खुलेआम भारतीय मल तस्करी


वीरगन्ज, ३२  जेठ । बारामा प्रहरी प्रशासनकै मिलेमतोमा भारतीय रासायनिक मलको तस्करी भएको छ ।
तस्करहरूले संगठितरूपमा विभिन्न नाकामार्फत भारतबाट दैनिक १० ट्रकभन्दा बढी डिएपी र युरिया मल अवैध रूपमा नेपाल भित्र्याइरहेको पाइएको छ । कोल्हबी, सिम्रौनगढ, कचोर्वा, कबहीगोठ, मटिअर्वा, वसतपुर नाकाबाट मलको तस्करी भइरहेको हो ।
मल तस्करीमा हेटौंडाका राजकुमार श्रेष्ठ, कलैयाका गोल्डेन भनिने प्रदीप साह र वीरगन्जका राजकुमार गुप्ता र रोहित यादवको समूह सक्रिय रहेको छ । भारतीय बजार आदापुर, घोडासहन, छौडादानोबाट तस्करहरूले भरिया प्रयोग गरेर साइकलमार्फत मल भित्र्याउने गरेका छन् । मंगलबार रातिमात्रै तीनवटा नाकाबाट पाँच ट्रक रासायनिक मल भित्रिएको थियो । समूहले भारतबाट ल्याइएको मल ट्रकमार्फत हेटौंडा, नारायणगढ, बनेपा, धुलिखेल, काठमाडांै पठाउने गरिएको छ ।
भारतीय बजारबाट बारासम्म मल ल्याउँदा तस्कर समूहले प्रहरीलाई प्रतिसाइकल ढुवानीबाफत एक सय ५० देखि दुई सय रुपियाँ दिने गरेका छन् । एकपटकमा एक भरियाले साइकलमा चार बोरा मल नेपाल भित्र्याउने गरेका छन् । बाराका ग्रामीण क्षेत्रमा भित्र्याइएको मल ट्रकमा लोड गरेर यादव र साहले मकवानपुरको सीमासम्म पठाउने गरेको पाइएको छ । मकवानपुरबाट श्रेष्ठले मल हेटौंडा, नारायणगढ, काभ्रे, पुर्‍याउने गरेका छन् ।
तस्करले भारतमा प्रतिबोरा आठ सय रुपियाँमा खरिद गरिएको युरिया १५ देखि १७ सय रुपियाँमा र एक हजार तीन सय रुपियाँमा खरिद गरिएको डिएपी मल दुई हजार छ सयदेखि तीन हजार तीन सय रुपियाँसम्म बिक्री गर्ने गरिएको छ ।
तस्करले प्रहरी, प्रशासन र वीरगन्ज भन्सार कार्यालय प्रमुखलाई समेत मासिक रकम बुझाउने गरेको पाइएको छ । मल तस्करीबापत समूहले प्रहरी चौकीमा १० देखि १५ हजार, मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडालाई दुई लाख, बाराको पिलुवास्थित सशस्त्र प्रहरी बल भद्रकाली गणलाई दुई लाख, वीरगन्ज भन्सार कार्यालयलाई दुई लाख रकम दिने गरेको पाइएको छ । यस्तै, बारा प्रहरी, सशस्त्र प्रहरी, सिडिओलाई पनि एक लाख रुपियाँ मासिक रूपमा तस्करहरूले बुझाउने गरेका छन् ।
बजारमा मलको अभाव भएपछि मकवानपुर उद्योग वाणिज्य संघले औपचारिक निर्णय नै गरेर भारतबाट मल ल्याउने काममा अवरोध नगरिदिन मध्यमाञ्चलका क्षेत्रीय प्रशासक तिलकराम शर्मा र मकवानपुरका सिडिओ वसन्तराज भट्टराईलाई लिखितरूपमै पत्राचार गरेको थियो । संघको लिखित आग्रहपछि क्षेत्रीय प्रशासक शर्माले बाराका सिडिओ, एसपी र सशस्त्रलाई सोहीअनुरूपको पत्राचार गरेका थिए । तर, क्षेत्रीय प्रशासक शर्माले आफूलाई
कुनै अनुरोध नआएको जिकिर गरे ।
संघका एक अधिकारीले सोमबार सौर्यसँग भने, ‘हामीले तस्करीका लागि नभई किसानले राहत पाऊन् भनेर दुई ट्रक मलका लागि आग्रह गरेका हौं ।’ सशस्त्र प्रहरीका डिआइजी सुशील श्रेष्ठले क्षेत्रीय प्रशासक र सिडिओले नै निर्देशन दिएपछि आफूहरूले मलको तस्करी नियन्त्रणमा कडाइ नगरेको बताए । ‘सुरुमा त हामीले नियन्त्रण गर्न खोजेका हौँ तर क्षेत्रीय प्रशासक र सिडिओले मल ल्याउन दिनू भनेकाले अहिले आँखा चिम्लिएका हौँ,’ डिआइजी श्रेष्ठले भने, ‘रोक्ने आदेश आयो भने हामी तयार छौँ ।’
मल तस्करीमा संलग्न राजकुमार श्रेष्ठले मलको तस्करी गरिरहेको स्वीकार गरेका छन् । उनले आफूले दैनिक पाँच ट्रक मल भारतबाट ल्याई नेपालका सहरमा पुर्‍याएर बिक्री गर्ने गरेको बताए । ‘तस्करी होइन, किसानको राहतका लागि भारतबाट मल ल्याएर बेचेका हौँ,’ उनले भने, ‘मल तस्करीका लागि क्षेत्रीय प्रशासक, डिआइजी, सिडिओ, एसपीदेखि प्रहरी चौकीका इन्चार्जसम्मलाई घुस दिनुपरेको छ ।’

प्रतिक्रिया