जर्मनी र पोर्चुगल उम्किए “ग्रुप अफ डेथ”बाट

किभ, ५ असार । जर्मनी र पोर्चुगल युरोकप फुटबल प्रतियोगिता २०१२ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा आइतबार राति भएको खेलमा जर्मनीले डेनमार्क तथा पोर्चुगलले नेदरल्यान्ड्सलाई समान स्कोर २–१ ले पराजित गरे । जर्मनीको जितमा एक सयौं अन्तराष्ट्रिय खेल खेलिरहेका लुकास पोडोल्स्कीको गोल समावेश थियो । माइकल क्रोन डेलीले डेनमार्कका लागि गोल गरेको खेलमा जर्मनीका लार्स बेन्डरले निर्णयक गोल गरे । उता, ११औं मिनेटमा राफेल भान डर भर्टको गोलमा अग्रता लिएको डच टोलीका विरुद्धमा दुवै गोल रोनाल्डोले गरे ।
डेनमार्कविरुद्ध पोडोल्स्कीले १९औं मिनेटमा गोल गरे । त्यसको पाँच मिनेटपछि नै क्रोलले गोल गरेपछि त डेनमार्कले लगातार आक्रमण गरेको थियो । जर्मनी पराजयसँगै बाहिरिने हो कि भन्ने आशंका भइरहेको समयमा लार्स बेन्डरले निर्णायक गोल गरे । ‘हामी माथि दबाब परेको थियो । यस अवस्थामा गोल गर्नै पर्ने थियो । सही समयमा मैले बल भेटे,’ बेन्डरले भने ।
छिमेकी देशमा भएको प्रतियोगिता हेर्न पोल्यान्ड पुगेका हजारौं डच समर्थक अन्तत: रोनाल्डोको दुई गोलसँगै निरास भए । यसअघि दुई खेलमा पराजित भए पनि अन्तिमसम्म आफ्नो टोली प्रतियोगितामा रही रहने आशामा डच समर्थक रहेका थिए । भान डर भर्टको गोलले प्रतियोगितामा कम ब्याक गर्ने आशामा रहेको नेदरल्यान्ड्सविरुद्ध २८ औं मिनेटमा रोनाल्डोले पहिलो गोल गरे । नियमित समय १६ मिनेट बाँकी रहँदा संसारका सबैभन्दा महँगा खेलाडीले विजयी गोल गरे । तीनवटै जितसहित समूहमा पहिलो स्थान पाएको जर्मनीले क्वार्टरफाइनलमा समूह ‘ए’को उपविजेता ग्रिससँग खेल्नेछ । ६ अंकसहित दोस्रो भएको पोर्चुगल समूह ‘ए’को विजेता चेक गणतन्त्रसँग खेल्नेछ । समूह ‘बी’मा डेनमार्क तीन अंकसहित तेस्रो भयो । उपाधिको दाबेदार मानिएको नेदरल्यान्ड्स विना कुनै अंक प्रतियोगिताबाट बाहिरिएको छ । ‘पहिलो खेलपछि नै हाम्रो आत्मविश्वास टुटिसकेको थियो,’ भान डेर भर्टले भने ।
रोनाल्डोले दुवै गोल आफ्नो दुईवर्षे छोरा क्रिस्टियानो जुनियरमा समर्पित गरेका छन् । आइतबार नै रोनाल्डोको छोरा दुई वर्ष भएका हुन् । ‘हाम्रो टोली साँच्चै उत्कृष्ट छ । हामी अघि बढ्नेमा आशावादी नै थियौँ,’ जितपछि रोनाल्डोले भने । अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रसँग आफ्नो कुरा राख्ने रोनाल्डो पोर्चुगलका एक्ला खेलाडी हुन् । गत साता रोनाल्डोको सञ्चार क्षेत्रले तीव्र आलोचना गरेपछि उनको टिमका अन्य खेलाडीले कप्तानको आलोचना सह्य नहुने जनाउँदै विरोधस्वरूप सञ्चारबाट टाढै रहने निर्णय गरेका थिए । दुई गोल गरेका रोनाल्डोका दुई प्रहार क्रसबारमा लागेर फर्केका थिए । उनले फाबियो सेन्टारो र नानीका लागि राम्रो अवसरको पनि सिर्जना गरिदिएका थिए । चेक र पोर्चुगलको क्वार्टरफाइनल सोह्र वर्षपहिले इंग्ल्यान्डमा सन् १९९६ मा भएको युरोकप क्वार्टरफाइनलकै पुनरावृत्तिको रूपमा रहेको छ । उक्त वर्ष चेक गोलरक्षक क्यारोबल पोबोस्र्कले पोर्चुगलको अन्तिम पेनाल्टी प्रहार रोक्दै टाइब्रेकरमा आफ्नो टोलीलाई जित दिलाएका थिए । पोर्चुगलका प्रशिक्षक पावलो बेन्टोले आफ्नो टोली अझै फेवरेट नै चाहिँ नभएको बताए ।
जर्मनीका प्रशिक्षक जोचिम लोउले भने आफ्नो टोलीले सोचेको भन्दा बढी दबाबको सामना गर्नुपरेको बताए । ‘हामी एकपटक पछि परेको भए प्रतियोगिताबाटै बाहिरिन पनि सक्थ्यौं,’ लोउले भने । दोस्रो हाफमा जर्मनी माथि दबाब बढेपछि गोलकर्ता पोडोल्स्कीको स्थानमा लिभरकुुसनका आन्द्रेई सुचेरललाई मैदान प्रवेश गराइएको थियो । डेनमार्कका विरुद्ध ८० औं मिनेटमा जर्मनीले प्रत्याक्रमणमै गोल गर्ने राम्रो अवसर पाएको थियो । ‘प्लेयर अफ दि म्याच’ मेसुट ओजिलले दिएको सानदार पासमा बेन्डर गोल गर्न सफल भएका थिए । एजेन्सी

प्रतिक्रिया