५० लाख फिरौती माग

वीरगन्ज, १० असार । बारा लक्ष्मीपुर कोतवालीबाट बुधबारदेखि अपहरित व्यापारी रामाज्ञा ठाकुरको परिवारसँग अपहरणकारीले ५० लाख रुपियाँ फिरौती मागेको छ ।

अपहरणकारीले ठाकुरकै मोबाइलबाट आफन्तलाई फिरौती रकम मागेका हुन् । ‘दाइकै मोबाइलबाट अपहरणकारीले ५० लाख मागेका छन् ।’ ठाकुरका भाइ अवधलालले भने, ‘फोन आएलगत्तै दाइको मोबाइल स्विच अफ छ, अरू कुरा हुनै पाएन ।’
अपहरणकारीले ठाकुरलाई गाउँकै आसपासमा राखेको परिवारजनको आशंका छ । प्रहरीले पनि ठाकुरलाई उनकै गाउँ आसपासमा बन्धक बनाएर राखिएको हुन सक्ने बताएको छ ।
अपहरितका परिवारलाई ठूलो रकम फिरौती मागिएको इन्स्पेक्टर रामनाथ घिमिरेले स्विकारे । ‘फिरौतीका लागि फोन आएको सुनेका छौँ,’ घिमिरेले भने, ‘ठाकुरको खोजीका लागि प्रहरी खटिएको छ ।’
ठाकुरको खोजीका लागि प्रहरी परिचालन गरेको बताइए पनि बारा प्रहरीले चार दिन बित्दासमेत केही पत्ता लगाउन सकेको छैन । ठाकुरलाई अपहरण गरेको आशंकामा प्रहरीले शुक्रबार राति पिपराबिर्ता–५ का दुर्योधन शुक्लाको घरमा छापा मारे पनि त्यहाँ कोही नभेटिएको इन्स्पेक्टर घिमिरेले बताए । डिएसपी अनुराग द्विवेदीको नेतृत्वमा खटिएको टोलीले शुक्लाको घरमा छापा मारेको हो ।
लक्ष्मीपुर कोतवाली–९ का धान चामलका गल्ला व्यापारी ३५ वर्षीय ठाकुर बुधबार बिहान अपहरणमा परेका हुन् । ठाकुरको गाउँमा इँटाभट्टा पनि सञ्चालनमा छ । ठाकुरलाई घरमै सुतिरहेको अवस्थामा पाँचजनाको संख्यामा आएका हतियारधारी समूह अपहरण गरेको हो ।

प्रतिक्रिया