‘राजनीतिक निकासमा सरकार बाधक’

काठमाडौ, १२ असार । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमति निर्माणका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल सरकार छाड्नुपर्ने बताएका छन् ।

चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा सोमबारदेखि सुरु दोस्रो ‘सेन्टलरेन्स अन्वेषण बृहत् विज्ञान प्रदर्शनी २०६९’ उद्घाटन गर्दै अध्यक्ष खनालले मुलुकलाई राजनीतिक निकास दिन अहिलेको सरकार बाधक रहेको आरोप लगाए । प्रधानमन्त्रीले चाँडोभन्दा चाँडो बालुवाटार छाड्नुपर्ने र अनि मात्र हामी संवैधानिक संकटलाई पार लगाउँदै नयाँ सहमतिको मार्गमा अघि बढ्न सकिने उनको भनाइ थियो ।
‘सरकारले मंसिरमा नयाँ निर्वाचनको मिति घोषणा गरे पनि त्यसका लागि कुनै पूर्वाधार र सम्भावना छैन,’ खनालले भने । अहिलेको संकटलाई हल गर्न सबै दलबीच सहमतिको कुनै विकल्प नरहेको उनले बताए ।
प्रधानमन्त्री डा.भट्टराईका कारणले देश संवैधानिक संकटमा फसेको आरोप अध्यक्ष खनालले लगाए । ‘अर्को निर्वाचन गराउने बहानामा नयाँ संविधान घोषणा नै नगरी संविधानसभाको अवसान गराइयो । यसबाट जनतामाथि कुठाराघात भएको छ,’ उनले भने । अध्यक्ष खनालले राज्यको पुन:संरचना, खासगरी सीमांकन र नामांकनको मुद्दामा सहमति नजुटेकै कारण संविधानसभा विघटन भएको बताए । यद्यपि, नयाँ संविधानको खाका संविधानसभाको इतिहासमा सुरक्षित रूपमा ‘आर्काइभ’का रूपमा रहेको उनको भनाइ छ ।
खनालले विज्ञान र प्रविधिको विकासले नै मानव सभ्यता यहाँसम्म आइपुगेको बताए । उनले भावी दिनमा विज्ञान र प्रविधिको विकासका माध्यमबाट विद्यार्थीले समाजलाई समुन्नत बनाउने अपेक्षा व्यक्त गरे । ‘यस कलेजका विद्यार्थीमा मैले सोचेभन्दा बढी क्षमता र प्रतिभा रहेछ,’ खनालले भने ।
कलेजमा सोमबारदेखि सुरु भएको बृहत् विज्ञान प्रदर्शनी बुधबारसम्म चल्नेछ । विद्यार्थीमा भएको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले दोस्रोपटक प्रदर्शनी आयोजना गरिएको कलेजले जनाएको छ । ४० भन्दा बढी स्टल समावेश गरिएको प्रदर्शनीका मुख्य आकर्षणमा ‘जिपिएस ट्रयाकिङ सिस्टम’, ‘रिमोट कन्ट्रोल सोलार कार’, ‘होम सेक्युरिटी सिस्टम’ ‘रिमोट कन्ट्रोल प्लेन’, ‘रेन वाटर हार्भेस्टिङ्’ रहेका छन् । कलेजले विगत वर्षमा पनि यस्तै प्रदर्शनी आयोजना गरेको थियो ।

प्रतिक्रिया