अर्गानिक तरकारी खेती

 

काभ्रे, ३१ जेठ । रयालेका एक कृषकले अर्गानिक ताजा तरकारीको व्यवसायिक खेती सुरु गरेका छन् ।
रयाले लामिडाँडाका उपेन्द्र तिमल्सिनाले काउली, फर्सी, भ्यान्टा, भिँडे खुर्सानी, बन्दालगायतका ताजा तरकारी उत्पादन सुरु गरेका छन् । श्रीमती र एक छोराको साथमा उपेन्द्रले तरकारी खेती सुरु गरेको बताए । ताजा तरकारीका अलावा सुन्तला, अलैंची, अदुवा, बेसारजस्ता वस्तुको उत्पादन गरी गाविसकै नमुना बनेका छन् । उपेन्द्रको प्रयोगसहितको सीपलाई गाविसले सदुपयोग गर्नुपर्ने स्थानीय रामचन्द्र सापकोटा बताउँछन् ।
साढे दुई रोपनी बारीमा वार्षिक ३० हजार भाडा तिर्ने गरी नौवटा टनेल निर्माण गरी व्यावासायिक खेती सुरु गरेका उपेन्द्रले जिल्लामै उत्कृष्ट हुने अपेक्षा गरेका छन् । रासायनिक मल र विषादी प्रयोग नगरी कम्पोस्ट मल र खरानीका माध्यमबाट सबै तरकारी उत्पादन गरिएको उनले बताए ।
अर्गानिक खेतीबाट उत्पादन भएका तीन हजार पाँच सय काउलीका बोटबाट उपेन्द्रले ३९ हजार आम्दानी गरेका छन् । ४० बोट फर्सीबाट चार हजार आम्दानी गरेका उनले एक हजार एक सय ३५ बोट सिर्जना जातको गोलभेँडा लगाएका छन् भने नयाँ प्रयोगका लागि एक सय ११ बोट सूर्य जातको गोलभेँडा लगाएका छन् ।
सोही फर्ममा तिमल्सिनाले तीन सय बोट भन्टा लगाएका छन् भने नौ हजार रुपियाँको बन्दा बिक्री गरिसकेका छन् । गोलभेँडाका लागि प्रतिबोट दुई केजी कम्पोस्ट मल प्रयोग भएको छ । गोलभेँडा र अन्य तरकारी गोड्ने बेला खरानी प्रयोग गर्ने गरेको उनी बताउँछन् ।
६० दिनमा बजारमा पुर्‍याउन सकिने सो गोलभेँडाको मूल्य सामान्य गोलभेँडाभन्दा फरक हुने पनि उनले बताए । ताजा तरकारीसँगै तिमल्सिनाले अलँैचीको विरूवा उत्पादन गर्ने गरेका छन् । एक केजी बिउ बराबर ५० हजार जति विरूवा उत्पादन हुनुपर्ने भए पनि ३० प्रतिशत मात्रै विरूवा उत्पादन हुने गरेको छ । तीन वर्षको फरकमा उत्पादन हुने विरूवा तिमल्सिनाले यो वर्ष १५ हजार बिक्रीका लागि तयार गरेका छन् । प्रतिबोट पाँच रुपियाँका दरले बिक्री हुने भए पनि मागअनुसारका विरूवा उत्पादन गर्न नसकिएको उनले बताए ।
रयाले गाविसभर अर्गानिक ताजा तरकारीको उत्पादनका लागि आफूले पहल गर्ने उनले बताए । गाविसभर १० जना जतिले व्यावसायिक तरकारी खेती सुरु गरेको स्थानीय गुणनाथ सापकोटाले बताए ।

प्रतिक्रिया