‘वैद्यसँग एकता हुन सक्ने’

वीरगन्ज, ३ असार । नेकपा (माओवादी)का संयोजक मातृका यादवले एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष मोहन वैद्य पक्षसँग पार्टी एकता हुनसक्ने बताएका छन् ।

शुक्रबारदेखि वीरगन्जमा सुरु भएको माओवादीको विस्तारित बैठकमा संयोजक यादवले पेस गरेको राजनीतिक प्रतिवेदनमा वैद्य पक्षसँग पार्टीगत एकता हुनसक्ने उल्लेख छ ।
एकीकृत नेकपा (माओवादी)बाट छुट्टिएर वैद्य पक्षले मधेसका एजेन्डामा स्पष्ट धारणा बनाए पार्टीले एकता गर्ने यादवको प्रतिवेदनमा उल्लेख रहेको केन्द्रीय सदस्य राजन यादवले बताए । समग्र मधेस एक प्रदेशका मुद्दामा समर्थन जनाउने अन्य क्रान्तिकारी शक्तिसँग पनि पार्टीले एकता गर्न सक्ने संयोजक यादवको भनाइ छ ।
एकीकृत नेकपा (माओवादी)को संस्थापन पक्ष जालझेल गरेर आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा दुईतिहाइ मत ल्याउने षड्यन्त्रमा रहेको यादवको प्रतिवेदनमा उल्लेख छ ।
विस्तारित बैठकमा शनिबार संयोजक यादवद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमाथि सहभागीबीच समूहगत छलफल र रिपोर्टिङको काम भइरहेको केन्द्रीय सदस्य यादवले जानकारी दिए  ।

प्रतिक्रिया