शरदचन्द्रको स्वास्थ्य स्थिति चिन्ताजनक

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य–सचिव शरदचन्द्र शाहको स्वास्थ्यस्थिति गम्भीर भएको छ । उपचारका क्रममा सिंगापुर पुर्‍याइएका ६६ वर्षीय शाह चिन्ताजनक स्थितिमा रहेको शाहको पारिवारिक स्रोतले जनाएको हो । शाह अहिले कोमामा छन् । पछिल्ला केही महिनादेखि अस्वस्थ रहेका शाहका दुवै मृगौलाले काम गर्न छाडेका छन् ।
विसं २०३४ सालमा राखेप सदस्य–सचिव नियुक्त भएका शाह १० वर्ष उक्त पदमा रहेका थिए । पञ्चायती व्यवस्थाको अवसान हुनुभन्दा करिब दुई वर्ष पहिले राखेप नेतृत्वबाट हटाइएका शाहको नेतृत्वलाई नेपाली खेलकुदमा उल्लेखनीय मानिन्छ । देशको खेलकुद इतिहासकै सर्वाधिक शक्तिशाली व्यक्तित्व मानिने शाहकै पालामा विसं २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सुरु भएको थियो । त्यस्तै, देशभर पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय प्रतियोगिता (साग, एसियाड र ओलम्पिक) का विजेता खेलाडीलाई मोटरसाइकल र नगद रकमसहित सम्मानित गर्ने प्रचलन पनि उनले नै सुरु गरेका थिए । विशेषगरी, उनकै पहलमा दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करण नेपालमा २०४१ सालमा सफलतापूर्वक सम्पन्न भएको थियो । (सौस)

प्रतिक्रिया