फलामको मान्छे

विद्यार्थी आन्दोलनमा सरिक थियो, कुनै जमानामा युनियनको नशा थियो उसभित्र । तर, अहिले राजनीतिबाट बिल्कुलै निरपेक्ष छ । उसलाई कुनै चासो छैन । वितृष्णा हो भन्दा पनि हुन्छ ।
टेबुलमा चिया बाफको रबाफ प्रदर्शन गर्दै उपस्थित थियो । कडा रङमा दूध मिसाइएको बाक्लो चिया । तर, चियाको वास्ता नगरी हामी दुई एकअर्कासँग नजर साटासाट गर्न पुग्छौँ । अनामनगरको यो गल्ली, अनि यो चोक प्राय: उसको बाटो यही हो । ऊ यतैतिर बस्छ, कुनै ‘दिदी’ भन्ने दयालु महिलाले एउटा कोठा दिएकी छन् रे बस्न । कालो अनुहार, झुस्स दाह्री भर्खर काटेर पलाएको, शंकास्पद व्यक्तिको झैँ अनुहार ।
म चिया पिउन सुरु गर्छु । हुन त हामी दुईबीच एकाधपटक कहिलेकाहीँ मात्र भेट भएको छ तैपनि म उसलाई जिज्ञासु आँखाले बेलाबेला चियाउँदै छु । ऊ पनि चियाको मजा लिएझैँ पिउन थाल्छ । त्यसो त उसको जिब्रोले केहीको पनि स्वाद पाउँदैन । मलाई थाहा छ तर पनि उसको हाउभाउले ऊ प्रशन्न देखिन्छ, त्यसैबाट अड्कल काट्छु । उसको जिब्रो नक्कली जिब्रो हो । वा भनौँ छयालीस सालको उपलब्धि वा क्रूर पञ्चायती शासनको दमनको उपहार ।
‘त्रिसठ्ठीको आन्दोलन…, साँच्चै आन्दोलनका घाइतेको उपचार किन पूर्णरूपले हुन सकेको छैन ?’ तारा खड्का यसरी पत्रकारले झैँ सोध्छ । ‘यसलाई पनि राजनीतिक प्रतिलोम भने हुन्छ,’ म तीतो ओकल्छु । किनकि मलाई राजनीति पटक्कै मन पर्दैन ।
‘तपाईंको फलामे गोडा कस्तो छ त ?’ धेरै दिनपछिको भेटघाटमा सोधिदिएँ ।
‘एउटा छड भाँच्चिएको छ, अरू सब ठीक छ ?’ ऊ चिया पिउनमा व्यस्त हुन्छ । किनकि उसलाई स्वाद लिनु छैन । मात्र भोक टार्नु छ ।
करिब सँैतीस वर्षको हुनुपर्छ मेरो अन्दाजमा । छयालीस सालको आन्दोलनमा त ऊ सत्र वर्षको थियो भनेर ऊ आफैँ भन्ने गर्छ । विद्यार्थी जीवनको आन्दोलनमा होम्मिएको थियो । कलेज पढ्दापढ्दै मरिचमान सिंहकी भान्जीसँग प्रेमविवाह गरेको थियो । कल्पना र तारा खड्का मरिचमान सिंहसँग अनुमति लिएरै बिहे गरेका हुन्, यी दुवैले । तर, आन्दोलनको चर्को बाढीमा तारा खड्काले आफूलाई बगाएर लग्यो ।
साँच्ची त्यो सालिक ढाल्ने जोस के गरी आयो ?’ एक्कासी पुराना दिन खोतल्न पुग्छु ।
‘नारायणहिटी राजदरबारमा जुलुस लिएर जाँदा हामी नौजना मिलेर सालिक ढाल्ने जोसका साथ गयौँ ।’ भक्भकाउँदै उसले भन्यो, ‘हाम्रो लक्ष्य नै थियो ।’
त्यतिबेला उसका आठजना सहयोद्धाहरू ढले । कोही मारिए तर ऊ कसरी जीवित भयो त † अनौठो छैन । अंगभंग बनाइयो विभिन्न यातना दिइयो । ‘मेरा हातहरू संवेदनाहीन छन्, त्यसबेला चार गोली लागेर ढलेँ पुलिसहरूले समातेर लगे,’ ऊ खतहरू देखाउँदै भन्छ । यो सब त्यसै बेलाको क्रूर यातनाको परिणाम हो । जिब्रो नक्कली, फोक्सो नक्कली । गोडा यस्तै छ । फलामको रडयुक्त यन्त्रले खोल्च्याउँदै हिँड्नुपरेको छ । जिउभरि, हात गोडाभरि घाउका खतहरू भेटिन्छन् ।
छयालीस सालको प्रजातन्त्र घोषणापछि उसलाई अस्तव्यस्त रूपमा फेला पारियो । ‘लगभग मृत अवस्थामा फालिएको थिएँ । प्रजातन्त्रको घोषणाले बचायो,’ ऊ यसरी भन्छ ।
भक्भकाउने उसको समस्या छ । जिब्रो लर्बराउँछ तर पनि बोल्छ ‘आज अपांगहित संरक्षण समितिमा गएर आ’को,’ आफ्नो पत्रिकामा छापिएको तस्बिर र लेख देखाउन छुटाउँदैन । ऊ जोकोहीलाई देखाइहाल्छ । हेर्नेहरू छक्क पर्छन् । उसँग विगत र वर्तमान कोट्याउँछन् ।
‘तपाईंकी श्रीमती अहिले कहाँ छिन् ?’
‘छैन, अहिले मसँग छैन ।’
‘अनि † छोराछोरी कति थिए ? वा …?’
‘एउटा छोरा थियो । त्यो पनि उपचारका क्रममा बेच्नुपर्‍यो ।’ त लाग्छ कतिले विश्वासै गर्दैनन् होला । तर, ऊ जे भनिरहेको छ त्यही सत्य हो । उसको उपचार पनि प्रजातान्त्रिक सरकारले पूर्णरूपमा गरेन र आफ्नो भएको सम्पत्तिले नभ्याएर उसले आफ्नो मुटुको टुक्रा, एउटा मात्रै भएको सन्तान भारतीय माडेलाई बेच्नुपरेको थियो । माडेले झुक्याएर गलत ठेगाना दिएको रहेछ । जब उसले रकम लिएर खोजी गर्‍यो त्यो ठेगानामा उक्त व्यक्ति फेला परेन ।
‘तपाईं के काम गर्नुहुन्छ ?’ अनायासै जिज्ञासा पोखेको थिएँ ।
‘केही गर्दिनँ । दिनभरि विभिन्न संघसंस्था घुम्छु, कसैले सहयोग पनि गर्छन् । यसरी नै चलेको छ ।’ ऊ एकैछिन मौन रहन्छ । सजिलोसँग बस्दैन ऊ । छट्पट गरिरहन्छ । ‘औषधि खाइरहनुहुन्छ होइन ?’ मेरो प्रश्न थियो ।
‘अँ, खाँदै छु । नखाए त मेरो मेन्टल डिस्टर्ब हुन्छ, टर्चर हुन्छ मस्तिष्कमा,’ ऊ भन्छ, ‘पैँतीस सयको औषधि महिनैपिच्छे खान्छु । नत्र म फेरि जिन्दावाद, मुर्दावाद भन्दै हिँड्ने अवस्थामा पुग्छु ।’ अनौठो पाराले ऊ भन्दै गयो ।
यसपटक ऊ लहानसम्म गएको थियो । पत्रकारसामु आफ्नो विवरण सुनाउने मौका पाए ऊ जहाँ पनि पुग्छ । बर्दिवासमा मेरो घरमा पनि पुगेको थियो ऊ, तिहारको समय देउसी बडो रमाइलो मानी मध्यरातसम्म गाउँमा मसँगै बसेर हेरेको थियो ।
‘म तपाईंको बारेमा लेख्छु ।’ यसरी उसको ध्यान खिच्छु म आफूतिर । ऊ सहज हुँदै मलाई हेर्छ र भन्छ ‘हुन्छ, लेख्नुस् । कुन पत्रिकामा लेख्नुहुन्छ ?’
‘खबर वा लेख हैन, म कथा लेख्छु । तपाईंको व्यथाभित्रको जीवन्त कथा ।’ ऊ फिस्स हाँसिदिन्छ र भन्छ– ‘हुन्छ ।’
एउटा तारा खड्का जसले प्रजातन्त्रको आन्दोलनमा आफ्नो सबथोक गुमायो । केका लागि गुमाएँ भनेर ऊ कहल्यै पछुतो मान्दैन । ऊ गर्व गर्छ । शारीरिक कष्ट सहनुपरेको छ, सन्तानको मायालाई पाखा लगाउनुपरेको छ । औषधि खर्च जुटाउनु पनि उसको कठिन दिनचर्या भएको छ । नत्र, ऊ बहुलाउन सक्छ । क्रान्तिकारी योद्धा बनिदिन्छ औषधि खान नपाउँदा । जिन्दावाद र मुर्दावादको नारा उसको मस्तिष्कमा रेकर्ड भएझैँ छ जसलाई औषधीले सम्हालेर राखेको छ । हैन भने, क्यासेट प्लेयर झैँ ध्वनित हुन्छन् उसका नाराहरू । जसलाई मान्छेहरू बहुलाको उपमा दिन्छन् ।
समय बहुत व्यस्त भयो । अफिस अनि भेटघाट र पत्रपत्रिका पढ्दापढ्दै बिर्सिए ती क्षणहरू । अपसोच पनि लाग्छ, उसको दु:खको कथा लेख्न नसकेकोमा । बेलाबखत झस्काउँछ, ताराजस्ता नेपालको आशाका किरणहरू ल्याउन लडेको योद्धाका लागि देशले केही गर्न सकेन ।

प्रतिक्रिया