सहमति भए जुनसुकै बिकल्प उचित

दाङ, ७ असार । कांग्रेस नेता बलदेव शर्मा मजगैंयाले पार्टी एकल जातीय राज्यको पक्षमा जानै नसक्ने भन्दै मुलुकमा द्वन्द्व निम्ताउने कार्य कसैबाट हुन नहुने बताएका छन् ।
एमाओवादीले एकल जातीय राज्यको पक्षमा उभिएका कारण संबिधान बन्न नसकेको भन्दै उनले एमाओवादीका कारण संबिधानसभा नै बिघटनको अवस्था आएको आरोप लगाए ।
दाङको घोराहीमा कांग्रेस क्षेत्र नम्बर तीनको बैठकलाई बिशेष सम्बोधन गर्दै नेता मजगैंगाले एकल जातीय राज्यबन्दा मुलुक झन द्वन्द्वमा फस्ने तर्फ सतर्क हुन अन्य पार्टीलाई समेत सचेत गराएका छन् ।
‘जातीय राज्यले सामाजिक सदभाव बिथोल्छ र मुलुकलाई गृहयुद्धतर्फ उन्मुख गराउछ,’ मजगैंयाले भने, ‘त्यसकारण कांग्रेसले त्यस्तो राज्यका पक्षमा आफूलाई कुनै हालतमा उभ्याउन सक्दैन ।’
संघीय व्यबस्थामा सबै जाति भाषा, धर्म, संस्कारको सम्बद्र्धन गर्ने सवालमा कांग्रेस स्पष्ट रहेको उनको भनाई थियो ।
मजगैंयाले राजनीतिक र संबैधाननिक रुपमा उचित ठहरिने निर्वाचनमा भाग लिन कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई कुनै समस्या नहुने पनि बताएका छन् ।
‘अहिले घोषणा गरिएको निर्वाचनको संबैधानिक र राजनीतिक औचित्य छैन,’ उनले भने, ‘कांग्रेसले संवादबाट राष्ट्रिय सहमति कायम गरी अगाडि बढ्ने निर्णय गरेको छ ।’
उनले दलहरुबीच संबिधानका बिववादित बिषयमा सहमति भएमा जुनसुकै बिकल्पबाट अगाडि बढ्न पनि सकिने बताएका छन् । कांग्रेस नेता मजगैंयाले भने, ‘सहमति नबन्ने बिषयहरुमा जनमतसंग्रहमा जान पनि दलहरुले बलियो इच्छाशक्ति देखाउनु पर्छ ।’

प्रतिक्रिया