पोल गाडेको दस वर्षमा पनि बत्ती बलेन

नेपालगन्ज, ११ असार । राप्तीपारिको बघौडा क्षेत्रका सर्वसाधारणको घरअगाडि बिजुलीको पोल गाडेको दस वर्ष बितिसकेको छ । तर, उनीहरूले बत्ती भने अझै पाएका छैनन् । स्थानीयवासी भने एक दशकदेखि पोल हेरेरै बिताउन बाध्य भएका छन् ।कलाफाँटा गाविस–७ का मोहन सिंहले घरनजिक बाटो किनारमा गाडिएको विद्युत् पोल हेर्न थालेको १३ वर्ष पुगेको बताए । पोल गाडिएको यतिका समय भए पनि सिंहको घरमा बिजुली बत्ती बाल्ने चाहना पूरा हुन सकेको छैन ।

विद्युत् सेवा नपुग्दा राप्तीपारिका कालाफाँटा, नरैनापुर, कटकुइँया गाविसका सर्वसाधारण अन्धकारमै बस्न बाध्य छन् । नरैनापुरका बुधै यादवले वर्षांै पहिले गाडिएका विद्युत्का पोल जीर्ण भइसक्दा समेत विद्युत्् विस्तार नभएपछि उज्यालोमा बस्ने आशा मारेको बताए । विद्युत्् सेवा नहुँदा आफूहरू टिभी, मोवाइल फोनलगायतका विद्युत्ीय उपकरण प्रयोगबाट वञ्चित भएको उनको भनाइ छ । उनले विद्युत् विस्तारको काम तत्काल सुरु नगर्ने हो भने गाडिएको पोल उखेलेर लैजान सम्बन्धित निकायसँग आग्रह गरे ।
विकट क्षेत्र मानिने गाविसमा सरकारले १३ वर्ष पहिले पोल गाडेको थियो । टेन्डर आह्वानको विषयमा राजनीतिक दलबीच विवाद हुँदा विद्युत्् विस्तारको कार्य रोकिएको राप्तीपारि विद्युत्् विस्तार समितिका अध्यक्ष अवधराम थारूले बताए  ।
राप्तीपारि ४६ करोड रुपियाँको लागतमा ३३ केभी लाइन विस्तार कार्य सुरु भए पनि हाल सो कार्य अवरुद्ध छ । कोहलपुरबाट धामपुर सबस्टेसनसम्म ३३ केभीको लाइन विस्तारको जिम्मा पाएका ठेकेदार राजेन्द्र मिश्रले तोकिएको समयभन्दा दुई वर्ष म्याद नाँघिसक्दा पनि कार्य सम्पन्न गर्न सकेका छैनन् ।
विद्युत्् विस्तारको काम गर्न नसकेका मिश्रालाई सबस्टेसनबाट गाउँगाउँसम्म लाइन विस्तार गर्न थप १० करोडको टेन्डर दिइएपछि विवाद उत्पन्न भएको थियो । सबस्टेसनसम्म तार विस्तारको कार्य गर्न नसक्ने ठेकेदारले गाउँगाउँमा विद्युत् विस्तारको कार्य गर्न नसक्ने थारू बताउँछन् ।

प्रतिक्रिया