पाकिस्तानद्वारा नेपाल आठ विकेटले पराजित


क्वालालाम्पुर, १० असार । मलेसियामा शनिबारदेखि सुरु एसियाली क्रिकेट काउन्सिल (एसिसी) यु–१९ एसिया कपमा नेपाल पहिलो खेलमा पाकिस्तानद्वारा आठ विकेटले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५६ रन जोडेको थियो ।
अपेक्षाकृत तबरले प्रभावकारी मानिएको नेपाली बलिङ असफल भएपछि टेस्ट मान्यताप्राप्त पाकिस्तान ३७.३ ओभरमै विजयी भयो । पहिलो विकेटका लागि ९८ रनको साझेदारी गरी पाकिस्तानले नेपालविरुद्ध गतिलो सुरुवात गरेको थियो । विजयी टोलीका लागि प्रारम्भिक ब्याट्सम्यान सामी अस्लमले ८२ रनको योगदान गरे । अर्का प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान बाबर आजम व्यक्तिगत ४८ रन जोड्दा स्पिनर राहुलकुमार विश्वकर्माको बलमा स्टम्प भएका थिए । आजमले दोस्रो विकेटका लागि इमाम उल हकसँग २९ र तेस्रो विकेटका लागि उमर वाहिदसँग अविजित ३० रनको साझेदारी गरेका थिए ।
खेल सकिनुअघि १ सय १५ बल सामना गरेका आजमले १२ चौका प्रहार गरे । उनी ‘म्यान अफ दि म्याच’ भए । नेपालका तर्फबाट सागर पुन र अविनाश कर्णले कसिलो बलिङ गरेका थिए भने बाँकी पाँच बलरले पाँचभन्दा बढी रन औसतमा बलिङ गरेका थिए । सागरले १० ओभरमा दुई मेडन राखेर २४ रन खर्चिंदै एक विकेट हात पारे । त्यस्तै अविनाशले पाँच ओभर बलिङ गर्ने क्रममा एक मेडन राखेर १२ रन खर्चिए । जितसँगै पाकिस्तानले यसअघि नेपालसँग यु–१९ स्तरमा भएको एक मात्र भिडन्तमा बेहोरेको हारको बदला लियो । सन् २००२ मा बंगलादेशमा भएको आइसिसी यु–१९ विश्वकपमा नेपालले पाकिस्तानलाई हराएको थियो । नेपाल पछिल्ला क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसकेपछि सामान्य योगफलमा सीमित भएको हो । कुनै समय १०१–४ को स्थितिमा रहेको नेपाल १४३–६ को स्थितिमा पुगेको थियो । नेपालका अन्तिम चार ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पहिलो विकेटका लागि १६ रनको साझेदारी गरी नेपालले आफ्नो चुनौती प्रस्तुत गरेको थियो ।
पहिलो विकेटका रूपमा विकेटकिपर सुभाष खकुरेल (६) आउट भएपछि अर्का प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरी (१८)ले दोस्रो विकेटका लागि नरेश बुढाएर (३४) सँग ३३ रनको साझेदारी गरी पाकिस्तानलाई दबाबमा राखे । सागर पुन व्यक्तिगत ६ रन जोडेर आउट भएपछि नेपाल ६१–३ को स्थितिमा पुगेको थियो ।
नरेशले चौथो विकेटका लागि पृथु बाँस्कोटा (२८) सँग ४० रनको साझेदारी गरे । चौथो विकेटका रूपमा नरेश रन आउट भएपछि मध्यक्रमका ब्याट्सम्यान राजेश पुलामीमगरले २३ र राहुलले १३ रनको योगदान गरे । भुवन कार्की खाता नखोली रनआउट भए भने व्यक्तिगत दुई रन जोड्दा अविनाश कर्ण पनि रनआउटकै सिकार भए । सौरभ खनाल एक रन जोडेर पेवेलियन फर्किए । नेपालले आइतबार मलेसियासँग खेल्नेछ ।
पाकिस्तान विजयी भएको दिन टेस्ट मान्यताप्राप्त देशका सबै टोलीले पनि प्रभावपूर्ण जित हात पारे । नेपाल रहेको समूह एको अर्को खेलमा भारतले मलेसियालाई आठ विकेटले पराजित गर्‍यो । टस हारी ब्याटिङको निम्ता पाएको मलेसिया ३९.३ ओभरमा १ सय २६ रनमा सीमित भयो । भारतका लागि विकास मिश्राले चार विकेट लिए । रस कलरिया र कप्तान उन्मुक्त चन्दले समान दुई विकेट हात पारे । भारतले प्राप्त लक्ष्य ३१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । विजयी टोलीका लागि उन्मुक्तले ३७ र बाबा अपराजिथले ३८ रनको योगदान गरे । मनन भोराले २६ र विजय जोलले २० रन बनाए ।
समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलंकाले अफगानिस्तानलाई चार विकेटले हरायो । टस जिती ब्याटिङ गरेको अफगानिस्तानलाई १ सय २९ रनमा सीमित गरेको श्रीलंकाले ३६.४ ओभरमा प्राप्त लक्ष्य पूरा गर्‍यो । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा थारिन्डा कौसलले चार तथा लियानाराच्चीले तीन विकेट लिए । सोही समूहको अर्को खेलमा बंगलादेशले कतारलाई ३ सय २८ रनले पराजित गर्‍यो । ३ सय ६४ रनको लक्ष्य पछ्याएको कतार ११.४ ओभरमा ३५ रनमा सीमित भयो । एजेन्सी

एकजनाले बनाए २०९ रन, अर्काले लिए नौ विकेट
एसिसी यु–१९ एसिया कपमा बंगलादेशका दुई खेलाडीले पहिलो दिन सनसनी मच्चाएका छन् । कतारविरुद्धको खेलमा बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान सौम्य सरकारले २ सय ९ रनको व्यक्तिगत इनिङ खेले । लोकेशको बलमा सइद खानद्वारा क्याच आउट हुनुअघि सरकारले १ सय ३५ बलमा २७ चौका र आठ छक्का प्रहार गरे । सिनियर एकदिवसीय क्रिकेटमा भारतका वीरेन्द्र सहवाग र सचिन तेन्दुलकरले मात्र दोहोरो सतकीय इनिङ खेलेका छन् । सचिनले २ सय र सहवागले २ सय १९ रन बनाएका छन् । ३ सय ६४ रनको विशाल लक्ष्य पछ्याएको कतार ३५ रनमा समेटियो । बलिङतर्फ पनि बंगलादेशका एक खेलाडीले चामत्कारिक प्रदर्शन गरे । अबु हैदरले एक्लैले नौ विकेट लिए । यसक्रममा उनी दुईपटक ह्याट्रिक गर्नबाट चुके । ५.४ ओभर बलिङ गर्ने क्रममा उनले एक मेडन राखेर १० रन खर्चिए । कतारका १० औं तथा अन्तिम ब्याट्सम्यान ओमर इस्तिआग चोटका कारण ब्याटिङ गर्न नआएपछि हैदरलाई सबै १० विकेट लिने अवसर भने प्राप्त भएन । कतारका पाँच ब्याट्सम्यान खाता नखोली पेवेलियन फर्किए ।

प्रतिक्रिया