मान्छेको मन काँचको टुक्राजस्तै

‘इच्छा मृत्यु’को अर्थ हो– मान्छेले जुनबेला चाहन्छ, त्यहिबेला उसको मृत्यु होस् । यदि उसले नचाहेमा मृत्यु आउँदै नआओस् । मृत्यु आफूसामु नआउनुको अर्थ हो– पूर्णसिद्धाश्रम प्राप्ति । क्रियायोगको पूर्णताद्वारा नै सिद्धाश्रममा प्रवेश पाउन सकिन्छ । ध्यानको प्रारम्भिक चरण धारणा हो । धारणाको तात्पर्य गुरुलाई आफ्नो आज्ञाचक्रमा स्थापित गर्नु हो । धारणाको माध्यमद्वारा नै ध्यानको अवस्थामा अवतरण गर्न सकिन्छ । जैनधर्ममा ‘विपश्यना’ साधना छ । यसको माध्यमबाट पनि ध्यानमा आफूलाई लगाउन सकिन्छ । परन्तु यो निकै लामो प्रक्रिया हो । आउनुहोस्, अब विपश्यनाका बारेमा छलफल गरौँ ।
विपश्यना
एउटा मुख हेर्ने सिसा छ । सिसा सफा छ भने मान्छेको अनुहार प्रस्ट देखिन्छ, धुलो जमेको छ भने अनुहार हेर्न सकिँदैन । सिसा धमिलो हुँदासम्म ऐनालाई रुमालले पुछिरहनुपर्छ । यस्तै प्रकारले मनको दर्पण सफा गर्ने क्रियालाई नै विपश्यना भनिन्छ ।
हाम्रो मन एउटा काँचजस्तै हो, जसमा हाम्रो नास्तिक स्वरूप प्रतिविम्बित हुन्छ । मन–दर्पणमाथि कैयौँपटक धुलो जम्छ । झुठ, कपट, असत्य, व्यभिचार, खराब आदत, खराब दृष्टि–यी सबले मनको दर्पणलाई मैलो बनाइदिन्छ । विपश्यना साधनको अर्थ हो– रोज साँझ बसेर त्यसलाई पुछिदिने, हेर्ने र महसुस गर्ने कि आज दिनभर मैले केके गल्ती गरेँ भन्दै आफ्नो गल्तीको चिन्तन गर्ने । यस्तो चिन्तन गर्नुको मतलब हो सिसा पुछ्नु । यसो गर्नाले हाम्रा गल्ती कम हुँदै जान्छन् । गल्ती हुनेबित्तिकै हृदयले भन्छ– यो गल्ती हो, मैले यस्तो गर्नुहुँदैन । यस्तो आदत बस्यो भने सिसामाथि धुलो जम्दैन । यसरी नित्य सिसालाई सफा गर्ने क्रियालाई विपश्यना भनिन्छ ।
विपश्यना कठिन र लामो प्रक्रिया हो । यसमा दस वर्ष पनि लाग्न सक्छ किनभने हामी रोज पाप गर्छौं ।
विपश्यनाको सही तरिका के हो भने धारणाका साथ नै ध्यान प्रक्रियामा जानु । ध्यानका लागि तपाईं गुरुकहाँ जानु आवश्यक छैन, उनको पयर दबाउनु जरुरी छैन । किन्तु यदि उनको कुनै मिसन छ भने त्यसमा सहयोग गर्नु नै गुरु–सेवा हो । साधना स्नानपश्चात् गर्न सकिन्छ, ओछ्यानमा बसीबसी पनि गर्न सकिन्छ ।
गुरु तपाईंको आज्ञाचक्रमा छन् भने तपाईंलाई लाग्न सक्छ– आफूले भनेको कुरा गुरुले सुन्छन्, बुझ्छन् । यो सब धारणाको आधार हो । त्यसलाई पूर्णता दिनका लागि ‘समर्पण’ क्रिया आवश्यक छ । यसलाई स्नान गरेर या विनास्नान पनि गर्न सकिन्छ ।
यो सब भनिरहनुको तात्पर्य हो– यदि तपाईंले चाहेमा तपाईं भोलिदेखि नै ध्यान प्रक्रियामा जान सक्नुहुन्छ । सेवापछि समर्पण, धारणा र गुञ्जरण । गुञ्जरणपश्चात् ध्यानको स्थितिमा पुग्न सकिन्छ । गुरु शंकराचार्य भन्छन्– गुञ्जरण क्रियाको माध्यमबाट ध्यान लाग्छ । गुञ्जरणको मतलब हो शरीरलाई संगीतयुक्त बनाइदिनु, चार्ज गर्नु, बिजुलीको प्रवाह पैदा गरिदिनु । जब शरीरमा बिजुलीको प्रवाह पैदा हुन्छ अनि मन र मस्तिष्क पूर्ण सक्रिय हुँदै एकै विन्दुमा केन्द्रित हुन्छ त्यो केन्द्रविन्दु हो । केबल तपाईंको गुरुत्व, जसलाई हामी आज्ञाचक्र भन्ने गर्दछौँ । ध्यान लाग्नु भनेको जीवनको उच्च स्थिति हो । सँगै ढोल बजोस् तर तपाईंलाई पत्तै नहोस्, यस्तो अवस्थामा पुग्ने क्रियालाई ध्यान भनिन्छ । आफू स्वयंमा लीन हुने क्रिया नै ध्यान हो । चौबीस मिनेटको ध्यानको मतलब हो, पूरा एक वर्षको आयु वृद्धि । किनभने मृत्युबाट अमृत्युतिर जानका लागि यही प्राक्टिकल क्रिया हो । ध्यानका दुई अवस्था छन् – अलिप्त र गुञ्जरण ।
अलिप्त
बाहिरी वातावरणबाट कटेर बस्नु । ध्यानको सबभन्दा उपयुक्त समय प्रात: पाँचदेखि ६ बजेको समय मानिएको छ । त्यसैले हाम्रो धर्मशास्त्रले धर्म, अर्थ, काम र मोक्षलाई पूरा चौबीस घन्टामा विभाजन गरेको छ । विल्कुल शुद्ध–सात्विक वातावरणमा प्रात: घरको छतमा बस्ने, पहेँलो धोती फेर्ने, उत्तरतिर फर्केर निर्लिप्त बस्ने । निर्लिप्तको मतलब हो त्यसबेला कसैसँग ‘कनेक्ट’ नहोस् ।
गुञ्जरण
गुञ्जरण क्रियाको मतलब हो आफ्नो शरीरभित्र कण–कणमा गुञ्जरण प्रारम्भ गर्ने/गुञ्जरणबाट विद्युत्–प्रवाह पैदा हुन्छ, तपस्याको प्रभाव पैदा हुन्छ । सोक्हंको गुञ्जरणबाट यस्तो सम्भव हुन्छ । सोक्हंको ध्वनि न केवल उच्चारणद्वारा अपितु उदात्त शंखको माध्यमबाट नै प्राप्त हुनसक्छ । उपनिषद्मा भनिएको छ, ६ पटक शंखको गुञ्जरण गर्नुपर्छ । कति समयसम्म गर्ने ? जति बेलासम्म आफ्नो श्वासमा नियन्त्रण होस् । त्यसपछि शंख आफ्नो सामु राख्ने र आन्तरिक गुञ्जरण प्रारम्भ गर्ने ।
भित्र गुञ्जरण प्रारम्भ हुन्छ सोक्हंको माध्यमबाट । यो आन्तरिक गुञ्जरणमा ओठ खोल्नु हुँदैन । आन्तरिक रूपमा मनन गर्नुपर्छ । यो गुञ्जरणले मानिसको रोग निर्मूल गर्दै पूर्ण समाधि अवस्थामा लैजाने काम गर्दछ ।
अनुवाद : शिव ढकाल
(‘निखिलमन्त्र विज्ञान’ पत्रिकाबाट)

प्रतिक्रिया