कांग्रेसले एकल जातीय पहिचान नमान्ने

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकल जातीय पहिचानमा कांग्रेस नजाने बताएका छन् ।
नेपाल तरुण दलले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा सभापति कोइरालाले कांग्रेस संघीयताविरोधी नभएको तर्क गर्दै यस्तो बताएका हुन् । ‘एकल जातीय पहिचानले मुलुकमा द्वन्द्व हुन्छ,’ कोइरालाले भने, ‘कांग्रेस सबैको पहिचान झल्कने गरी थोरै प्रदेश बनाउन चाहन्छ ।’
उनले पटक–पटक भएका आन्दोलनबाट प्राप्त उपलब्धि एमाओवादीका कारण गुम्न लागेको आरोपसमेत लगाए । ‘माओवादीका कारण स्वतन्त्रता नै गुम्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘आन्दोलनका सबै उपलब्धिको रक्षा गर्दै जनताका अधिकारको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा छ ।’
एमाओवादीले लोकतान्त्रिक मूल्य–मान्यतामाथि धावा बोल्ने प्रयास गरे राजा, पञ्चायत र राणाजस्तै समाप्त हुने दाबीसमेत गर्दै उनले माओवादीसँग अब विचारको लडाइँ लड्ने स्पष्ट धारणा राखे । आफूहरू विचारमा धनी रहेको तर्क गर्दै उनले भने, ‘माओवादीसँग पनि विचारको लडाइँ लड्नेछाँै, राजा, पञ्चायत र राणालाई जस्तै माओवादीलाई पनि जित्नेछौँ ।’
शुक्रबार नै लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ (फेडेन)को राष्ट्रिय भेलामा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि एमाओवादीका कारण मुलुकमा राजनीतिक र संवैधानिक संकट उत्पन्न भएको बताए ।
कांग्रेसमा प्रवेश
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सल्लाहकार केबी भण्डारी, नेकपा एमालेका म्याग्दी जिल्लाका नेता भवबहादुर भण्डारी, सुदीप शाही, तोरण शाहीलगायत ३१ जना कांग्रेसमा प्रवेश गरेका छन् ।  उनीहरूलाई महाराजगन्जस्थित आºनै निवासमा सभापति सुशील कोइरालाले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया