टिटीमा फेरि चतुरानन्द

काठमाडौं, १० असार । अखिल नेपाल टेबलटेनिस संघको अध्यक्षमा चतुरानन्द वैद्य चार वर्षका लागि निर्वाचित भएका छन् । संघको गत फागुन २७ गते चौथो साधारणसभा भए पनि केन्द्रीय कार्य समिति चयन गर्न नसकेपछि साधारणसभा स्थगित भएको थियो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको निर्वाचनले चतुरानन्दको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्य समितिसमेत चयन गर्‍यो ।
अध्यक्षका लागि तीनजनाले उम्मेदवारी दिएकोमा चतुरानन्द सर्वाधिक २६ मत ल्याउँदै विजयी भएका हुन् । सुदिल शाहीले १९ तथा पंकज सापकोटाले १७ मत पाए । दुई उपाध्यक्षका लागि पाँचजनाको उम्मेदवारी परेकोमा धर्ममान वज्रचार्य (३९ मत) तथा वृजेन्द्र हमाल (३७ मत) ले बाजी मारे । महासचिवमा २४ मत ल्याएका कुबेरप्रकाश सिंह विजयी भए । उनका प्रतिद्वन्द्वी वसन्तराम नकर्मीले २० तथा सुजिता मानन्धरले १८ मत प्राप्त गरे । सचिवमा शंकर गौतम निर्विरोध भए । उनी निर्विरोध हुने एक्लो उम्मेदवारसमेत बने । कोषाध्यक्षमा तेजेन्द्रसिंह महराले ४७ मत ल्याउँदै विकास घिमिरेलाई पछि पारे । महराले अन्य सबै उम्मेदवारभन्दा बढी मत प्राप्त गरेका थिए । विकासले मात्र १४ मत हासिल गरे ।
सुशीलकुमार पौडेल (४६ मत), सन्ध्या शाक्य (४६ मत), साफ स्वर्ण विजेता सिजरिन शाह (४४ मत), नवीनबहादुर सिंह (३७ मत) तथा सुवास श्रेष्ठ (३५ मत) सदस्यमा निर्वाचित भए । पाँच सदस्यका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अब ३ उपाध्यक्ष र ५ सदस्यको मनोनयनपश्चात् केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ ।

प्रतिक्रिया