खेलकुदमा माओवादीको अर्को संस्था

काठमाडौं, ६ असार । माउ पार्टी औपचारिक विभाजन हुनुअघि नै खेलकुदसँग सम्बन्धित भातृ संस्था नेपाल गणतान्त्रिक खेलकुद टुक्राटुक्रा भएको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले खेलकुदमै अर्को संस्था ‘अखिल नेपाल खेलकुद संघ’ गठन गरेको छ । राजनीतिक पार्टीको भातृसंस्था भए पनि यो राष्ट्रिय खेलकुद परिषद्को १ सय २० औं संघको रूपमा दर्ता भएको छ । पार्टी निकट संस्था परिषद्मा दर्ता भएको यो नै पहिलो हो ।
संघले आफू कुनै राजनीतिक भातृसंस्था नभएको जनाए पनि खेलकुदमा कुनै सरोकार नभएका एमाओवादी अध्यक्ष प्रचण्ड, खेलकुद विभाग प्रमुख टोपबहादुर रायमाझी र अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा मंगलबार उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रमको उद्घाटनभन्दा केही दिनअघि माओवादी पार्टीनिकट एक खेलकर्मीले अनौपचारिक कुराकानीमा गणतान्त्रिक खेलकुद महासंघ निष्क्रिय रहेको कारण नयाँ संघ आवश्यक रहेको जनाएका थिए ।
पछिल्लो साधारण सभाले जयन्द्र चन्दको अध्यक्षतामा नेपाल गणतान्त्रिक खेलकुद महासंघको कार्यसमिति चयन गरे पनि पाटीभित्रको चरम गुटबन्दीपछि खेलकुद विभाग प्रमुख रायमाझीको उपस्थितिमा अर्को भेला गर्दै रणसंग्राम विष्ट अध्यक्ष भएको घोषणा गरिएको थियो । त्यसपछि नै पार्टीको दुई गुटका दुई भातृ संस्था खेलकुदमा अस्तित्वमा रहेका थिए ।
वर्तमान समयमा विष्टको अध्यक्षतामा रहेको भातृ संस्था हुँदाहुँदै अर्को संघ गठन गर्नुलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । राजनीतिक नियुक्ति पाए पनि पछिल्लो समय मात्र माओवादी राजनीतिमा सहभागी भएका कारण खेलकुदनिकट माओवादी कार्यकर्ता सदस्य–सचिव युवराज लामाबाट सन्तुष्ट थिएनन् । सदस्य–सचिव लामाकै रुचिमा यो नयाँ संघ गठन भएको स्रोत बताउँछ ।
खेलकुद संघ भए पनि थोरै मात्र खेलकर्मी र धेरै राजनीतिक कार्यकर्ताको उपस्थिति रहनु र रहेका खेलकर्मीमा पनि अत्यधिकचाहिँ मार्सल आर्टसँग सम्बन्धित हुनुले धेरैमा नकारात्मक आशंका पलाएको छ । कार्य समितिमा माओवादी पोलिटब्युरो सदस्य हरिबोल गजुरेलका ज्वाइँ तथा पूर्व सभासद् झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी सचिव तथा नन्दकिशोर पुनका छोरा दीपेश पुन महासचिव रहेका छन् । आफूलाई साँचो खेलकर्मीको प्रतिनिधित्व भएको दाबी गरे पनि माओवादी शक्ति प्रभावकारी भएपछि निकट रहेका अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा पनि कार्यक्रममा अतिथि थिए । यसअघि माओवादीको औपचारिक भातृ संस्थाकै रूपमा रहेको गणतान्त्रिक खेलकुद महासंघको कार्यसमितिको बैठक एन्फा कम्लेक्स सातदोबाटोमा बस्ने गरेको चर्चा चलेको थियो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पुष्पकमल दाहालले माओवादीको प्रतिनिधित्व गरेका युवराल लमाले राम्रो काम गरेको प्रतिक्रिया दिए, ‘प्रतिनिधित्व गर्ने साथीले ठीक ढंगले काम गरेपछि म किन आउनुपर्‍यो, परिषद् हेर्ने तपाईंले हो ।’ खेलप्रति आफ्नो केही न केही लगाव रहेको भन्दै खेल र सांस्कृतिक कार्यक्रम सुरु भएपछि अन्त्य नभईकन आफूलाई मञ्च छोड्न मन नलाग्ने दाहालले बताए । उनले आफ्नो पार्टीको ध्यान खेलकुदको विकास गर्नमा नै केन्द्रित रहेको दाबी गरे । उनले खेल विकासका लागि उचित बजेटको व्यवस्था गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा राखेप सदस्य–सचिव लामाले खेलकुदलाई राजनीतिक आस्थाका आधारमा चलाउन नचाहेको बताए । उनले भने, ‘सुकिलामुकिलाको पहुँचमा मात्र रहेको खेलकुदलाई हामीले गाउँ, गाउँ र विद्यालयमा पुर्‍याउन थालेका छौं । ’ लामाले यस्तो दाबी गरे पनि उनकै कार्यकालमा राजनीतिक कारण र पूर्वाग्रहका कारण टेबलटेनिस संघ र बक्सिङ संघ लामो समय विवादमा रहेको थियो । टेबलटेनिस संघको विवाद अझै सकिएको छैन । लामाले राजनीतिक पूर्वाग्रह नराख्ने दाबी गरे पनि उनको कार्यकालमा सुरु भएको एथलेटिक्स संघ र कराते महासंघको विवाद यथावत् छ ।
एन्फा अध्यक्ष गणेश थापाले भातृसंगठन भए पनि विशुद्ध खेल विकासका लागि काम गर्न नवगठित संघका पदाधिकारीलाई आग्रह गरे ।
अर्जुनबहादुर केसीको अध्यक्षतामा गठित अखिल नेपाल खेलकुद संघमा रवीन्द्र श्रेष्ठ र नवराज कोइराला उपाध्यक्ष छन् । सहसचिव र कोषाध्यक्षमा क्रमश: राजेश्वरमान स्थापित र राजकुमार श्रेष्ठ रहेका छन् । संघको ३८ सदस्यीय कार्यसमिति रहेको छ ।
नवगठित संघका अध्यक्ष अर्जुनबहादुर केसीले खेलकुदमा रहेको यथास्थितिवाद, विकृति र विसंगतिविरुद्ध लड्न नयाँ संघ खोलेको बताए । उनले भने, ‘आस्थाका आधारमा होइन, खेलाडीलाई क्षमताको आधारमा सम्मान गर्नुपर्छ ।’

प्रतिक्रिया