कामदारले लिएको ऋण सरकारले उठाउने


काठमाडौं, ३२  जेठ । सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई दिएको सहुलियत दरको ऋण असुल गर्ने भएको छ । विदेश जानेलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने सरकारी योजनाअनुरूप दिएको रकम फिर्ता नभएपछि सरकारले असुल गर्न आवश्यक गृहकार्य सुरु गरेको हो ।
सो योजना अहिले खारेज भए पनि ऋण फिर्ता नभएकाले श्रम तथा रोजगार मन्त्रालयले असुल गर्न प्रक्रिया सुरु गरेको छ । यसका लागि मन्त्रालयले उपसचिव खिमानन्द भुसालको संयोजकत्वमा समिति गठन गरेको छ ।
लामो समय बितिसक्दा पनि ऋण चुक्ता नभएपछि नवगठित मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । महालेखापरीक्षक कार्यालयले सहुलियत ऋण कार्यक्रममा ८ करोड रुपियाँको बेरुजु देखाएपछि मन्त्रालयले आवश्यक गृहकार्य अघि बढाएको एक अधिकारीले बताए । उनका अनुसार श्रम तथा रोजगार मन्त्रालयले ऋण उठाउन ऋण लिने कामदारको संख्या र बैंकमा रहेको रकमबारे समितिले जानकारी लिनेछ । कामदारसँग ऋण उठाउन सक्ने/नसक्ने स्थिति र मिनाहाबारे पनि समितिले अध्ययन गरी आवश्यक सुझाव संकलन गर्ने छ ।
सरकारले ६ वर्षअघि एक आयोजनामार्फत कामदारलाई सहुलियत दरमा सो ऋण दिएको थियो । अहिले यो आयोजना विघटन भइसकेको मन्त्रालयले जनाएको छ । विघटनपछि यसलाई श्रम मन्त्रालयअन्तर्गतको एकाइका रूपमा मात्र राखिएको थियो । तर, मन्त्रालयले आयोजना विगठनपछि भने कामदारलाई ऋण दिने काम नगरेको जनाएको छ । आयोजनामार्फत सात सय २१ जनाले ऋण लिएको र तीमध्ये दुई सयले मात्र ऋण फिर्ता गरेको मन्त्रालयले जनाएको छ ।
आयोजना, कर्जा सुरक्षण निगम र बैंकको त्रिपक्षीय सम्झौतामा सहुलियत दरमा ऋण दिने कार्यक्रम सुरु भएको थियो । सम्झौतामा बैंकले ऋण प्रवाह गर्ने र ऋण उठ्न नसके निगमलाई जानकारी गराई आयोजनाको खाताबाट रकम कट्टी गर्ने उल्लेख छ ।
सहुलियत ऋण कार्यक्रमअन्तर्गत खातामा कति रकम छ र कतिले रकम फिर्ता गरेका छैनन् भन्ने अध्ययन गरेर ऋण उठाउन थालिने मन्त्रालयका अधिकारीको भनाइ छ । ऋण नतिरेका कामदारको घरजग्गा लिलाममार्फत असुलउपर गर्ने, कारबाही गर्ने वा ऋण मिनाहा गर्ने विकल्प दिन सकिने मन्त्रालयले जनाएको छ । बिदेसिने कामदारले ७० हजारदेखि एक लाख रुपियाँसम्म ऋण लिएका छन् ।
ऋण असुल गर्ने भन्दै एक वर्षअघि श्रममन्त्रालयको एक टोली मलेसियासमेत पुगेको थियो । तर, सहुलियतदरमा ऋण लिने कामदार सबै एकै कम्पनीमा नभएको तथा कतिपय गैरकानुनी ढंगबाट अर्काे कम्पनीमा गएकाले भेट्न नसकिएको टोलीले जनाएको थियो ।

प्रतिक्रिया