एकजनालाई कारबाही गर्दा त्रिविका लाखौँलाई सास्ती

काठमाडौं, ८ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले अर्थशास्त्र केन्द्रीय विभागका प्रमुखलाई परीक्षामा लापरबाही गरेको भन्दै कारबाही गरेपछि त्यसको मारमा विद्यार्थी परेका छन् । विभागीय प्रमुख नै कारबाहीमा परेपछि स्नातकोत्तर तह पहिलो वर्षको अर्थशास्त्र विषयको नतिजा नआउँदा सबै विषयका लाखौँ विद्यार्थी परीक्षा फारम भर्न मात्र होइन परीक्षाबाटै वञ्चित भएका छन् ।
विभागीय प्रमुख रुद्र उपाध्याय कारबाहीमा परेपछि उत्पन्न विवादका कारण पहिलो वर्षको नतिजा कुरेका र पहिलो वर्षको परीक्षाको तयारीमा रहेका लाखौँ विद्यार्थी प्रभावित भएका हुन् । नयाँ विभागीय प्रमुख नियुक्त भएका छैनन् भने उपाध्याय ‘शक्तिकेन्द्र’ धाउन थालेका छन् ।
पनिकाका एक कर्मचारीका अनुसार त्यही विवादका कारण एमए पहिलो वर्षको नतिजा आएको छैन भने परीक्षा भइसक्नुपर्ने बेला कुनै पनि विषयको फारम खुल्न सकेको छैन । लामो समयपछि बनाइएको त्रिविको शैक्षिक क्यालेन्डरसमेत लथालिंग छ ।
परीक्षा नियन्त्रक दयामान कर्माचार्य अर्थशास्त्र केन्द्रीय विभागका कारण पहिलो वर्षको नतिजा आउन नसकेको बताउँछन् । अन्य विकल्प प्रयोग गरेर नतिजा सार्वजनिक गर्ने तयारी गरिएको नियन्त्रक कर्माचार्यको भनाइ छ । ‘रिजल्ट निकाल्न विभागीय प्रमुख चाहिन्छ तर अहिलेसम्म नयाँको नियुक्ति भएको छैन,’ उनले भने, ‘अर्को निर्णय गरेर अब रिजल्ट निकाल्छौँ ।’ त्रिविका पदाधिकारीबाट निर्णय गरेर रिजल्ट निकाल्ने तयारी भएको उनी बताउँछन् ।
अर्थशास्त्रको नतिजा सार्वजनिक नभएका कारण शैक्षिक क्यालेन्डरअनुसार पहिलो वर्षको परीक्षा फारम खुलेको छैन । त्यसैगरी, स्नातकोत्तर दोस्रो वर्षको पढाइ सकिए पनि विद्यार्थी परीक्षाबारे अन्योलमा छन् । समयमा परीक्षा नहुँदा विद्यार्थी दिक्क भएका छन् । स्नातकोत्तर तहका विद्यार्थी अर्पण खतिवडाले समयमै परीक्षा नहुँदा असाध्यै दु:ख लागेको बताए । ‘त्रिविले शैक्षिक क्यालेन्डर बनायो तर कार्यान्वयन नगरेर नाटक मात्र गरेको छ,’ उनले भने ।
पनिका स्रोतका अनुसार डेढ दशकको अवधिमा परीक्षामा लापरबाही गरेका कारण कारबाही गरेको पहिलो घटना हो यो । गत २२ साउनमा सञ्चालित परीक्षाको विषयलाई लिएर उपाध्यायलाई कारबाही गरिएको थियो । उनी मोडरेसन बोर्डका अध्यक्षसमेत थिए । प्रश्नपत्र निर्माणकर्ताले दिएको प्रश्नपत्र छपाइ गर्नुअघि सबै पक्षबाट ठीक छ भनी हस्ताक्षर गरेका उनले परीक्षापछि ४० नम्बरको प्रश्न पाठ्यक्रमबाहिरबाट आएको भन्दै पनिकामा पत्र पठाएका थिए । पहिलो वर्षको ‘माइक्रो इकोनोमिक्स एनालाइसिस’ विषयमा यस्तो घटना भएको थियो ।
सो विषयमा २० नम्बरको एउटा र १० नम्बरका दुइटा प्रश्न पाठ्यक्रमबाहिरका थिए । त्यही विवाद चर्कंदै गएपछि विभागीय प्रमुखले दायित्व निर्वाह गर्न नसकेको भन्दै उनी कारबाहीमा परेका थिए । सो विषयको परीक्षामा उपत्यका र बाहिर गरी दुई केन्द्रमा परीक्षा बिथोलिएको थियो ।
‘आफैँले प्रश्नपत्र परिस्कृत गरेर ठीक छ भनी हस्ताक्षर गर्ने अनि पाठ्यक्रमबाहिरको प्रश्न आयो भनेर विद्यार्थीसँगै बल्खुमा आन्दोलन गर्न पटक–पटक आएपछि विभागीय प्रमुखलाई कारबाही गरिएको हो,’ पनिकाका एक कर्मचारीले भने । ती कर्मचारीका अनुसार कारबाही गर्नुअघि पनिकाले उपाध्यायसँग स्पष्टीकरण लिएको थियो । चार वर्षसम्म परीक्षाका कुनै पनि काममा सहभागी हुन नपाउने गरी कारबाही गर्न सक्ने भए पनि पनिकाले उपाध्यायलाई १ चैतदेखि एक वर्षसम्म परीक्षाका काममा संलग्न हुन नपाउने गरी कारबाही गरेको हो ।

प्रतिक्रिया