रणनीति नै कमजोर

काठमाडौं, १० असार । अन्तर्राष्ट्रिय फुटबलमा नेपालको सधैँ एउटै नियति हुने गरेको छ, ‘राम्रो प्रदर्शन गर्नु तर नतिजा आफ्नो पक्षमा पार्न नसक्नु ।’ स्वयं दक्षिण एसियामा नेपालको प्रभाव निकै पुरानो हो तर अहिलेसम्म नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप जित्न सकेको छैन ।
अबको सिनियर टोलीका रूपमा हेरिएको नेपाली यु–२२ राष्ट्रिय टोलीले भर्खरै एसियन च्याम्पियनसिपको छनोटमा चार खेलमा एकमा मात्र जित हात पार्‍यो । दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई हराउनुबाहेक जोर्डन, उज्वेकिस्तान र यमनविरुद्ध खेलिएका अन्य खेलमा भने नेपाल पराजित भयो । उमेरस्तरको भए पनि नेपाली टोलीमा करिब एक दर्जन सिनियर राष्ट्रिय टोलीका सदस्य थिए । ‘नेपाली खेलाडीले मिहिनेत गरे, प्रयास गरे’ भन्ने चर्चा चल्दै यो अवसर पनि नेपालबाट टाढियो ।
हुन त जोर्डन र उज्वेकिस्तान नेपालभन्दा बलिया देखिए । तैपनि, उज्वेकिस्तानविरुद्ध नेपाली टोलीले गरेको प्रदर्शन अंक लिन हकदार थियो । २–० ले पछि परेको स्थिति उल्ट्याएर नेपालले उक्त खेललाई २–२ को स्थितिमा ल्याइपुर्‍याए पनि दोस्रो हाफमा आफ्नै गल्तीले दुई गोल सामना गर्‍यो र ४–२ ले पराजित भयो । समूहको दोस्रो खेलमा यमनविरुद्ध त नेपालले जितको हकदार भएर प्रदर्शन गर्‍यो तर एक गोल व्यहोरेर यमनलाई पूरा तीन अंक सुम्पियो ।
लगातार दुई खेलमा पराजित भएपछि छनोट चरण पार गर्ने सम्भावनाबाट टाढिएको नेपालले जोर्डनविरुद्ध भने निकै कमजोर प्रदर्शन गर्‍यो र भाग्यवश मात्र ३–० ले पराजित भयो । जोर्डनले आधा दर्जनभन्दा बढी अवसरलाई त सदुपयोग नै गर्न सकेन । यस खेलमा नेपालले एउटा पनि प्रभावशाली अवसर सिर्जना गर्न सकेन ।
समग्रमा यस नतिजासँगै नेपाली फुटबलको पुन एकपटक आलोचना भएको छ । रणनीति बनाउन नसकेको, आफूसँग भएको स्रोतलाई प्रयोग गर्न नसकेको, खेलाडी क्षमताअनुसार उनीहरूलाई खेलाउन नसकेको भनी विशेषत: प्रशिक्षक कृष्ण थापाको आलोचना भयो । हुन पनि नेपालको चारवटै खेलमा प्राय: ‘एउटै सेट’ उत्रियो । अन्तिम खेलमा गोलकिपर विशाल श्रेष्ठको ठाउँमा दिनेश थापा र डिफेन्डर रवीन श्रेष्ठको स्थानमा सर्विन्द्र खेल्नुबाहेक अन्य खेलमा सुरुवाती सेट एउटै थियो ।
गणेश खड्का, दिनेश कार्की, रोशन लामिछानेलगायत निर्णायक बन्न सक्ने खेलाडीले वैकल्पिकका रूपमा समेत अवसर पाएनन् । प्राय: सबै खेलमा कमजोर प्रदर्शन गरेका शिव श्रेष्ठलाई भने सुरुवाती सेटबाट कहिल्यै हटाइएन । उज्वेकिस्तानविरुद्धको खेलमा २–० ले पछि पर्दा कमजोर प्रदर्शन गरिरहेका गोलकिपर विशाललाई विस्थापन गरिएन र उनकै गल्तीले नेपालले पराजय बेहोर्‍यो । ‘बेन्चमा खेलाडी नै नभए जसरी’ प्रशिक्षक थापाले एउटै सेटलाई उतारेकोमा अन्य प्रशिक्षकहरूबीच पनि उनको कार्यक्षमताको आलोचना भयो । विशेषत: थापाले रणनीति बनाउन नसकेको उनीहरूको आरोप छ । स्वयं थापा पनि स्वीकार गर्छन्, ‘हामी रणनीतिक हिसाबले चुक्यौं ।’
उज्वेकिस्तान र जोर्डनसँग अंक बाड्ने र बंगलादेश तथा यमनबाट पूरा तीन अंक लिने योजनाका साथ भिडेको नेपालले त्यसका लागि आवश्यक योजना भने बुन्न सकेन । आक्रामक बन्ने कि रक्षात्मक बन्ने भन्नेमै प्रशिक्षक थापा अन्योलमा रहेको देखिन्थ्यो । स्वयं उज्वेकिस्तान र जोर्डनविरुद्धका खेलमा समेत नेपालले चार डिफेन्डर उतारेको थियो ।
एउटा यथार्थ के हो भने इंग्लिस प्रशिक्षक ग्राह्म रोबर्टसले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याएको चर्चा सेलाउन नपाउँदै पुन: नेपाली टोलीले कमजोर नतिजा निकाल्यो ‘आफ्नै कारणले’ । र ‘रियल चान्स’ हुँदाहँुदै नेपाल फेरि अर्कोपटक प्रयास गर्ने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया