‘माग नसुने पार्टी त्याग’

काभ्रे, ८ असार । नेकपा (एमाले)का असन्तुष्ट नेताहरूले पार्टीले नौबुँदे माग सम्बोधन नगरे पार्टी छाड्न सकिने निष्कर्ष निकालेका छन् ।
बुधबारदेखि धुलिखेलमा आयोजित गोप्य भेलामा सहभागी नेताहरूले केन्द्रीय कमिटीलाई बुझाएका मागबारे भेलाले सम्बोधन नगरेकोप्रति आपत्ति प्रकट गरेका थिए । भेलाबारे जानकारी दिँदै एमाले नेता राजेन्द्र श्रेष्ठले मागका बारेमा सम्बोधन नभएसम्म पार्टीले आयोजना गर्ने र गरेका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय भएको जानकारी दिए ।
‘यो पार्टीभित्रको अन्तरपार्टी संर्घषको उच्चतम बिन्दु हो, मागहरू सुनुवाइ भएन भने पार्टी छाड्नेसम्मको निर्णय हुनसक्छ,’ श्रेष्ठले भने, ‘हामी पार्टी त्यो अवस्थामा जान्छ भन्नेमा छैनौँ, हाम्रा माग तत्काल सम्बोधन हुनेछन् भन्ने आशा छ ।’
भेलाले विघटित संविधानसभा पुन:स्थापना गरी विवादित विषय समाधान गर्न माग गरेको छ । संविधानसभाको निर्वाचन तत्काल सम्भव नभएकाले विघटित सभा नै पुन:स्थापना गरी संविधान जारी गर्नुपर्नेमा भेलामा सहभागी सबै नेताले जोड दिएको श्रेष्ठले जानकारी दिए ।
एमाले उपाध्यक्ष अशोक राईले पार्टी राष्ट्रिय संकट टार्ने कुरामा उदासीन भएकाले त्यसको संकट र त्यसको समाधानका विषयमा छलफल गर्न धुलिखेलमा भेला भएको बताए । संविधानसभाको पुन:स्थापनाका लागि सडक संघर्षसमेत गर्न सकिने उनले बताए । एमालेको राष्ट्रिय भेलाका बारेमा आफूहरूलाई औपचारिक रूपमा जानकारी नआएको राईले जानकारी दिए । अध्यक्ष झलनाथ खनालको प्रतिवेदन कार्यकर्ताको भावनाविपरीत भएकाले पार्टीको भन्दा फरक विचार भएकाले छुट्टै भेला बस्नुपरेको राईले बताए ।
भेलामा एकल जातीय पहिचानका आधारमा राज्य पुन:संरचना हुनुपर्ने विषयमा समेत छलफल भएको थियो । भेलामा एमालेका उपाध्यक्ष अशोक राईसहित १७ जना नेता सहभागी थिए ।
भेलामा उपाध्यक्ष राईसहित पूर्वसभासद्हरू रामचन्द्र झा, पृथ्वी सुब्बा गुरुङ, रकम चेम्जोङ, सत्रुघन महतो, राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, दलबहादुर रानामगर, किरण गुरुङ, हेमराज राई, रणध्वज कन्दङ्वा, वीरबहादुर लामा, मोहमद रिजवान अन्सारी, पासाङ शेर्पा, गोपाल ठाकुर र प्रेमबहादुर बरामु सहभागी थिए । पार्टीले बहुपहिचानका आधारमा राज्य पुन:संरचना गर्ने निर्णय लिएपछि पार्टीमा आबद्ध जनजाति र मधेसी पूर्वसभासद्हरू पार्टी निर्णयविरूद्ध लागेका हुन् ।
काङ्माङ आएनन्
आमाको उपचारमा सहयोगी बस्नुपरेको भन्दै एमाले नेता अजम्बर काङमाङ राई भेलामा सहभागी भएनन् । उनको नाम मिराबेल रिसोर्टमा सहभागीको उपस्थितिमा १३ नम्बरमा उल्लेख गरिएको छ । उनका लागि होटलको १०२ नम्बर कोठा बुक गरिएको थियो । उनीसँगै रामचन्द्र झाका लागि एउटा कोठा बुक गरिएको थियो । बिहीबार सौर्यलगायत सञ्चारमाध्यममा काङमाङको नाम प्रकाशित भएपछि उनले एसएमएसमार्फत आफू सहभागी नभएको बताएका छन् ।

प्रतिक्रिया