महासंघद्वारा शेर्पाको बचाउ

काठमाडौं, ३ असार । नेपाल अदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले आङकाजी शेर्पालाई पार्टीबाट निष्काशन गर्ने एमालेको कदमलाई लज्जास्पद निर्णयको संज्ञा दिएका छन् ।
लेखीले आज विज्ञप्ती जारी गरेर जनजाति महासंघको महासचिवका हैसियतले एमाओवादीको सभामा वक्ता बनेकै आधारमा शेर्पालाई एमालेले पार्टीबाट निष्काशित गर्नु हास्यास्पद रहेको बताएका छन् । उनले भनेका छन्, ‘शेर्पाको कारबाहीले एमाले पार्टीभित्र मौलाएको अधिनायकवाद प्रकट भएको छ ।’
गत शुक्रबार एमाओवादीको सभामा वक्ता बनेका शेर्पाले एमाले संघीयता विरोधी पार्टी भएको भन्दै चर्को आलोचना गरेका थिए । एमाओवादीको सभामा सहभागी भएको र पार्टी नीति विपरित अभिब्यक्ति दिएको भन्दै एमालेले शेर्पालाई आईतबार साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको थियो । कारबाहीमा परेका शेर्पा एमाले सोलुखुम्वुका उपसचिव हुन् ।
अध्यक्ष लेखीले शेर्पा महासचिवको हैसियतले एमाओवादीको सभामा सहभागी भएको भन्दै उनको वचाउ गरेका छन् ।
‘एमाले कति संघीयता विरोधी छ भन्ने शेर्पालाई कारबाही गरेको निर्णयबाट थप पुष्टि भएको छ,’ लेखीले भनेका छन्, ‘अबका दिनमा मुलुकका ठूला भनिएका राजनीतिक दलहरुभित्रका संघीयता विरोधीहरुले संघीयताको पक्षमा रहेकाहरु तथा आदिवासी जनजातिलाई पाखा लगाउने अभियान चलाउने देखिएको छ ।’
उनले चार राजनीतिक शक्तिको सदस्यता त्यागेर सम्पूर्ण नेपालीलाई समेट्ने नयाँ राजनीतिक शक्ति निर्माण गर्नु पर्ने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया