विश्वकपको सपना नदेख

काठमाडौं, ३ असार । ‘तपाईंहरूका केही जिज्ञासा छन् ?’ भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीले नेपालका युवा तथा सिनियर क्रिकेटरका बीच कीर्तिपुर मैदानमा कुरा सुरु गरे । तत्कालै यु–१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान पृथु बास्काटाले सोधे, ‘हामी आइसिसी यु–१९ विश्वकप खेल्दै छौँ, केही टिप्स ?’

धोनीले दिएको जवाफ उद्धृत गर्दै अर्का खेलाडी फजलुर रहमानले भने, ‘नेपालले एकैपटक धेरै अगाडि सोच्नुहँुदैन । विश्वकप जित्ने सपना अहिले नदेख्नुस् । सम्भव हुने मात्र सोच्ने हो । तपार्इंहरू पहिला अफगानिस्तान र नामिबियाजस्ता देशभन्दा माथि उठ्नुपर्छ ।’
विश्व क्रिकेटको पावर हाउस भारतका सफल कप्तान धोनी पहिलोचोटि नेपाल आएका छन् । टेलिभिजनमा धोनीको ‘हेलिकोप्टर सट’ हेर्दै आएका नेपाली खेलाडी उनलाई आफूहरूबीच पाउँदा औधी रमाए । त्रिवि मैदानमा उनलाई प्रश्न सोध्न खेलाडीहरू जति उत्सुक थिए, उनको अटोग्राफ लिन समर्थकहरूको उत्तिकै हानाथाप चल्यो ।
त्रिभुवन विमानस्थलबाट शनिबार बिहान साढे ९ बजे चेक सट र नीलो जिन्स पाइन्टमा मुस्काउँदै निस्केका धोनी साढे ११ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका थिए । एसियाली क्रिकेट काउन्सिल (एसिसी) यु–१९ एसिया कपको तयारी गरिरहेको नेपाली टोलीका सदस्यसहित सिनियर खेलाडीसँग धोनीले कुराकानी गरेका हुन् । अभ्यास गरिरहेका खेलाडीलाई क्रिजमै गएर उनले सुझाव दिए । मैदानको बीचमा करिब १५ मिनेट उनले खेलाडीसँग बिताएका थिए । यस क्रममा उनलाई पृथुका अतिरिक्त पूर्वकप्तान विनोद दास तथा सिनियर खेलाडी शरद भेस्वाकरले पनि जिज्ञासा राखेका थिए ।
धोनीको सम्मानमा उनी बसेकै होटल याक एन्ड यतीमा राखिएको अन्तिम कार्यक्रम थियो– एन इभनिङ विथ महेन्द्र सिंह धोनी (इन काठमाडौं) । ‘आफूसित नभएका कुरामा दुखेसो गर्नुभन्दा जे उपलब्ध छ, त्यसैमा रमाएर सफलता खोज्नुपर्छ,’ विश्वविजेता टिमका कप्तानले नेपाली क्रिकेट खेलाडीलाई इंगित गर्दै सुझाव दिए, ‘नभएको कुरा खोजेर निराश बन्नुहुन्न । तर, क्रिकेट संघले पूर्वाधार निर्माण र खेलाडीका लागि राम्रो गर्ने अधिकतम प्रयास गर्नुपर्छ ।’
शनिबार साँझ भारतीय राजदूतावास, क्यान र बिपी कोइराला नेपाल–भारत प्रतिष्ठानको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा धोनीले क्रिकेट विकासका लागि नेपाललाई लगानी बढाउन तथा नेपाली क्रिकेट खेलाडीलाई सफलताका लागि धैर्य गर्न र लगाव नछाड्न सुझाव दिए । नतिजाको आस नगरी निरन्तर खेलिराख्न उनको आग्रह थियो ।
‘भारतीय राष्ट्रिय टिमको प्रतिनिधित्व गर्छु भनेर मैले कहिल्यै पनि सोचेको थिइनँ,’ धोनीले भने, ‘मैले नतिजाबारे कहिल्यै सोचिनँ र निरन्तर खेलि मात्र रहेँ । यस क्रममा राष्ट्रिय टिममा कतिवेला स्थान बनाएँ, पत्तै भएन ।’ उनले सफल हुनका लागि ‘प्यासन’ र ‘फोकस’ जरुरी हुनेमा जोड दिए ।
सोही कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासले आफूहरूमा क्षमता भए पनि राज्यले लगानी गर्न नसकेको सुनाएका थिए । ‘भारतमा जसरी हामीलाई राज्यले लगानी गर्न सकेको छैन । हामीलाई दर्शकको सहयोग छ तर आर्थिक पक्ष कमजोर छ । आवश्यक पूर्वाधार पनि छैन,’ उनले भने ।
धोनीले खेलाडीलाई आत्मविश्वास प्रदान गर्न नेपाली क्रिकेट प्रेमी र व्यवस्थापकलाई आग्रह गरे । ‘क्रिकेटमा विकास गरिरहेको नेपालजस्ता मुलुकका खेलाडीलाई आत्मविश्वासको जरुरत हुन्छ । त्यसैले खेलाडीलाई आत्मविश्वास प्रदान गर्नुस्,’ उनले सुझाए, ‘खेलाडी बढे भने त्यो खेल पपुलर हुन्छ । पपुलर भएपछि नयाँ–नयाँ प्रतिभावान खेलाडी जन्मन्छन् ।’
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आयोजना गर्न सक्ने पनि उनले औँल्याए । ‘हामीलाई बेलावखत तटस्थ मैदान (न्युट्रल भेन्यु) को खाँचो हुने गरेको छ,’ उनले भने, ‘त्यसैले नेपालले पूर्वाधार निर्माणमा जोड दिएर आइसिसीलाई अनुरोध गर्‍यो भने यहाँ अन्तर्राष्ट्रिय शृंखला आयोजनाका सम्भावना छन् ।’
उनले पूर्वाधार निर्माणका लागि क्यानले विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीसँग कुराकानी गर्न सक्ने पनि बताए । ‘म धेरै दर्शकअगाडि खेल्न रुचाउँछु,’ घुमाउरो पारामा रंगशाला निर्माण हुनुपर्नेमा उनको जोड थियो ।
उक्त कार्यक्रममा नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष टंक आङबुहाङले पाकिस्तान र अफगानिस्तानले क्रिकेट सहकार्य गरेजसरी भारत र नेपालले पनि गर्नुपर्ने धारणा राखेका थिए ।
पूर्वकप्तान दासले धोनीसँगको भेट जीवनकै स्मरणीय क्षणमध्येको एक भएको प्रतिक्रिया दिएका छन् । ‘धोनीजस्ता महान् खेलाडीसँग भेट होला भन्ने लागेको थिएन । १० मिनेटको गफगाफ सदैव सम्झनामा रहनेछ,’ उनले खुसी व्यक्त गरे । यता यु–१९ राष्ट्रिय टोलीका उपकप्तान प्रदीप ऐरीले सौरभ गांगुली र राहुल द्रबिडलाई यसअघि भेटेकाले धोनीसँग पनि भेट हुन सक्ने कल्पना गरेको र त्यो पूरा भएको बताए ।
अटोग्राफ लिनेको ओइरो
कीर्तिपुर मैदानमा धोनीसँग अटोग्राफ लिनेको ओइरो लागेको थियो । खेलाडीसँग कुराकानी गरेपछि उनी मैदानवरिपरि घुम्दै प्यारापिटमा रहेका दर्शकलाई अटोग्राफ दिन व्यस्त भए । प्रचण्ड गर्मीका बीच धोनीलाई हेर्न कीर्तिपुर मैदानमा दर्शक उल्लेख्य संख्यामा उपस्थित थिए । प्यारापिट तल टेन्ट राखेर उनलाई बस्ने व्यवस्था मिलाइएको थियो जहाँ अटोग्राफ लिन ºयानहरूको ठेलमठेल भयो । त्यहाँ उपस्थित क्यानका पदाधिकारी, तिनका आफन्त तथा खेलाडी क्रिकेट बल, डायरीदेखि भुइँमा भेटिएका जस्तासुकै कागजमा समेत अटोग्राफ लिइरहेका देखिन्थे । धोनीलाई बोल्नेसमेत फुर्सद भएन । प्रचण्ड गर्मीमा पनि उनी थाकेनन् । हातै नबिसाई अटोग्राफ दिइरहँदा उनी मज्जा मानिरहेका थिए । उनलाई बुकी र उपहार दिनेको संख्या पनि बाक्लो थियो ।
धोनीले थोरै समय लिएर नेपाल आएकोमा खिन्न लागेको बताए । ‘जति समयका लागि म आएँ यो एकदमै अपर्याप्त भयो,’ अन्तरक्रियामा उनले फेरि आउन सक्ने सम्भावना व्यक्त गरेका थिए । आइतबार बिहान पशुपतिनाथको दर्शन गरी उनी स्वदेश फर्कनेछन् ।
धोनी गुडविल एम्बेसडर
भारतीय क्रिकेट टिमका कप्तान धोनीलाई नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटका लागि ‘गुडविल एम्बेसडर’ घोषणा गरेको छ । पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले धोनीलाई ‘गुडविल एम्बेसडर’ को प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराई आउने कार्यक्रम भए पनि उनको साटो बोगटी उपस्थित भएका थिए । धोनी नेपाल आउने टेस्ट मान्यताप्राप्त राष्ट्रका बहालवाला पहिलो कप्तान हुन् ।
मख्ख थिइन् साक्षी
शनिबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएदेखि नै हँसिला देखिएका थिए धोनी । प्राय: ‘कुल’ देखिने उनी कीर्तिपुरस्थित मैदानमा खेलाडीसँग भेट्ने क्रममा फुर्तिला लागे । धोनीसँगै आएकी श्रीमती साक्षी त्रिभुवन विमानस्थल र कीर्तिपुर मैदानमा नदेखिए पनि याक एन्ड यती होटलमा आयोजित अन्तरक्रिया कार्यक्रममा धोनीसँगै थिइन् । सुरुमा मञ्चको दुई छेउमा बसेको यो दम्पती अन्तरक्रिया सेसनमा भने सँगै रहेको थियो । उनी बेलाबेला पतिलाई हेर्दै मुस्काइरहेकी देखिन्थिन् ।

प्रतिक्रिया