पौडेल हत्यामा संलग्नलाई सर्वस्वसहित जन्मकैद

चितवन, ११ असार । कारागारभित्र कुटपिटपछि मारिएका नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलका भाइ गोपी पौडेलको हत्यामा संलग्न भएको अभियोग लागेका तीनलाई जिल्ला अदालत चितवनले कसुर ठहर गरी सर्वस्वसहित जन्मकैदको सजाय फैसला गरेको छ ।

न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले तीन वर्षअघि हत्या गरिएका पौडेलका हत्यामा संलग्न दुईलाई पााच वर्ष र दुईलाई ६ महिना कैद सजाय फैसला गरेको छ । पौडेलको २ जेठ ०६६ मा भरतपुरमा हत्या भएको थियो । अदालतले अमृत गुरुङ, शरण गुरुङ र छोइला भनिने सुरज श्रेष्ठलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । त्यसैगरी, सुनील केसी र फणिन्द्र श्रेष्ठलाई पाँच वर्ष कैद सजाय तोकिएको छ । नेकपा (एमाले)को भातृसंगठन युवा संघका कार्यकर्तासमेत रहेका प्रकाश रेग्मी र योगेन्द्र केसीलाई अदालतले ६ महिना कैद सजाय तोकेको छ । रेग्मी र केसीले यसअघि नै घटनामा संलग्न भएको अभियोगमा कैद सजाय भोगिसकेका छन् । उनीहरू दुवै थुनामुक्त छन् ।
अदालतका स्रेस्तेदार बन्धुप्रसाद बरालका अनुसार घटनामा संलग्न भएको अभियोग लागेका रवीन्द्र श्रेष्ठसहित आठजनाले सफाइ पाएका छन् । अदालतमा हत्यामा संलग्न भएको अभियोगमा १८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । अभियोग लागेका बादल गुरुङको पनि मृत्यु भइसकेको छ । स्रेस्तेदार बरालले फरार रहेका शम्भु थापा र रेशम थापाको मुद्दा मुल्तबी गरिएको बताए ।
मुद्दामा जिल्ला न्यायाधिवक्ता सञ्जीवराज रेग्मी र सहायक न्यायाधिवक्ता रामचन्द्र शर्माले वादीका तर्फबाट बहस गरेका थिए भने अधिवक्ता कृष्णभक्त पोखरेल, कमलराज पाठक, गोपीलाल देवकोटा, जगन्नाथ भडारी र झविश्वर गुरुङले प्रतिवादीका तर्फबाट बहस गरेका थिए ।

प्रतिक्रिया