दमन विरुद्ध नेविसंघ सडकमा

काठमाडौं, ४ असार । प्रहरी हस्तक्षेपको विरोधमा नेपाल विद्यार्थी संघले आज राजधानीमा एक घण्टा चक्काजाम गरेको छ ।
विभिन्न क्याम्पस अगाडि भएको प्रदर्शन र चक्का जामका कारण राजधानीमा सवारी आवागमन प्रभावित भएको महानगरीय प्रहरीले जनाएको छ ।
आर.आर., शंरदेव, वाल्मीकिलगायतका क्याम्पस अगाडि ९ देखि १० बजेसम्म चक्काजाम गरेको नेविसंघले जनाएको छ ।
आइतबार साँझ नेविसंघले पूर्व घोषित कार्यक्रम अनुसार प्रदर्शनीमार्गमा मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघ आक्रोशित भएको हो । प्रहरी हस्तक्षेपका क्रममा पचास भन्दा बढि विद्यार्थी घाईते भएका थिए ।
कुन्दन काफ्ले, लक्ष्मी दाहाल, सुरज भट्टलगायतका विद्यार्थी नेता प्रहरी हस्तक्षेपका क्रममा घाइते भएको नेविसंघ अध्यक्ष रञ्जीत कर्णले जानकारी दिए ।
घाइतेमध्ये पाँचको अवस्था चिन्ताजनक रहेको छ । अध्यक्ष कर्णले कामचलाउ सरकारले अन्दोलन दबाउन खोजेको भन्दै शान्तिपूर्ण रुपमा प्रतिवाद गरिने चेतावनी दिएका छन् ।
यसैवीच, कांग्रेस सभापति सुशील कोइरालाले प्रहरी हस्तक्षेपलाई निर्मम दमनको संज्ञादिदै कडा शब्दमा निन्दा गरेका छन् । कोइरालाले भनेको छन्, ‘जनतालाई आतंकित पार्ने गरी सत्ता कब्जा गर्ने नियतले विद्यार्थीको शान्ति पूर्ण आन्दोलनमा बरबर दमन भएको छ ।’
‘विद्यार्थी माथी निर्मम दमन गरेर कामचलाउ सरकारले आफ्नो अधिनायकवादी चरित्र प्रदर्शन गरेको छ,’ उनले विज्ञप्ती जारी गरेर भनेका छन्, ‘दमनमा उत्रिने अधिनायकवादी सरकारको रवैयाबाट लोकतान्त्रिक शक्ति त्रसनु हुँदैन, अझै एकताबद्ध भएर प्रस्तुत हुनु पर्छ ।’
सभापति कोइरालाले आइतवार राति नै मोडेल अस्पतालमा उपचार गराई रहेका घाईते विद्यार्थीको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

प्रतिक्रिया