भारतीय धानचामल तस्करीले नेपाली किसान मारमा

वीरगन्ज, १२ असार । भारतबाट सस्तो मूल्यमा धान आयात र चोरी–पैठारी भएका कारण पर्साका किसान मारमा परेका छन् । भारतीय धानको भाउ सस्तो भएकाले नेपाली किसानको धानले उचित भाउ नपाएपछि किसान मारमा परेका हुन् ।

भारत सरकारले नै किसानलाई बीउ, मल, विषादी, सिँचाइ, कृषि औजार र कृषि ऋणमा अनुदान दिने गरेका कारण भारतीय धानको लागत खर्च कम परेपछि नेपाली बजारमा भारतीय धान सस्तोमा आयात भइरहेको हो । नेपालमा सरकारले किसानलाई कुनै अनुदान नदिँदा उत्पादन लागत बढी भएको किसान बताउँछन् ।
‘एक क्विन्टल धान उत्पादनका लागि लागत खर्च दुई हजार दुई सय ४५ रुपियाँ छ,’ बिजबनियाँका अभय यादवले भने, ‘बजारमा एक क्विन्टल धानको मूल्य एक हजार ६ सयदेखि एक हजार आठ सय ५० रुपियाँभन्दा बढी छैन ।’ धान उत्पादन भए पनि सस्तोमा बेच्नुपरेको किसानले बताएका छन् ।
‘राज्यले किसानलाई कुनै अनुदान दिएको छैन,’ कृषि विकास कार्यालय पर्साका प्रमुख विजय श्रीवास्तवले भने, ‘मल, बीउ, सिँचाइ, विषादीको जोहो किसान आफैँले गर्नुपरेकाले लागत खर्च बढेको हो ।’
कार्यालयका अनुसार एक क्विन्टल धान उत्पादनका लागि रासायनिक मलको एक सय ८५ रुपियाँ, बीउ ४० रुपियाँ, कीटनाशक विषादी ८० रुपियाँ, जिंक ४० रुपियाँ, जोताइ, मल छर्ने, सिँचाइ, गोडमेल, बाली काट्ने, खेतदेखि घरसम्म ढुवानी, दाइँ र कृषि औजार भाडामा जनश्रम एक हजार नौ सय रुपियाँ खर्च हुन्छ ।
तर, भारतमा सरकारी अनुदान यथेष्ट उपलब्ध भएका कारण एक क्विन्टल धान उत्पादनका लागि एक हजार दुई सयदेखि एक हजार तीन सय नेपाली रुपियाँ मात्र लाग्ने गरेको छ । भारतीय बजारमा धान प्रतिक्विन्टल एक हजार चार सय रुपियाँमा खरिद–बिक्री भइरहेका कारण बढी मूल्य पाउने लोभमा भारतीय किसान र व्यापारी नेपाली बजारतर्फ आकर्षित भएका हुन् ।
वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १६ हजार एक सय ५८ मेट्रिक टन धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । यसका साथै ग्रामीण क्षेत्रका नाका हुँदै अवैधद रूपमा पनि भारतबाट धानको आयात भइरहेको छ । पर्साको ग्रामीण क्षेत्र बुडगाइँ, जानकीटोला, पाडेपुर, दशौतालगायत नाकाबाट प्रहरीको मिलेमतोमा धानको आयात भइरहेको छ । हरेक नाकाबाट दिनहँु १२ ट्रयाक्टरभन्दा बढी भारतीय धान अवैध आयात भइरहेको छ ।
सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीलाई धानका व्यापारीले प्रतिट्रयाक्टर एक हजार रुपियाँ घुस दिने गरेका छन् । अवैध रूपमा भित्र्याइएको धानलाई आर्थिक नजराना लिएर गाविस सचिवले पनि नेपाली धान भनेर सिफारिस गरिदिने गरेका छन् । गाविस सचिवले कारोबारीसित प्रतिट्रयाक्टर चार सय रुपियाँ असुल्ने गरेको स्थानीयले आरोप लगाए । गाविस सचिवले नेपाली धान भनेर सिफारिस गरिदिएपछि भारतीय धानका कारोबारीले निर्वाध रूपमा वीरगन्ज औद्योगिक करिडोरमा रहेका चामल मिलमा भारतीय धान ल्याउने गरे पनि नेपाली किसानको धान बिक्रीमा समस्या आएको हो ।
वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव सुबोध गुप्ताले भने, ‘भारतीय धान ९० प्रतिशत धान भन्सार राजस्व तिरेर र १० प्रतिशत धान ग्रामीण क्षेत्रका नाकाबाट अवैध रूपमा आयात भइरहेको छ ।’ भारतीय धान सस्तोमा खरिद गर्न पाएका कारण चामल मिलका सञ्चालकले नेपाली किसानका धानलाई उपेक्षा गर्दै आएका छन् ।
‘सस्तोमा भारतीय धान किनेर हामीमाथि अन्याय गरिएको छ,’ भौराटारका रामाशीष महतोले भने, ‘धान बेच्न जाँदा अनेक खोट देखाएर सस्तोमा लिन खोज्छन् ।’ वीरगन्ज उद्योग वाणिज्य संघका अनुसार वीरगन्ज औद्योगिक करिडोरमा झन्डै एक सय ५० चामल मिल सञ्चालनमा छन् । अधिकांश चामल मिल रानीघाट, रामगढवा, बिन्दवासिनी, बहुअर्वाभाठा, भौराटार र गर्दौलमा छन् ।
पछिल्लो समय वीरगन्ज नाकामार्फत भारतबाट धानभन्दा पनि चामल बढी आयात भइरहेकाले नेपाली किसान झन् मर्कामा परेका छन् । चामल आयात भएका कारण अधिकांश चामल मिलले धान खरिदमा कटौती गरेका छन् भने कतिपय चामल मिल बन्दै भएका छन् । संघका महासचिव गुप्ताले भारतबाट अनियन्त्रित रूपमा चामल आयात भएका कारण यहाँका ५० भन्दा बढी चामल मिल बन्द भएको बताए । सञ्चालनमा रहेका मिलले पनि २० देखि ३० प्रतिशत मात्र धान खरिद गरिरहेका छन् । गुप्ताले भने, ‘राज्यको गलत नीतिका कारण राइस मिलमा गरिएको अर्बौंको लगानी डुब्ने स्थितिमा छ । अनि किसान पनि मारमा परेका छन् ।’ उनले भारतबाट चामलको आयातमा पूर्णरूपमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।

प्रतिक्रिया