निर्मलाको एल्बम

आँगनको लघु–आयतन बिर्सनुअघि
आफ्नै हातले रोपेका फूलको सौन्दर्यबाट तृप्त हुनुअघि
खोपामा सुरक्षित राखिएको सिन्दूरको डब्बालाई अन्तिम स्पर्श गर्नुअघि
गाउँको बाटो,
फर्फराइरहेको रिबन
र, पातलिँदै गएको टाढाको इन्द्रेनीलाई
अघाउँजी हेर्नुअघि,
कन्तुरको एउटा उपेक्षित कुनामा
छाडेर गएकी थिइन् उनले आफ्नो एल्बम

एल्बममा
सबभन्दा सफा र उज्यालो थियो–
जीवनको तस्बिर ।

आफ्ना जति पनि व्यथाहरू एलबममै सजाउँथिन्
आफ्ना जति पनि खुसीहरू एल्बममै टाँगेर राख्थिन्
एकाध लय
इच्छाका मुलायम तरेलीहरू
र, आँसु बन्नुअघिका पीडादायी क्षण
उनेर राख्थिन् एलबममा
एल्बम, उनको जीवनको विशाल संग्रहालय थियो
थिए एकदमै
सपनाहरू सिउरिने बैँसालु सिउँदो ।

एल्बमको रङ
रातो थियो वा पहेँलो ?
नीलो थियो वा बैजनी ?
निख्खर कालो थियो वा छ्यासमिसे ?
–अहँ, कसैलाई जानकारी थिएन ।

रित्तो मझेरीमा पोखिएको सन्नाटा पन्छाउनुअघि
मेलापातबाट थाकेर फर्किएका शरीर पिँढीमा बिसाउनुअघि
हाँस्नुअघि
मौन बस्नुअघि,
कन्तुरको एउटा उपेक्षित कुनामा
छाडेर गएकी थिइन् उनले आफ्नो एल्बम ।

एल्बममा
सबभन्दा सुरक्षित थियो–
सपनाको तस्बिर ।

त्यो एल्बममा जंगली वनस्पतिहरूका स्वप्न टल्किएको थियो
त्यो एलबममा निरुपाय खोलाहरूका सुसाहट
र,
उप्किँदै गएको गाउँको गोरेटोको कथा उनिएको थियो
चन्द्रमाको विलुप्त शीतलता पोखिएको थियो
साँच्चै, के थिएन र त्यो एल्बममा ?

आखिर किन छाडिन् उनले त्यो एलबम ?
किन मोह टुट्यो उनलाई एल्बमका फोटाहरूदेखि ?

सूर्यास्तको गाढा रङ प्रदर्शन हुनुअघि
निषिद्ध बस्तीका वृत्तमा असंख्य स्वप्नहरू स्खलित हुनुअघि
क्षण/प्रतिक्षण दु:खको अनावरण हुनुअघि
खुसी मौलाउनुअघि,
उब्जिरहेको छ मभित्र एउटा प्रश्न,
–साँच्चै सताउला उनलाई कुनै दिन कन्तुरको एउटा उपेक्षित कुनामा रहेको त्यो एल्बमले ?
र,
ग्लानीको भेषभुषा पहिरेर आउलिन् उनी
सम्हाल्न आफ्नो सानो र प्रिय कन्तुर ?
र, व्यग्र हुँदै हेर्न कन्तुरभित्रको जीवन्त एल्बम ?

प्रतिक्रिया