विश्व विजेता स्पेन पोर्चुगलसित भिड्ने

किभ, ११ असार । आफ्नो वास्तविक लयमा आउन बाँकी नै रहेको डिफेन्डिङ च्याम्पियन तथा विश्वविजेता स्पेन युरोकप २०१२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्‍यो । स्पेनका लागि दुवै गोल जाभी अलान्सोले गरे । स्पेनको वास्तविक परीक्षण क्रिस्टियानो रोनाल्डोसहितको पोर्चुगलसँग हुने सेमिफाइनलमा नै हुनेछ । ‘ठूला प्रतियोगितामा यस चरणपछिका सबै खेल तानवग्रस्त हुन्छ । जसले जित्ने काइदा जानेको हुन्छ । त्यसै अघिल्लो चरणमा पुग्छ,’ पोर्चुगलसँगको खेलको बारे स्पेनका प्रशिक्षक भिसेन्टे डेल बोस्क्युले भने ।
अगाडि ६ जनाको आश्चर्यजनक मिडफिल्डरको जमातले गोल नगरे पनि १ सयौं अन्तर्राष्ट्रिय खेल खेलिरहेका रक्षात्मक मिडफिल्डर अलान्सोले खेलको सुरुवातमै हेड गोल गरे भने खेलको अन्त्यमा पेनाल्टीमा गोल गरे । ‘मैले मेरो सैयौँ खेल, सेमिफाइनल प्रवेश र मेरा दुई गोलका बारे ध्यानै दिइनँ’ अलान्सोले भने, ‘आशा गरौं मेरो १ सय १ औं खेल झनै राम्रो हुनेछ ।’ स्पेनले बुधबार पोर्चुगलसँग सेमिफाइनल खेल खेल्नेछ । रोनाल्डोले आफ्नो खेलमा प्रत्येक दिन सुधार गरेको अवस्थामा सफलता पाउन स्पेनले पनि आफूलाई सुधार्न आवश्यक देखिन्छ ।
फ्रान्सविरुद्धको क्वार्टरफाइनलको पहिलो गोल स्पेनिस फुटबलको पयार्य मानिएको आकर्षक वान टन पासको पुरस्कारका रूपमा रहेको थियो । इनेस्टाले जोडी अल्बालाई बल उपलब्ध गराइदिए पछि अल्बाले परफेक्ट क्रस गरे । अलान्सोले फ्रान्सको रक्षकहरूलाई कुनै मौकै नदिई उत्कृष्ट हेड गरे । इन्जुरी समयमा फ्रान्सका रक्षक एनथोनी रेबीलेंग्रेले वैकल्पिक फरवार्ड पेड्रोलाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । अलान्सोले हुगो लोरिसले डाइभ गरेको उल्टोतिर पेनाल्टी प्रहार गरेका थिए । ‘उसलाई आफूलाई कसरी प्रस्तुत गर्ने राम्रोसँग थाहा छ । ऊ हाम्रो आक्रमणको एउटा महत्त्वपूर्ण आधार हो,’ अलान्सोको बारे डेल बास्क्युले भने ।
कुनै पनि प्रतियोगिताको सातौं खेलमा स्पेनको फ्रान्समाथि यो पहिलो जित हो । तर, खेलमा फ्रान्स प्रतिस्पर्धीभैंm पनि देखिएन । फ्रान्सले एकपटक मात्र गोलपोस्टमा आक्रमण गर्‍यो । ‘खेल हारेपछि धेरै कुरा नराम्रो लाग्छ तर मेरा केटाले राम्रो खेले । स्पेनसँग खेल्न त्यसै पनि गाह्रो हो । हामीले उनीहरूलाई बायाँ फ्लान्कबाट आक्रमण गर्न रोक्यौं । जुन उनीहरूको मुख्य आधार हो,’ फ्रान्सका प्रशिक्षक लाउरेन्ट ब्लान्कले भने । खेल अवधिभर फ्रान्सको डरलाग्दो आक्रमण एकपटक रह्यो । ३२ औं मिनेटमा इभान कोबायाको डरलाग्दो फ्रिकिक स्पेनिस गोलरक्षक आइकर कासिलासले मुस्किलले बचाए ।
‘उनीहरूको पहिलो राम्रो मुभमा नै गोल भयो । यदि पहिलो हाफ सकिँदा गोलरहित भएको भए दोस्रो हाफको खेल अर्कै हुन सक्थ्यो,’ ब्लान्कले भने । सन् २००६ को विश्वकपपछि फ्रान्स पहिलोपटक कुनै प्रतियोगिताको पहिलो चरण पार गर्न सफल भएको हो । सुरुवातमै फ्रान्स रक्षात्मक रहेको थियो भने स्पेनले उनीहरूको हाफमा बललाई आफ्नो नियन्त्रणमा राखेको थियो । छैटौं मिनेटमा ग्लेम किचीले सेस फाब्रिगासलाई लडाए पनि स्पेनले पेनाल्टी पाएन । इटालीसँग गोलरहित बराबरीमा सकिएको खेलको सुरुमा मुख्य स्ट्राइकर नखेलाई मिडफिल्डरलाई प्राथमिकता दिएको कारण आलोचित डेल बोस्क्युले फ्रान्ससँग पनि त्यसै नीति लिए । उनको नीति उपयोगी पनि भएको थियो ।
१० औं मिनेटमा इनेस्टाले अदिल रामीलाई पार गर्दै राम्रो बल उपलब्ध गराए पनि फाब्रिगासले त्यो बल भेटेनन् । करिम बेन्जामाले ठूला प्रतियोगितामा पहिलो गोल गर्ने प्रयास गर्दै तेज गतिमा खेले पनि उनको मिहिनेतले स्पेनी रक्षकलाई फाटफुट मात्र व्यस्त बनायो । ३२ औं मिनेटमा मालाउडाको पास लिएर उनलाई फल प्रहार भएपछि नै कोबायाले राम्रो फ्रिकिक प्रहार गरेका थिए ।

मिडियाविरुद्ध खनिए नास्री 

एजेन्सी
वार्सा, ११ असार । युरोकप २०१२ अन्तर्गत शनिबार भएको क्वार्टरफाइनल खेलमा फ्रान्स स्पेनसँग २–० ले पराजित भएपछि फ्रान्सका समीर नास्री पत्रकारमाथि खनिए ।
‘फ्रान्सले किन हार्‍यो, तपाईंलाई के लाग्छ ?’ भनी सोधिएको प्रश्नमा नास्री फ्रान्सेली समाचार समिति (एएफपी) का प्रतिनिधिविरुद्ध खनिएका हुन् । नास्रीबाट दुव्र्यवहार गरिएका उनी तिनै पत्रकार हुन्, जसले गत फेब्रुअरीमा नास्रीको अन्तर्वार्ता लिएका थिए र उनीबारे आलोचनात्मक लेख प्रकाशित गरेका थिए ।
यस समाचारले नास्रीकी बिरामी आमालाई दु:खित बनाएको थियो । यही विषयलाई इंगित गरी नास्रीले जारी युरोकपअन्तर्गत समूह चरणको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच भिडन्तपछि टेलिभिजन क्यामरातर्फ औंला तेस्र्याएर ‘तपाईं आफ्नो मुख बन्द गर्नुस्’ भनेका थिए । नास्रीले तिनै एएफपी पत्रकारलाई इंगित गरी सो वाक्य बोलेका थिए ।
शनिबार स्पेनविरुद्धको खेलपछि नास्रीले उक्त विषयलाई झिकेर ती पत्रकारलाई बाहिर हिँड्न र समस्याको समाधान गर्न भनेका थिए । आफू खेलबारे बोल्न नचाहेको उल्लेख गरेपछि नास्रीविरुद्ध खनिँदै ती पत्रकारले उनीसँग भएको अन्तर्वार्ताका हरेक विषय उनलाई सम्झाएर विवाद सम्झाउने प्रयास गरेका थिए । तर, नास्रीले अश्लील शब्द प्रयोग गरी उनलाई गाली गर्न थाले र त्यहाँबाट बाहिरिन खोजे । त्यसपछि ती पत्रकार नास्रीलाई ‘त्यसो भए तिमीले केही भन्नु छैन भने यहाँ देखा नपर’ भनी आक्रोशित भएका थिए ।
पत्रकारको उक्त प्रतिक्रियालगत्तै नास्रीले फनक्क फर्किएर भने, ‘तिमीले मलाई यहाँ देखा नपर भन्यौ हैन ? ठीक छ, तिमी मसँग आऊ बाहिर गएर समाधान गरौं ।’ त्यसलगत्तै ती पत्रकारले ‘हुन्छ’ भनेका थिए । त्यसपछि पनि नास्री निकै आक्रामक भए र उनले अश्लील शब्द प्रयोग गरी ती पत्रकारलाई गाली गरे । यसबारे फ्रान्सका प्रशिक्षक लाउरेन्ट ब्लांले नास्री र पत्रकारबीचको व्यक्तिगत रिसइबीका कारण उक्त घटना भएको भन्दै त्यसबारे केही बोल्न चाहेनन् ।

प्रतिक्रिया