश्रित स्वर भने त्यतैकतै बिलाउँछ । ‘भगवानले पनि नहेरेका हामीलाई कस्ले हेथ्र्यो र †’ कारुणिकता भरिएको आवाजमा विमलाले भनिन् ‘हामी अभागीको त दैव पनि निष्ठुरी हुँदो रहेछ ।’ मृगौला फेल भएको उनका पतिका मात्र होइन, जेठाजु र देवर पनि यही कारण आज उनीसँग छैनन् ।
‘देवरको मृत्यु भएको आज १५ दिन हुँदै छ’, उनले पीडा पोखिन्, ‘काजक्रिया पनि राम्ररी गर्न सकिएन, त्यता लागौँ भने पति पनि नरहलान् भन्ने डर छ ।’ धुलाबारी अस्पतालमा जेठाजु र देवरलाई राख्दा त्यहाँको महँगो उपचारले अब उनको घरखेत पनि बाँकी छैन । उनले भनिन्, ‘वीर अस्पतालमा डायलोसिस गरेको तीन हजार लाग्दो रहेछ, पहिला थाहा नै भएन ।’ विमला सातामा दुईपटक पतिको डायलोसिस गर्न अस्पताल आउँछिन् । त्यसका लागि प्रतिखेप तीन हजार चाहिन्छ । घरखेत हुँदा उनले कहिल्यै सडकमा उभिएर मागिनन् । ‘अब त केही सीप चलेन र यस्तो गरेकी’, विमलाले भनिन्, ‘भएको भए दुनियाँसँग मागेरै किन पतिको उपचार गर्थेँ ?’
पैसा अभावकै कारण डायलोसिस गर्दा आफ्ना पतिको डायलसिस नम्बर ११५ अलि ढिलो बोलाए हुन्थ्योझैँ लाग्दोरहेछ उनलाई । सारा सम्पत्ति सकिँदा पनि देवर नरहेको पीडा एकातिर छ भने अर्कोतिर पतिलाई पनि ‘के पो हुने हो ?’ भन्ने चिन्ताको ज्वालाले विमालाको मन भतभती पोलिरहेको हुन्छ । डाक्टरले मृगौला नै फेर्नुपर्छ भनेका छन् तर विमलालाई डायलसिस पनि केले गर्ने भन्ने रन्को छ  ।
५५ वर्षकी सासू र ६० वर्षका ससुरालाई लिएर तीन देउरानी–जेठानी कोठा भाडामा बस्छन् । उनले भनिन्, ‘छोराहरू एकपछि अर्को गर्दै नरहेको पीरले सासूससुरा आधा भइसक्नुभयो, त्यसमाथि साँझबिहान के खाने, कसरी भाडा तिर्ने भन्ने चिन्ता छ ।’ आफूले जन्माएको सन्तानको पीर कुन आमाबाबुलाई नहोला र ? विमलालाई पनि जेठानीको तीनवर्षे छोरा र आफ्नी दुई वर्षकी नानीको पनि चिन्ता लागिरहन्छ । ‘सडकमा बसेर पतिलाई बचाउने कि नानीबाबुको भविष्य सोच्ने ?’ उनको मथिंगल नै खलबलिएला झैँ हुन्छ ।
‘कसैले सहयोग गरेर मेरा पतिलाई बचाइदिए त नानीको भविष्य बिग्रने थिएन’ आँखाभरि आँसु टिलपिल पार्दै विमलाले भनिन्, ‘त्यस्तो भगवान् कहाँ जन्मिएको होला र ?’ बरु उनले मान्छेको पीडामा खेती गरेर स्वार्थ पूरा गर्नेहरूचाहिँ धेरै भेटेकी रहिछन् । भनिन्, ‘तपाईंका श्रीमान्को उपचारका लागि पैसा उठाइदिन्छौँ भनेर नाम र नम्बर लगे, क्लबका लागि भन्दै पैसा उठाएर खाएछन् ।’ त्यो कुरा कुनै अपरिचित नम्बरबाट ‘तपाईंको पति बिमारी हो ?’ भनेर सोधेपछि उनले थाहा पाइछन् । छुट्टिन लाग्दा उनले भनिन्, ‘सक्नेले सहयोग गरिदिऊन् तर त्यस्तो पापचाहिँ कसैले नगरिदिऊन् ।’

प्रतिक्रिया