प्रधानाध्यापकविरुद्ध विद्यार्थी आन्दोलित

राजविराज, १२ असार । निमित्त प्रधानाध्यापकको अनियमितताविरुद्ध कञ्चनपुरका विद्यार्थी सोमबारदेखि आन्दोलित भएका छन् । उनीहरूले विद्यालयको पठनपाठनलगायत विषयमा निमित्त प्रधानाध्यापक जिम्मेवार नभएको आरोप लगाउँदै आन्दोलन सुरु गरेका हुन् ।

विद्यार्थीले कन्चनपुर बजार बन्द गराउँदै पाँच घन्टा यातायातसमेत अवरुद्ध पारेको स्थानीय मनोज चौधरीले बताए । विद्यालयमा नियमित पठनपाठन सञ्चालन, पाठ्यपुस्तक उपलब्ध, छात्रवृत्तिलगायत सुविधामा पारदर्शिताको माग गरेर विद्यार्थीले आन्दोलन गरेका हुन् ।
विद्यार्थीले आइतबार निमित्त प्रधानाध्यापक महेन्द्र यादवलाई मोसो दल्नुका साथै विद्यालयमा तालाबन्दी गरेका थिए । विद्यालयको अनियमितता र अस्तव्यस्ततालाई सुधार गरी पठनपाठन नियमित गर्नुपर्ने मागसहित कार्यालयमा जाँदा सार्वजनिक मुद्दा दर्ता गरी प्रहरीको जिम्मा लगाउने धम्की दिइएपछि आक्रोशित विद्यार्थीले आन्दोलन सुरु गरेको स्थानीय प्रकाश खतिवडाले बताए । विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेर राजमार्ग अवरुद्ध पारेपछि शिक्षा कार्यालयले समस्या समाधानको प्रयास सुरु गरेको जनाएको छ । शिक्षा अधिकारी रुद्रहरि भण्डारीले दोषीलाई कारबाही गरेर विद्यालय सुचारुका लागि प्रयास सुरु भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया