द्वन्द्वका उत्तरप्रभावीय चित्र

प्रकृति वर्णन, नारी सौन्दर्यका चित्रणजस्ता सरल भावका शास्त्रीय कविता लेखनको परम्परामा जब राजनीतिक प्रभावको भूमिका प्रबल रह्यो, तब कविता सौन्दर्य र संरचनामा पनि परिवर्तन भयो । नेपाली कवितामा आधुनिकताको प्रवेश र त्यसको विस्तारमा कहीँ न कहीँ जनता र शासकबीचको द्वन्द्वको प्रभाव थियो, जहाँ स्वतन्त्रता र नियन्त्रणको द्विचर विरोधको घम्साघासी थियो । पचासको दशकयता नेपाली राजनीतिमा हतियारको शक्तिले आºनो खुट्टा घुमाएपछि नेपाली जनतामाझ पीडा र आँसुका खोलाहरू बगे । यस्तै पीडादायी वातावरणको प्रत्यक्ष साक्षी बनेका नारायण श्रेष्ठको कविताकृति हो– साक्षी (२०६७) ।
नेपालीहरूको जीवनस्तर विषम छ । किसानहरू सधैँ पसिनाको बाढी बगाउँछन्, तर भकारी रित्तो हुन्छ । साहुहरू माटो छुन घिनाउँछन्, तर तिनका खेतमा सुनजस्तै धान पहेँलिन्छन् । आखिर किन यस्तो भइरहेछ ? काम गरेर पनि भोकै मर्नुपर्ने अवस्थाको अन्त्य गर्न नेताहरू किन अक्षम छन् ? आर्थिक वितरण प्रणालीमा सन्तुलन कायम गर्न सके पसिना फुलेको देख्न सक्थ्यौँ सायद । कवि श्रेष्ठीय कविताको चासो र चिन्ता पनि यतैतिर देखिन्छ ।
२०५२ सालयता नेपाली राजनीति प्रत्यक्ष : द्वन्द्वको जाँतोमा पिल्सियो । संसद्वादी दल र माओवादीबीचको द्वन्द्व, दरबार र माओवादीको द्वन्द्व अनि राजा वीरेन्द्रको वंशनाश र ज्ञानेन्द्रको महत्त्वाकांक्षापछि संसद्वादी दल र दरबारबीचको द्वन्द्व आदिले कति नेपाली जनताहरू पनि शक्तिकेन्द्रका आडमा लागे भने कति निर्दाेष र निरपेक्ष जनता अनाहकमा चेपुवामा परे । बन्दुकको कथा सुनाउँदै ‘जिन्दगी भुमरी हो’ मा कवि श्रेष्ठ लेख्छन् –
‘बन्दुकको समाधिमा
मान्छेको बलि चढाएको खबर घुमिरहेछ
चिहानहरू उत्खनन् हुनेछन्
र त्यसमाथि
एउटा ताजमहल निर्माण गरिनेछ’
द्वन्द्वपछि पर्ने अभिघातजन्य पीडाको कथा हालेर अब एक सतक यसै बित्न सक्छ । किनकि अभिघात मानसिक र शारीरिक दुवै हुन सक्छन् । ती प्रभावहरू आºना वंशजहरूमा पनि देखिन सक्छन् । बन्दुक, रगत, आँसु, अपांगता, एकल जीवन, विसंगतिबोधजस्ता पक्षहरू नेपाली साहित्यमा अब निकै लामो समयसम्म आइनै रहन्छन् । जनता र देशको भविष्य लगभग ‘भगवान् भरोसा’ मा झुन्डिरहेको छ । देशको स्वार्थपूर्तिका लागि राष्ट्रियतालाई जुवामा राखेका छन् नेताहरूले । यसरी देश दुखिरहेका बेला एक सचेत नागरिक, कवि कसरी फूलको कविता लेख्न सक्छन् ? देश कतै समर्पणको एउटा अँध्यारो उपहारमा बिलाएर त जाँदैन † भन्ने शंका कवि श्रेष्ठमा छ । राजनीतिक शक्तिकेन्द्रको खेलले नेपाली जनजीवनबाट खोसिएका स्वतन्त्रता र मानवअधिकारजस्ता कुराबारे आजका कविहरूको ध्यानाकर्षण हुनु नितान्त सकरात्मक पक्ष हो । ‘साक्षी’का कविताले द्वन्द्वकालीन नेपालको वास्तविक चित्र कोरेका छन् ।
साक्षीमा अनावश्यक शब्दहरूको थुप्रो छैनन् तर प्रयुक्त सबै शब्दहरूले कविता बुन्न सहयोग गरेका छैनन् । पुस्तकमा राखिएका अनुप बरालको चित्रले कवितालाई बुझ्न र थप सौन्दर्य प्रदान गर्न बल दिएका छन्, जसले बात्सायनको चित्रकारिताको झल्को दिन्छन् । केही पुनर्लेखन र परिमार्जनतिर ध्यान दिने हो भने आगामी दिनमा नारायण श्रेष्ठको कविताका पाठक बढ्ने कुरामा कुनै शंका छैन ।

प्रतिक्रिया