ज्ञानेन्द्र शैलीको निर्वाचनमा भाग लिदैनौं

काभ्रे, ९ असार । कांग्रेसका महामन्त्री प्रकाशनमान सिंहले एकीकृत माओवादी नेतृत्वको बर्तमान कामचलाउ सरकारले घोषणा गरेको निर्वाचन पूर्व राजा ज्ञानेन्द्रले घोषणा गरेको स्थानीय निकायको निर्वाचन जस्तै भएको आरोप लगाएका छन् ।
नेपाल शिक्षक संघको स्थापना दिवसका अवसरमा काभ्रेको बनेपामा आज आयोजित जिल्ला प्रतिनिधि सभाको उद्घाटनमा महामन्त्री सिंहले मंसिर–७ गतेको निर्वाचन विधि सम्वत नभएकाले कांग्रेसले बहिस्कार गर्ने बताए । ‘एमाओवादी सहमतिको बाटो छाडी सत्तामा टिकिरहेर कब्जाको नीतिमा छ,’ सिंहले भने, ‘एमाओवादीको अभिष्ट सत्ताकै मोहमा मधेसी दलहरुले पुरा गरेका छन् ।’
‘फुटबलको खेलमा नियम भए जस्तै राजनीति र निर्वाचनमा सहमति र विधान आवश्यक पर्छ,’ उनले भने, ‘एमाओवादी र मधेसी मोर्चा नियम मान्दैनौ फुटबल खेलौ भन्छ यो सम्भव छैन ।’
सहमति विना वर्तमान राजनीतिक संकट अन्त्य नहुने भएकाले आन्दोलन र बार्ताको नेतृत्व कांग्रेसले नै लिएको उनले बताए । ‘एमाओवादी सहमति होइन संकट चाहन्छ’ उनले भने ।

प्रतिक्रिया